नेपालीकरणमा कठिनाई छैन « प्रशासन
Logo १२ आश्विन २०७८, मंगलबार
   

नेपालीकरणमा कठिनाई छैन


गोकर्णप्रसाद उपाध्याय

२२ चैत्र २०७४, बिहिबार


यतिबेला यातायात क्षेत्र दुइवटा विषयले चर्चामा छ । एउटा यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यका लागि सरकारी कदम र अर्को विदेशी लाइसेन्सको नेपालीकरण । नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयका रुपमा रहेको यातायात कार्यालयमा सबैभन्दा धेरै गुनासो हुनु स्वभाविकै हो तर स साना कुरामा पनि जनताले दुःख पाइरहने हो भने त्यसबाट सरकारप्रतिको धारणा नै नकरात्मक हुन गइ सेवा प्रवाहमा थप जटिलता आउनेतर्फ सोच्न जरुरी भइसकेको छ । सेवा प्रवाहलाई चुस्तदुरुस्त र सहज बनाउने सरकारी प्रयास अनुरुप सुधारका केही प्रयास अवश्य भइरहेका छन् । यसै सन्दर्भमा धेरै नेपालीको चाँसो र समस्याका रुपमा रहेको विदेशी लाइसेन्सको नेपालीकरणमा केन्द्रित रही यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङका प्रमुख गोकर्णप्रसाद उपाध्यायसँग प्रशासन डटकममा एस राज उपाध्यायले गरेको कुराकानी ।

यातायात क्षेत्रमा लाइसेन्स नेपालीकरणको चर्चा छ, खासमा यो नेपालीकरण भनेको के हो ?
हो, आजभोलि विदेशी लाइसेन्सको नेपालीकरणको चर्चा छ ‘मार्केट’मा । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५२ अनुसार कसैले विदेशी राष्ट्रबाट प्राप्त सवारी चालक अनुमतिपत्रमा लेखिएको सवारी चलाउन दरखास्त दिएमा अधिकार प्राप्त अधिकारीले त्यस्तो व्यक्तिबाट आवश्यक दस्तुर लिई चालक अनुमतिपत्र (लाइसेन्स) दिन सक्ने व्यवस्था छ । यसरी विदेशी लाइसेन्सलाई नेपाली बनाउने निश्चित प्रक्रिया छ त्यसैलाई नेपालीकरण भनिएको हो ।

क–कसको लाइसेन्स नेपालीकरण हुन्छ ?
विदेशमा बसेका नेपाली वा गैरआवासीय नेपाली, त्यसैगरी कुनै पेशा वा व्यवसाय अँगालेर नेपालमा लामो समयदेखि बसेका विदेशी नागरिकहरु र कुटनीतिक कर्मचारीको लाइसेन्सलाई नेपालीकरण गर्ने व्यवस्था र अभ्यास रहेको छ ।

उसो भए कस्ता लाइसेन्सको नेपालीकरण हुँदैन ?
पहिलो कुरा, नेपालमा कुनै वर्गको लाइसेन्स भएको व्यक्तिको बाँकी सबै कागजात पुगे पनि नेपालीकरण हुँदैन । किनकी उनलाई वर्ग थपको सुविधा दिइएको छ । कन्सुलर र दूतावासको सिफारिसबिना नेपालीकरण हुँदैन । जन्म मिति वा नागरिकता र लाइसेन्समा फरक फरक नाम भएको पाइएमा त्यसलाई नमिलाएसम्म नेपालीकरण गर्न मिल्दैन । विदेशको लाइसेन्सको अवधि (म्याद) सकिएपछि पनि नेपालीकरण गर्न आउने गरेको देखियो, त्यो मिल्दैन । कतिपय लाइसेन्सको हकमा हामीले अनलाईन भेरिफिकेसन गर्दा नभेटिए वा अरु नै व्यक्तिको नाममा भेटिएको खण्डमा बाँकी सबै कागजात भएर पनि नेपालीकरण गर्दैनौं ।

अन्य देशको आधिकारीक सवारी चालक अनुमतित्र बोकेका नेपाली नागरिकले कुनैपनि परीक्षा नदिइकनै लाइसेन्स पाउने ऐनमै व्यवस्था छ नि होइन र ?
हो । नेपालीकरणको क्रममा व्यक्तिले लाइसेन्स लिन कुनै परीक्षा दिनु अनिवार्य छैन । तर अधिकारप्राप्त अधिकारीले चाहेमा उसको विवेक प्रयोग गरेर लिन सक्छ । मैले नेपालीकरणको क्रममा केही विदेशी लाइसेन्सहरु नक्कली भएको आशंका गरेर उहाँहरुलाई फलानो दिन ट्रायल परीक्षा दिन आउनु भनेर बोलाउँदा उहाँहरु नआएको पनि पाएँ । केहीलाई ट्रायल दिन लगाएर पनि नेपालीकरण गरिएको छ । तर, औलामा गन्न मिल्नेवाहेक बाँकीलाई कुनै परीक्षा नदिइकनै यो सेवा दिइरहेका छौं ।

आजभोलि लाइसेन्स नेपालीकरण गर्ने क्रम बढेको हो ?
हो, लाखौ नेपाली रोजगार, अध्ययन, व्यापार वा अन्य प्रयोजनका लागि विदेशमा छन् । उनीहरुले ती मुलुकमा सजिलै लाइसेन्स पाएर सवारी साधन चलाइरहेका हुन्छन् । र, नेपाल आएपछि यहाँको झन्झटिलो र निकै कष्टकर प्रक्रिया पुरा गरेर लाइसेन्स बनाउन चाहदैनन् । जसको लागि सजिलो उपाय नेपालीकरण भएको छ । मैले देखे र बुझेको के भने नेपालीकरण गर्न आउने अधिकांश भारतीय सेनामा कार्यरत व्यक्तिहरु र खाडी मुलुकमा गएर हेभी गाडीहरु चलाइरहेका कामदार छन् ।

पहिले धेरैलाई जानकारी पनि थिएन नेपालीकरणको बारेमा, हाल मिडियामा बारम्बार आइरहने भएकोले र सरकारले नै लाइसेन्स प्रक्रियामा सहजीकरणको लागि काठमाडौंमा थप तीन ठाउँमा लाइसेन्स कार्यालयहरु खोलेपछि सेवाग्राहीलाई सहज पनि भएको छ र नेपालीकरणको क्रम बढेको पनि छ ।

यसरी आउनेहरु किन नेपाली लाइसेन्स बनाउन चाहन्छन् ? नेपालीकरण प्रक्रिया सजिलो भएर वा पछि यो व्यवस्था बन्द हुन सक्छ आजै बनाइराखौं भनेर ?
लाइसेन्स नेपालीकरण गर्न आउने हरेक व्यक्तिसँग समय मिलेसम्म म कुराकानी गर्छु । विदेशमा लाइसेन्सको उपयोगिता, सहजताका बारेमा कुरा गर्छु । अब लाइसेन्सले के गर्ने भनेर पनि सोध्छु । यही अध्ययनका आधारमा भन्नुपर्दा नेपाली मूलका भारतीय सेनाहरु नेपालमा छुट्टीमा आउँदा सवारी चलाउन र खाडी मुलुकका कामदारहरु लाइसेन्स पाएपछि आफै गाडी किनेर चलाउने वा नेपालमै बसेर कतै ड्राइभिङ गर्ने सोच बनाएको पाएको छु । यसबाट के भन्न सकिन्छ भने लाइसेन्स प्रक्रिया थप सजिलो, झन्झटमुक्त भएर सहजै लाइसेन्स पाइने व्यवस्था गर्ने हो भने हजारौं युवाहरु विदेशिनबाट रोकिनेछन् ।

लाइसेन्स नेपालीकरणमा धेरै नेपालीले दुःख पाइरहेको गुनासो पनि आइरहेको छ नि ?
नेपालीकरणको क्रम बढेको छ । राजधानीका सबै ४ ओटै लाइसेन्स कार्यालयले नेपालीकरणको काम गरेका छन् । सेवाग्राहीले दुःख पाए भन्ने कुरामा अलिकति सहमत छु, सतप्रतिशत होईन । सेवाग्राहीले कहिलेकाही दुःख पाउँछन् किनकी जुनसुकै काम गर्न सरकारले बनाएको कार्यविधिलाई अवलम्बन गर्नैपर्छ । उदाहरणको लागि भारतीय सेनामा कार्यरत धेरै व्यक्तिको जन्म मिति नागरिकतामा एउटा र लाइसेन्समा एउटा पाइन्छ । अब दुबैलाई एउटै हो भनेर प्रमाणित गर्ने अधिकार त यातायात कार्यालयलाई हुँदैन । त्यसको लागि स्थानीय तह वा जिल्ला प्रशासनको सिफारिस चाहिन्छ । राजधानीबाट सम्बन्धित स्थानीय तह वा जिल्लामा पुग्न र फर्किन उहाँहरु दुःख पाउनुहुन्छ । यस्ता कुरामा पनि यातायातका कर्मचारीले दुःख दिएर भनेर गाली गर्छन् मान्छेहरु ।

अर्को कुरा कुनै वर्गको नेपाली लाइसेन्स भएका व्यक्तिले विदेशी लाइसेन्सलाई नेपालीकरण गर्न नपाउने प्रावधान छ । उसले पुरानै लाइसेन्समा वर्ग थपमात्र गर्न सक्छ । तर यो कुरा विदेशी लाइसेन्सबाहकलाई जानकारी नहुन सक्छ ।

तेस्रो कुरा, यातायात र लाइसेन्सका सेवाग्राहीलाई भ्रम के छ भने विचौलियालाई नसमाति काम हुँदैन । सेवाग्राही सिधै कार्यालयमा नआउँदा पनि उहाँहरुले दुःख पाउनुहुन्छ । आफूसँग पर्याप्त कागजात छ कि छैन ? पहिले बुझेर कागजात नमिलाई आउँदा दुःख पाएको अनुभूति गरेको छु मैले । त्यसैले हरेक सेवाग्राहीलाई आग्रह गर्छु विचौलियालाई ‘बाई बाई’ र कर्मचारीलाई ‘दाई भाई’ भन्नुहोस् ।

नेपालीकरणको क्रममा कर्मचारीप्रति बढ्दै गएको असन्तुष्टिलाई समयमै सम्बोधन गर्नु पर्दैन ?
यो बुझाई गलत हो कि जस्तो लाग्छ । कर्मचारीले कहिल्यै पनि सेवाग्राहीलाई दुःख दिन चाहँदैन । विगतको भन्दा यातायात क्षेत्र कैयौं गुणा पारदर्शी र व्यवस्थित हुँदैछ । अझैपनि अत्याधिक कार्यबोझका कारण समस्याहरु विद्यमान त होलान् र तिनलाई समयमै सम्बोधन गरेर समयानुकूल हामी चल्ने प्रयासमै छौं । यसमा सेवाग्राहीको पनि सहयोग र माया चाहिन्छ । सेवाग्राहीले सधैभरी यातायात कार्यालय र त्यहाँका कर्मचारीलाई गलत नजरले हेरेर पूर्वाग्राही भएर आइदिनु भएन । कार्यालयले गरेका राम्रा कामको प्रशंसा गर्ने र त्यसलाई प्रोत्साहन दिने गर्नुप¥यो ।

तपाईलाई यातायात कार्यालयबाट भइरहेको सेवा प्रवाहका बारेमा केही भन्न मन छ ?
त्यस्तो भन्नैपर्ने त छैन । तर, यातायात अत्यधिक भीड हुने ठाउँ हो । राजधानीका यातायात कार्यालयले अहिले पनि दैनिक कम्तीमा ७ सयदेखि एक हजार जनालाई सेवा दिनुपर्छ । त्यो भीडमा सबैलाई सेवा तुरुन्तै चाहिन्छ । कहिलेकाहीँ त तपाई मान्नुहोस् कर्मचारी ट्वाइलेट जाँदासमेत कराउन थाल्छन् सेवाग्राही । कहिले सर्भर गएर थोरै ढिला भए वा लोडसेडिङ हुँदा जेनेरेटर चलाउँदासम्म पनि धैर्यता राख्दैनन् सेवाग्राही । अनि भीड अराजक बन्छ र गाइगुँइ चल्छ कर्मचारीले घुस मागे, कर्मचारी फटाहा भन्ने । सायद हामीले हिजोको विरासत नै यस्तै बोकेर ल्याएकोले पनि होला ।

यहाँनिर मैले कर्मचारीको कमजोरीलाई सेवाग्राहीतर्फ तेस्र्याउन खोजेको अर्थ नलागोस् । कर्मचारीका केही कमजोरी छन् र केही सेवाग्राहीका पनि । तरपनि यी सबैमा विस्तारै सुधार आउँछ नै । अर्कोतर्फ लाइसेन्स संवेदनशील विषय पनि हो, हचुवामा जारी गरेर पनि भएन । यसका बाबजुद् पनि कार्यालयबाट सेवा प्रवाहमा चुस्तता ल्याउने प्रयास गरिरहेका छौं ।

Tags :
प्रतिक्रिया दिनुहोस