भक्तपुर । निर्वाचन आयोगले बजेट भाषण गरेर दोस्रो चरणको चुनाव गर्न सकिने भनेर दिएको अभिव्यक्तिप्रति नेकपा एमालेले आपत्ति जनाउँदै आयोगको ध्यानाकर्षण गराउने भएको छ ।
एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा मंगलवार बसेको स्थायी कमिटी बैठकले आयोगको ध्यानाकर्षण गराउँदै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसहितको टोलीले यसबारेमा निर्वाचन आयोगमा पुगेर लिखित असहमति दर्ता गर्ने निर्णय गरेको छ ।
एमाले सचिव योगेश भट्टराईले एक महिनाको अन्तरमा दुई चरणमा निर्वाचन गराउन खोज्ने र त्यसैको चर्चा गरेर बहुसङ्ख्यक प्रदेशमा निर्वाचन गराउने योजना षड्यन्त्रमूलक रहेको एमालेको ठम्याइ रहेको बताए । बजेटपछि चुनाव गर्ने कुरा एमालेले कुनै हालतमा स्वीकार नगर्ने निर्णय भएको उनले जानकारी दिए ।
दुई चरणमा चुनाव गर्ने भएपनि बजेट भाषणअघि नै गर्नुपर्ने पक्षमा एमाले रहेको बताउँदै उनले सरकारको षड्यन्त्रमा निर्वाचन आयोगको सहमतिप्रति एमालेको आपत्ति भएको बताए ।
जेठ १५ गते चुनावी बजेट पेस गरेर त्यही बजेटको वकालत गर्दै भोट माग्न जाने सत्तापक्षको षड्यन्त्र भएको उनको भनाइ थियो ।
उनका अनुसार बजेट भाषणअघि दुवै चरणका चुनाव हुनुपर्ने र स्थानीय तहको सङ्ख्या तलमाथि गर्न नहुने एमालेका माग हुन् ।
यसैबीच, एमाले स्थायी कमिटी बैठकले सरकारले संसद्मा पेस गरेको संविधान संशोधन विधेयक पारित हुन नदिने निर्णयसमेत गरेको छ । एमालेको बुधवार पुनः बस्ने बैठकमा उम्मेदवार चयन र घोषणापत्रबारेमा छलफल हुने बताइएको छ । रासस