५०५ गाडी प्रदूषण जाँचमा फेल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

५०५ गाडी प्रदूषण जाँचमा फेल


१९ पुस २०७४, बुधबार


काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित झन्डै ५० प्रतिशत सवारी साधन प्रदूषणको कारक रहेको पाइएको छ । सरकारी टोलीले गरेको अनुगमनमा यस्तो तथ्य फेला परेको हो ।

प्रधानमन्त्री कार्यालय, वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवस्था विभागको संयुक्त टोलीले उपत्यकामा सञ्चालित सवारी साधनको प्रदूषण जाँच गरेको थियो । दुई सय ९४ गाडीको प्रदूषण जाँच गर्दा १ सय ३४ वटा मापदण्डभित्र परेनन् । टोलीले पुस १३, १४, १५ र १८ गते भद्रकाली, कमलपोखरी, दरबारमार्ग, नक्साललगायत स्थानमा सवारी साधनको छड्के प्रदूषण जाँच गरेको थियो ।

‘हामीले सवारी साधन प्रदूषण जाँच अभियान थालेका छौं,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी तथा प्रवक्ता उमेश रञ्जितकारले भने, ‘प्रदूषण जाँचक्रममा झन्डै आधा सवारी साधन फेल भए ।’ उनका अनुसार महाशाखाले संयुक्त टोली बन्नुअघि असोज ३१ गतेबाटै सवारी साधन प्रदूषण जाँच अभियान थालेको थियो । महाशाखाको टोलीले पनि प्रदूषण जाँच गरिएका सवारी साधनमध्ये आधाजति फेल भएको पाएको थियो । ‘उपत्यकामा सञ्चालित सवारी साधनको प्रदूषण मापन गरिएका मध्ये आधाको हाराहारीमा मापदण्ड पूरा गर्न फेल भएको पाएका छौं,’ उनले भने, ‘यो नतिजाले उपत्यकामा चल्ने झन्डै आधा गाडी प्रदूषण मापदण्डबाहिर रहेको देखाउँछ ।’

संयुक्त टोली बनेपछि मेसिनसहित सडकमै गएर सवारी साधनको प्रदूषण जाँच गर्न थालिएको हो । समयमै इन्जिन मर्मत नगरेका कारणले अधिकांश सवारी साधन प्रदूषणको कारक बन्दै गएको पाइएको महाशाखाको निष्कर्ष छ । अहिले उपत्यकामा प्रदूषणको मात्र बिहानको समयमा १ सय ५० पिएमसम्म पुग्ने गरेको छ । जुन सरकारी मापदण्डभन्दा झन्डै चारगुना बढी हो । सरकारले उपत्यकाको हावामा प्रदूषणको मात्रा ४० पिएम हुनुपर्ने मापदण्ड तोकेको छ ।

उपत्यकामा प्रदूषणको कारक तत्व सवारी साधन पनि बनेका छन् । एक अध्ययनअनुसार उपत्यकाको प्रदूषणमा ३८ प्रतिशत हिस्सा सवारी साधनबाट निस्कने धुवाँको रहेको छ । प्रदूषण मात्रा अत्यधिक भएपछि प्रधानमन्त्री कार्यालयले विशेष चासो दिएर सवारी साधनको प्रदूषण जाँच गर्न लगाएको हो । तर, प्रदूषण जाँच गर्न पर्याप्त जनशक्ति र मेसिन नहुँदा समस्या भएको महाशाखाले जनाएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस