इलाममा ३६ हजारभन्दा बढीको स्वास्थ्य बीमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

इलाममा ३६ हजारभन्दा बढीको स्वास्थ्य बीमा


२२ चैत्र २०७४, बिहिबार


इलाम । इलाममा ३६ हजारभन्दा बढी जिल्लावासीले स्वास्थ्य बीमा गराएका छन् ।

स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि हालसम्म जिल्लाका ३६ हजार पाँच जनाले सो बीमा गराएका हुन् । जिल्ला स्वास्थ्य बीमा बोर्डका अनुसार बिमितमध्ये हालसम्म ३० हजार ४०५ जनाले विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन् ।

तेइस हजार ३५५ जनाले इलामका विभिन्न स्वास्थ्य संस्था र अस्पतालबाट सेवा लिएका छन् भने झापाका अस्पतालबाट पाँच हजार ५० र अन्य जिल्लाका अस्पतालबाट दुई हजारले सेवा लिएको बोर्डका कर्मचारी खेमराज अधिकारीले जानकारी दिए ।

उनले बिमितको संख्या बढेसँगै सेवा समेत थप गरिएको जानकारी दिए । सेवा लिने बिरामीले एक हजार ११८ प्रकारका औषधि निःशुल्क पाउने व्यवस्था गरिएको उनले वताए । विगतमा ५३० प्रकारका मात्र औषधि निःशुल्क वितरण हुँदै आएको थियो । पाँच सय ८८ प्रकारका औषधि थप गरी अहिले एक हजार ११८ प्रकारका निःशुल्क औषधि पाउने व्यवस्था भएको जनाइएको छ ।

यस्तै बिमितलाई अस्पतालबाट आकस्मिक, अन्तरङ्ग, शल्यक्रिया, बहिरङ्ग, प्रयोगशाला, एमआरआइ सेवा र ४० वर्ष कटेकालाई निःशुल्क स्वास्थ्य जोखिम परीक्षण सेवासमेत दिइँदै आइएको छ ।

स्वास्थ्य सेवालाई सहज बनाउन इलामका चार प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क एक्स्रे उपकरण उपलब्ध गराइएको छ । जिल्लाका ग्रामीण क्षेत्र मानिएका फिक्कल, पशुपतिनगर, मंगलबारे र प्याङका प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क उपकरण प्रदान गरिएको उक्त बोर्डले जनाएको छ ।

पाँच जनासम्म भएका प्रतिपरिवारले रु दुई हजार ५०० जम्मा गरे एक वर्षभित्रमा रु ५० हजारसम्मको निःशुल्क उपचार गराउन पाउने छन् । सोभन्दा माथि भएका परिवारले प्रतिव्यक्ति ४२५ जम्मा गरे रु १० हजारका दरले उपचार थपिँदै लैजाने व्यवस्था गरिएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस