सांसदलाई नै ऋण तिर्न सार्वजनिक सूचना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सांसदलाई नै ऋण तिर्न सार्वजनिक सूचना


१२ पुस २०७४, बुधबार


रुकुम । रुकुम पश्चिमबाट निर्वाचित एक सांसदलाई कृषि विकास बैंकले ऋण चुक्ताको लागि मंगलबार सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ ।

जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य रातो कामीलाई जिल्ला कृषि विकास बैंक, रुकुमले ऋण भुक्तानीका लागि सार्वजनिक सूचना आह्वान गर्दै आग्रह गरेको हो ।

कामीले साविकको आठबीस डाँडागाउँमा रहेको मौराखारा कृषक सहकारी संस्था लिमिटेडमार्फत साबुन उद्योग सञ्चालन गर्ने भन्दै चार लाख ऋण लिएको बताइएको छ । संस्थाको तत्कालीन अध्यक्ष हुँदा २०६८ सालमा युवा स्वरोजगार कार्यक्रमअन्तर्गत लिएको रकमको अहिलेसम्म ब्याज र साँवा कति पनि नतिरेको बैंकको भनाइ छ ।

उक्त संस्थाले मासिकरुपमा नौ प्रतिशत ब्याज तिर्ने शर्तमा युवा स्वरोजगारअन्तर्गतको रकम लिएको थियो । रातो कामी प्रदेशसभा सदस्यसमेत भइसक्दा उनले नेतृत्व गरेको संस्थाले लिएको साँवा र ब्याज तिर्न नसकेको बैंकका सूचना अधिकारी जोखबहादुर खड्काले जानकारी दिए । बैंकले बेलाबेलामा पत्र तथा जानकारी गराएपनि उहाँ साँवा र ब्याज तिर्ने नआएको उनको भनाइ छ ।

‘हामीले रातो कामीलाई कार्यालयमा बोलाएर कुरा गरेका थियौँ’, उनले भने, परियोजना सफल नभएकाले केही ढिला भएको र उक्त ऋण तिर्ने भन्ने बचन दिनुभएको थियो, तर चुक्ता नगर्दा सार्वजनिक सूचनामार्फत जानकारी गराएका छौँ । कार्यालयले पत्रपत्रिका तथा स्थानीय रेडियोमा समेत साँवा ब्याज भुक्तानी गर्न सूचना प्रशारण तथा प्रकाशन गरेको थियो ।

मौराखारा कृषक सहकारी संस्था लिमिटेडले हाल कृषि विकास बैंकमा चारलाख साँवा र तीन लाख ८० हजार ३१३ ब्याज गरेर जम्मा सात लाख आठ हजार ३१३ तिर्न बाँकी छ ।

ऋण लिएदेखि उक्त सहकारी संस्था लिमिटेडले कुनै किस्तामा ब्याज तथा साँवा बैंकमा दिएको छैन । ऋण लिएदेखि सो संस्था समेत सञ्चालनमा नरहेको बताइएको छ । जनप्रतिनिधिले नै रकम नतिर्दा बैंकले सूचना जारी गर्नुपरेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस