काठमाडौंमा बलात्कारका घटनामा वृद्धि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौंमा बलात्कारका घटनामा वृद्धि


२० चैत्र २०७४, मंगलबार


बलात्कार

काठमाडौं । काठमाडौंमा प्रति वर्ष बलात्कारको घटना बढ्दै गएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसरले आज यहाँ आयोजना गरेको कार्यक्रममा चालु आर्थिक वर्षको चैतसम्म ८९ बलात्कारको घटना घटेको जानकारी दिएको हो । परिसरले दिएको जानकारीअनुसार आव २०७१÷७२ मा ९२, २०७२÷७३ मा ९९ र २०७३÷७४ मा ११२ जबर्जस्ती घटना भएका छन् ।

कार्यक्रममा परिसरका प्रहरी नायब उपरीक्षक मोहन थापाले पछिल्लो समय महिला तथा बालबालिकाविरुद्ध हुने अपराध उल्लेख्यरुपमा वृद्धि भएको बताए । उनले जबर्जस्ती करणीका घटनामा प्रहरी कर्मचारीसमेत गम्भीर हुन नसकेको उल्लेख गरे ।

जनसंख्या वृद्धि, इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग, बेरोजगारी, उच्च जीवनशैलीको चाहना, कानून कार्यान्वयनमा फितलोपन र सांस्कृतिक विचलनजस्ता कारणले जबर्जस्ती करणीका घटना बढिरहेको प्रहरीले जनाएको छ । साथै, लागुऔषध दुव्यर्सनीका घटनामा वृद्धि भएको प्रहरीको भनाइ छ ।

परिसरका प्रमुख विश्वराज पोखरेलले महिला तथा बालिकामाथि जबर्जस्ती करणीका घटनाको बढ्दो वृद्धि दरलाई न्यूनीकरण गर्न आम नागरिकको सहभागितामा कार्ययोजना बनाएर अगाडि बढ्ने बताए । ‘जबर्जस्ती करणीको घटनालाई न्यूनीकरण गर्न प्रहरीको मात्रै प्रयास पर्याप्त हुँदैन, यसका लागि आम नागरिकको सहयोग अनिवार्य हुन्छ’, उनले भने ।

जबर्जस्ती करणी सम्बन्धमा गाउँगाउँ, टोलटोल र विद्यालयमा अभियान सञ्चालन गर्नसके घटनामा कमी आउने उनको भनाइ थियो । परिसरले जबर्जस्ती करणीका सम्बन्धमा थप अध्ययन र अनुसन्धानका लागि अल्पकालीन योजना निर्माण गर्ने जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस