ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीजस्ता नेतालाई बिर्सिए नेपालको कम्युनिष्ट आन्दोलनको औचित्य नरहने बताए । नेकपा (एमाले) का संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १९ औँ स्मृति दिवसमा आज मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताए ।
सो कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताले स्वर्गीय अधिकारीको योगदानको स्मरण गर्दै उनको शालिकमा माल्यार्पण गरेका थिए ।
कार्यक्रममा प्रधानमन्त्रीले अधिकारीका नाममा निजी र सामुदायिक दुवैखालका संस्था खोलेर उनीप्रति सम्मान गरिएको बताए । नेकपा (एमाले)ले अधिकारीलाई कहिल्यै नभुलेको उनले बताए । उनले भने, ‘उनका सपना साकार पार्नकै लागि तत्पर भएर लागिएको छ ।’ वामपन्थी पार्टी एकताबद्ध गराउने अधिकारीको सपना भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । एमाले र माओवादी केन्द्रबीचमा एकताको घोषणा छिट्टै हुने उनको भनाइ छ ।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अधिकारीलाई पदमा भन्दा पनि कर्ममा विश्वास गर्ने नेताका रुपमा स्मरण गरे । उनले भने, ‘उनले मलाई असल मान्छेका रुपमा सम्झिदिए पुग्छ भन्ने भनाइबाट नै उनका बारेमा बुझ्न सकिन्छ ।’ अहिले कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन उनीबाट प्रेरणा लिनुपर्नेमा उनको जोड छ ।
अर्का पूर्व प्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलन अहिले नयाँ उचाईमा पुगेको बताए । जनवादी क्रान्तिको उपलब्धि १० वर्ष लगाएर संस्थागत गरिएका बताउँदै उनले भने,‘लोकतान्त्रिक र प्रगतिशील संविधानले पनि समाजवादलाई अघि बढ्न मार्गनिर्देशन गरेको छ ।’
एमाले उपाध्यक्ष वामदेव गौतमले अधिकारी प्रधानमन्त्री हुँदा कार्यकर्ता भेट्नभन्दा पनि काममा समय बिताएको स्मरण गरे । प्रतिष्ठानका सचिवसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलले आफू अधिकारीको राजनीतिक सल्लाहकार हुँदा आफ्नो सुमधुर सम्बन्ध रहेको स्मरण गरे । रासस