इस्लामावादबाट मलाला बेलायत फिर्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

इस्लामावादबाट मलाला बेलायत फिर्ता


१९ चैत्र २०७४, सोमबार


इस्लामावाद । नोबेल शान्ति पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युशुफजाई सोमबार इस्लामावादबाट बेलायत फर्किएकी छन् ।

चार दिनको पाकिस्तान भ्रमणपछि उनी सोमबारै इस्लामावादबाट लन्डन फिर्ता भएकी हुन् । उनका परिवार पनि उनीसँगै बेलायत फर्किएका छन् ।

पाकिस्तानी तालिबानहरुले ६ वर्षअघि उनलाई गोली हानी हत्या प्रयास गरेका थिए । बालिका शिक्षाको पक्षमा वकालत गरेकोमा तालिबानले गोली हानेका थिए । सो घटनापछि उनी पहिलो पटक स्वदेश फर्किएकी हुन् ।

स्वात उपत्यकास्थित मिङ्गोरामा गोली लागेपछि उनको बेलायतमा उपचार भएको थियो । उपचारपछि उनले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन शुरु गरेकी हुन् ।

हाल पाकिस्तानमा रहँदा उनले पाकिस्तानी प्रधानमन्त्री र उच्च अधिकारीहरुलाई भेट गरेकी थिइन् ।

बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयमा अध्ययनरत उनले सो अध्ययनपछि पाकिस्तानमै फर्किएर बस्ने र महिला र बालबालिकाका क्षेत्रमा कामगर्ने इच्छा रहेको बताइन् ।

उनको नाममा एक परोपकारी संस्था ‘मलाला फन्ड’ स्थापना गरिएको छ । यसैमार्फत अहिले पनि पाकिस्तानमा बालिका शिक्षाबारे काम गरिएको छ ।

उनले पाकिस्तानमा रहँदा एक टेलिभिजनसँग भनेकी थिइन् ।– म पाकिस्तान फर्किने एउटा सपना थियो आज म फर्किन पाएँ ।

उनले आँशु झार्दै भनिन्– ‘अहिले त मेरो लागि ठूलै सुरक्षाको प्रबन्ध गरिएको होलाजस्तो लाग्छ तर म मेरो देशमा बिना कुनै असुरक्षा, शान्तिपूर्ण रुपमा फर्किन पाउँ भन्ने सपना देखिरहेकी छु । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस