चितवन । चीन सरकारलाई उपहार दिन लागिएका दुई जोडी गैँडा नियन्त्रणको काम सकिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको सुखिभार क्षेत्रबाट दुई पोथी गैँडा तथा गैँडा देवीतालबाट एक भाले नियन्त्रणमा लिइएको छ ।
बाढीले बगाएपछि उद्धार गरी सौराहामा राखिएको एउटा भाले गैँडा पनि उपहार दिने भएपछि तीन गैँडा नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए ।
उनका अनुसार बिहीबार सुखीभारबाट करीब दुई वर्षको पोथी गैँडा नियन्त्रणमा लिइएसँगै चीन पठाउने गैँडा नियन्त्रण कार्य सम्पन्न भएको छ । ती गैँडालाई सौराहामा बनाइएको पिट बुमामा राखिएको छ । बाढीले बगाएपछि उद्धार गरिएको गैँडा प्रकृति संरक्षण कोषमा रहेको उनले बताए ।
पठाउन लागिएका गैँडा दुई वर्ष हाराहारीका रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए ।
बच्चा गैंडा आमासँगै रहने भएकाले नियन्त्रण गर्न निकै कठिन भएको प्रमुख ढकालले बताए । गैंडाको बच्चा तीन चार वर्षसम्म आमासँगै रहन्छ । सानो हुने हुँदा घाँसले ढाक्ने र वरिपरि मानिस र हात्ती पुगेलगत्तै भाग्ने हुँदा लिङ्ग पहिचान गर्न कठिन भएकाले पनि नियन्त्रणमा लिन लामो समय लागेको ढकालले जानकारी दिए ।
वैशाख ७ गतेदेखि निकुञ्जको प्राविधिक टोलीले गैंडाको वासस्थान र उपयुक्त ठाउँको खोजी गर्दै आएको थियो । शुक्रबारदेखि नियन्त्रणमा लिने प्रयास गरिएको हो । गैंडा नियन्त्रण र आनीबानीलगायत कुरा बुझ्न चिनियाँ प्रतिनिधि सँगै छन् । केही दिन पिट बुमामा राखेर गैँडाले खाना खान सहज भएपछि खुल्ला बुमामा छाडिनेछ । करीब तीन महिना बुमामा राखेपछि गैंडा चीन पठाइनेछ ।
विसं २०७३ असारमा प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेका थिए । नेपाली विज्ञ टोली गैंडा चीन लगेपछि राख्ने ठाउँको अध्ययनसमेत गरेर फर्केको थियो । यसअघि पनि नेपालले विभिन्न देशलाई गैंडा उपहार दिँदै आएको छ । रासस