तीनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस टिप्न प्रतिबन्ध « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तीनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस टिप्न प्रतिबन्ध


१३ चैत्र २०७३, आइतबार


तेह्रथुम । गुराँसको राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा गुराँसका फूल टिप्न प्रतिबन्ध लगाइएको छ ।

तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल टिएमजे क्षेत्रमा फुलेका गुराँसको सौन्दर्य हेर्न आउनेले जथाभावी फूल टिपेर लैजाने गर्दा गुराँस मासिने र यस क्षेत्रको सौन्दर्य गुम्ने खतरा बढेको भन्दै प्रशासनले फूल टिप्न निषेध गरेको हो ।

यी जिल्लाका करिब २५ गाविस क्षेत्रफलमा फैलिएको टिएमजे क्षेत्रमा यतिबेला २८ प्रजातिका गुराँस फुलेर यहाँका वन ढकमक्क भएका छन् । फूल टिप्दा हाँगा भाँचिने, गुराँसको बोट सुक्ने र यसको सौन्दर्य समेत गुम्ने भएकाले फूल टिप्न रोक लगाइएको तेह्रथुमका प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताए ।

गुराँस हेर्न मात्र पाइने तर टिप्न नपाइने नियम लागू गरेपछि यस क्षेत्रको गुराँस वन संरक्षणमा सहयोग पुग्ने प्रजिअ तामाङको भनाइ छ । जिल्ला वन कार्यालयले पनि गुराँस नटिप्न र नकाट्न भन्दै चेतनामूलक जानकारी गराइरहेको छ । जिल्लाका विभिन्न सञ्चार माध्यममार्फत चेतनामूलक जानकारी दिइरहेको सहायक जिल्ला वन अधिकृत धर्मी यादवले बताए ।

नयाँ वर्ष सुरु भएसँगै यहाँ गुराँस हेर्न आउने पर्यटकको समेत भीड लाग्न थालेको छ । अहिले दैनिकजसो सयौँको सङ्ख्यामा बाह्य तथा हजारौँ आन्तरिक पर्यटक आउने गरेको सो क्षेत्रका प्रहरी चौकीले जनाएका छन् ।

यहाँका डाँडाकाँडा गुराँस फुलेर राताम्मे भएपछि घुम्न आउनेको सङ्ख्या बढेको हो । यस क्षेत्रको वसन्तपुर बजार हुँदै टुटेदेउराली, आरआर गार्डेन, घुर्मिसे, तीनजुरे पाथीभरा, तीनजुरे डाँडा, पाँचपोखरी, लामपोखरी, चौकी, मङ्गलबारे, गुफा, सुकेबजारलगायत क्षेत्रसम्म दैनिकजसो गुराँस हेर्न आउनेको भीड लाग्न थालेको छ ।

विगत वर्षमा चैत वैशाखमा मात्रै फुल्ने गुराँस आजभोलि फागुनदेखि नै फुल्न थाल्छ र जेठमा फुलिरहेकै हुन्छ । पछिल्लो समयमा मौसममा आइरहेको परिवर्तनका कारण गुराँस फुल्ने समयमा फेरबदल आउन थालेको स्थानीय बासिन्दा बताउँछन् ।

जलवायु परिवर्तनका कारण गुराँस फुल्ने समय प्रभावित बनेको लालीगुराँस संरक्षण समितिका संयोजक लक्ष्मण तिवारी बताउछन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस