बूढीगण्डकीको मुआब्जा वितरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बूढीगण्डकीको मुआब्जा वितरण


प्रशासन संवाददाता

२ बैशाख २०७४, शनिबार


धादिङ । बूढीगण्डकी जलविद्युत् आयोजनामा घरजग्गा डुब्ने धादिङका जग्गाधनीलाई मुआब्जा वितरण सुरु गरिएको छ ।
जिल्लाका खरी, मैदी र सलाङका २३ जग्गाधनीलाई मुआब्जा हस्तान्तरण गरिएको छ । तिनको ३८ कित्ता जग्गाको तीन करोड सात लाख ५९ हजार सात सय मुआब्जा रकम राष्ट्रिय वाणिज्य बैंक धादिङबेंसी शाखामा बिहीबार जम्मा गरिएको प्रजिअ उमेशकुमार ढकालले बताए ।
जग्गाधनीले आयोजना विकास समितिका नाममा जग्गा पास गरिदिएपछि उनीहरुलाई रावाबैंकमार्फत रकम भुक्तानी गरिएको ढकालको भनाइ छ । मुआब्जा पाउन निवेदन दिएका एक सय ८० प्रभावितको बुढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालयले जग्गाको अन्तिम रुजु गरिरहेको आयोजनाले जनाएको छ । मुआब्जा रकम माग गर्दै आठ सयभन्दा बढीले निवेदन दिएका छन् । जग्गाको अवस्था मालपोत कार्यालयमा बुझेर प्रभावितलाई तोकिएको दरमा मुआब्जा उपलब्ध हुने गराइने बताइएको छ छ ।
मुआब्जा निर्धारण समितिले धादिङपट्टिको डुबान क्षेत्रका जग्गाको मूल्य प्रतिरोपनी न्यूनतम पाँच लाख २५ हजारदेखि अधिकतम आठ लाख ३५ हजार तोकेको छ । मुआब्जा वितरणका लागि धादिङमा पहिलो चरणमा दुई अर्ब ५० करोड आएको छ । खरी, मैदी र सलाङमा रकम वितरण भएसँगै डुबानमा पर्ने अन्य जग्गाको रुजु गर्दै मुआब्जा वितरणलाई निरन्तरता दिइने प्रजिअ ढकालले बताए ।

एक हजार दुई सय मेगावाटको बूढीगण्डकी आयोजनाबाट धादिङ र गोरखाका गरी तीन हजार पाँच सय ६० घर डुबानमा पर्नेछन् । बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिका अनुसार दुई जिल्लाका ५८ हजार रोपनी जग्गा ओगटिनेछ । धादिङको खहरेबजार र गोरखाको आरुघाट बजारको भने मुआब्जा निर्धारण अझै हुन सकेको छैन । रासस

प्रतिक्रिया दिनुहोस