काठमाडौं । महानगरीय प्रहरी बृत्त दरबारमार्ग काठमाडौंको नवनिर्मित भवनको प्रहरी महानिरीक्षक प्रकाश अर्यालले बिहीबार एक समारोहबीच उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक अर्यालले नयाँ पूर्वाधार निर्माण गर्ने नेपाल सरकारको योजना अनुरुप संगठनको दिगो विकास गर्दै जाने क्रममा भवन निर्माण गरिएको उल्लेख गरे । उनले आमनागरिकको आधारभूत आवश्यकता रहेको शान्ति सुरक्षा र आर्थिक उन्नति लगायत मुलुकलाई अग्रगामी दिशामा अगाडि बढाउने सिलसिलामा गरिने प्रहरी कार्यमा भौतिक पूर्वाधार महत्वपूर्ण रहेको चर्चा गरे । भवन निर्माण साध्य नभई साधन मात्र भएकोले प्रहरी कर्मचारीको आचरण र नागरिकप्रतिको सेवाभावले प्रहरीको कार्यमा प्रभावकारिता थप्ने उनले बताए ।
प्रहरी कार्यलाई थप प्रभावकारी बनाउन कतिपय स्थानमा नागरिकको लगानीमा समेत भवन निर्माण हुँदै आएको उल्लेख गर्दै अर्यालले कानूनद्वारा निर्देशित कार्य सम्पादनमा कुनै छुट नहुने भएकाले जनतालाई केन्द्रबिन्दुमा राखेर कानून सम्मत सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले मन्तव्य व्यक्त गरेका थिए ।