यसरी समुन्नत बन्नसक्छ कैलाली « प्रशासन
Logo १० आश्विन २०७८, आइतबार
   

यसरी समुन्नत बन्नसक्छ कैलाली


१३ चैत्र २०७३, आइतबार


कैलाली सुदूर पश्चिमाञ्चल विकास क्षेत्रस्थित समथर भू–भाग तथा पहाड मिश्रित जिल्ला हो । सुदूर पश्चिमको अन्न भण्डार तथा प्रमुख व्यापारिक केन्द्रबिन्दुका रुपमा रहेको कैलालीले हरेक दृष्टिकोणबाट उति नै धेरै सम्भाब्यता बोकेको छ । र, भारतसंगको खुल्ला सिमानाका कारण त्यति नै धेरै चूनौती पनि । यिनै सम्भावना र चूनौतीहरुलाई कसरी समुन्नतिमा बदल्न सकिन्छ लगाएत जिल्लाका समसामयिक बस्तुस्थितिबारे प्रशासन डट कमका विशेष प्रतिनिधि सिद्धराज उपाध्यायले कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालसंग कुराकानी गर्नुभएको छ । प्रस्तुत छ सम्बादको सम्पादित अंशः

प्रमुख जिल्ला अधिकारीको नजरमा कैलाली जिल्लाका पाँच वटा सुन्दर पक्ष के हुन् ?

एक 
कैलाली मुख्य ब्यापारिक केन्द्रको रुपमा बिकास हुदै गइरहेकोले सुदूर पश्चिमका अन्य जिल्लाहरुको लागि एउटा मार्गदर्शक हुन सक्छ । एउटा डिलिङ क्षेत्रको रुपमा काम गर्न सक्छ ।

दुइ 
सानै स्तरको भए पनि कलकारखानाहरु खुल्ने क्रम बढेको छ । झण्डै ४५ वटा भन्दा बढी बैंक र बित्तिय संस्थाहरुले बैंकिङ, बित्तिय गतिविधिहरु गरिरहेका छन् । यसले नागरिकहरुलाई बित्तिय क्षेत्रमा पहुँच बढाउदै लगेको छ ।

तीन
भारतसँगको भन्सार नाकाहरु भएको हुनाले अन्तराष्ट्रिय व्यापारलाई पनि त्यहाबाट अलि सरल र सहज किसिमले गर्न सकिने सम्भावना छ ।

चार
कृषिजन्य उत्पादनका हिसावले कैलालीलाई अन्न भण्डार नै मानिन्छ । कृषिजन्य उत्पादनलाई व्यवहारमा कार्यान्वयन गर्न सक्यौं, व्यवसायीक बनाउन सकियो, प्रारम्भिक कृषि बस्तुहरुको भन्दा पनि अलिकति प्रशोधित र कृषिजन्य बस्तुहरुको उत्पादन र बिक्रिबितरण गर्न सकियो भने त्यसबाट कृषकले अन्य लाभ लिन सक्ने र त्यसै क्षेत्रका अन्य जिल्लाहरुले पनि त्यसबाट फाइदा लिन सक्ने अवस्था रहन्छ ।

त्यसैगरी कैलाली जिल्ला र त्यसको आसपासको क्षेत्र खासगरी डडेलधुराको जोगवुडा क्षेत्र र डोटीको जोरायल, विपिनगर क्षेत्र जुन छ यो क्षेत्र देशकै राम्रो बनजंगलले ओगटेको क्षेत्र हो । बन पैदावारमा आधारिक कल कारखानाहरुको स्थापना सक्ने हो भने त्यसले सुदूर पश्चिम क्षेत्रकै आर्थिक गतिविधिहरुलाई एकदमै अगाडी बढाउन सहयोग पु¥याउछ ।

पाँच
सुदूर पश्चिम क्षेत्र पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो र त्यसको बेस हो कैलाली किनभने सुदूर पश्चिम क्षेत्रको ठुलो विमानस्थल कैलाली मै छ र त्यसलाई अझै विस्तार गर्न सकिने सम्भावना छ ।

भारतसँग नजिक पर्ने भएकोले भारतीय पर्यटक लगाएतहरुलाई आकर्षण गर्न सक्छ । त्यही क्षेत्रको अन्य जिल्लाको तुलनामा अलिकति सुविधा सम्पन्न राम्रा होटेलहरु प्नि छन् । पर्यटकिय क्षेत्रमा काम गरिरहेको केही जनशक्ति पनि छ ।

कैलाली जिल्लामा देखिएका यी सम्भावनाहरुको पहिचान तथा विकासका लागि जिम्मेवार पाँच निकाय ?
कैलाली जिल्लाका सम्भावनाहरुको पहिचान तथा विकास गर्ने सवालमा मुख्य गरी यी पाँच निकायहरुले सक्रियता देखाउन जरुरी छ ।

पहिलो
केन्द्रिय स्तरका मन्त्रालय र विभागहरु, जसले नीति निर्माण गर्ने देखि बजेट र जनशक्ति उपलब्ध गराउने कामहरु गर्छन् । अनुगमन तथा निरिक्षण गर्ने काम गर्छन् ।

दोस्रो
जिल्लामा कार्यरत विषयगत कार्यालयहरु, जसले आफ्नो विषय क्षेत्रमा काम गर्छन् ।

तेस्रो
नीजि क्षेत्र जस अन्तर्गत उद्योगी व्यवसायी र तिनका छाता संगठनहरु हुन सक्छन् तिनको पनि सकरात्मक पहल हुन आवश्यक छ ।

चौथो
सामाजिक क्षेत्र । जसले सामाजिक विकासको क्षेत्रको काम गर्छन् । समुदायमा आधारीत संस्थाहरु स्थानिय एनजिओहरु हुन सक्छन्, आइएनजिओहरु हुन सक्छन् ।

पाँचौं
पाँचौ नम्बरमा स्वयं नागरिकहरुको पनि भूमिका महत्वपूर्ण हुन्छ । यो हाम्रा लागि हो र हामीले गर्नुपर्छ भन्ने कुरा महसुस गर्न जरुरी छ ।

कैलाली जिल्लाका पाँच प्रमुख चुनौतीहरु के के छन् ?

पहिलो
अव्यवस्थित बसाई सराई र अतिक्रमणलाई नियन्त्रण गर्ने बिषय प्रमुख चूनौतिका रुपमा देखा परेको छ । जो आउँछ, एक टुक्रा जमिन किन्छ । अतिक्रमण गर्छ बस्छ । बसोवास र अतिक्रमणलाई नियन्त्रण गर्ने कुरा त्यहाँ निकै चुनौति पूर्ण छ ।

दोस्रो
बढ्दो जनघनत्वसंगै त्यस क्षेत्रको सुरक्षा व्यवस्था अर्को चूनौति हो ।

तेस्रो
प्रकोप । कैलाली जिल्ला अलि बढी प्रकोप प्रभावित क्षेत्र हो । विशेष गरेर बाढी तथा कटानको समस्याले पनि निकै हैरानी दिएको छ ।

चौथो
भूमिहिन, मुक्त कमैया, हलिया, बादी, राजी लगाएतका सिमान्तकृत जुन बर्ग छ त्यो बर्गको सहि व्यवस्थापन गर्ने बिषयलाई समाधान गर्न जरुरी छ । अर्को कुरा कृषि भूमिमा बाहिरको क्ष्ययी करण छ विभिन्न कारणरुले त्यसलाई कस्तरी रोक्ने, नियन्त्रण गर्ने भन्ने विषय पनि चुनौती कै रुपमा छ ।

पाचौं
अहिले पछिल्लो समयमा आएर विभिन्न समुदाय बीच जुन सु सम्वन्ध, सहिष्णुणता हुनुपर्ने हो त्यसमा जुन भइरहेको क्षयीकरण छ । त्यसलाई नियन्त्रण गर्ने विषय पनि चुनौतिको रुपमा छ ।

त्यसो त केही सम्भावना र चुनौती संगसंगै केही सुधारका पक्षहरु पनि होलान् सुधारका लागि पाँच टिप्स ?

पहिलो
स्थानिय स्रोत साधनको सदूपयोग गनुपर्छ ।

दोस्रो
सम्भाव्यता र तुलनात्मक लाभका क्षेत्रहरुको पहिचान गर्ने र केही क्षेत्रमा बजेट बिनियोजन गरेर कार्यान्वयन गरेर लैजान सकिन्छ ।

तेस्रो
सानातिना विकास आयोजना भन्दापनि अलि ठूला आयोजनाहरु जस्तोः जलविद्युत, सडक, उद्योग, कारखाना लगाएत ठूला पूर्वाधारहरुको निर्माण गर्दै त्यसलाई ग्रामिण क्षेत्रका समुदायसम्म विस्तार गरेर लैजान सकियो भने त्यसले पनि सुधार गर्न सक्छ ।

चौथो
कतिपय क्षेत्रहरुमा साझेदारीका कुराहरुलाई प्रवद्र्धन गरेर लैजाने । बिषेश गरेर आर्थिक गतिविधि गर्ने ठाउँमा राज्य एक्लैले सक्दैन भने नीजि क्षेत्रहरुसँग साझेदारी गरेर लैजाने हो भने त्यसले पनि सुधारका कुराहरु गर्न सक्छ ।

पाँचौं
सरकारी निकाय र त्यसका पदाधिकारीहरुले आफ्नो जिम्मेवारिलाई इमान्दारितापूर्वक निर्वाह गरिदिने, त्यो निर्वाह गर्ने सवालमा राजनीतिक दल, नागरिक समाज लगाएत अन्य संघ संस्थाहरुबाट सकरात्मक सहयोग तथा समन्वय हुनसक्यो भने त्यसले पनि सुधारका कुरामा सहयोग पु¥याउन सक्छ ।

तपाइको कैलाली बसाइलाई अविश्मरणीय बनाउन के प्रयास गर्दै हुनुहुन्छ ?
मैले दुइ वटा मोडालिटीबाट कैलालीम काम गर्ने प्रयास गरेको छु । पहिलो भनेको सकेसम्म नागरिकको घरदैलोमा नै पुगेर आफुले गर्न सक्ने सानातिना सेवाहरु उपलब्ध गराउने । त्यसको सुरुवात हामीले सहजपुर, निगालीबाट गरेर पहाडका गाउँ बिकास समितिहरुमा सिध्याएर अव तराइको गाउँविकासहरुमा जाँदैछौं । छिट्टै अब उदासिपुर, बसौटी, त्यो आसपासको क्षेत्र रतनपुर, पवेरा, पहलमानपुर क्षेत्रलाई केन्द्रित गदैछौं ।

दोस्रो कुरा जिल्लामा गइसकेपछि विभिन्न संचारमाध्यमहरुको सहयोगमा र आफै स्वतःस्फुर्त किसिमले विभिन्न बस्तिहरुमा जाने । चाहे दुर्गम होस्, चाहे सुगम होस् । ती बस्तिहरुमा सानातिना नागरिक सुनुवाइका कार्यक्रमहरु सञ्चालन गर्ने । नागरिकहरुको अपेक्षाको संकलन गर्ने । नागरिकहरुको गुनासाहरुको संकलन गर्ने । त्यहि सम्वोधन गर्न सकिने छ भने सम्वोधनको लागि पहल गर्ने । हैन, त्याहाँ सकिदैन विभिन्न बिषयगत कार्यालयको पहलमा गर्नुपर्ने छ भने त्यसलाई बिषयगत कार्यालयकोमा बिशेष गरेर उहाँहरुलाई घचघच्याउने प्रयासहरु गरिरहेको छु ।

सानो तिनो भए पनि यसले सकरात्मक सन्देश गइरहेको छ । मैले यसलाई किन सानो तिनो भन्दै छु भने त्यहाँ गयौं भने उहाँहरुका अपेक्षा हजारौं हुन्छन् । हामीले त्यो सबै पुरा गर्न सकिने अवस्था हुँदैन । तर त्यहाँ गइसकेपछि उनीहरुको केही भए पनि अपेक्षा पुरा गर्नुपर्छ भन्ने हिसावले त्यो कामहरु गरिरहेका छौं । ति दुइटा कुराको अलिकति बढी सकरात्मक सन्देश गएको छ ।

सकरात्मक सन्देश कसरी गएको त भन्दा नागरिकहरुसँगको सामिप्यता बढेको छ । नागरिकहरुले जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारी हेर्ने जुन दृष्टिकोण छ, त्यो दृष्टिकोण सकरात्मकता आएको छ । घुलमिलका कुराहरु बढीरहेका छन् । उनीहरु पनि निर्धक्कसँग डर नमानेर कार्यालयमै आएर अथवा टेलिफोनबाट पनि आफ्ना गुनासा सजिलै टिपाउन थालेका छन् । के भयो भनेर सोध्ने जुन परिपाटि शुरु भएको छ त्यसले राम्रै सन्देश दिन्छ जस्तो लाग्छ मलाई ।

तपाइका यी सकरात्मक प्रयासहरुलाई अझ बढी प्रभावकारी बनाउदै लैजान, निरन्तरता दिन या भनौं त्यसलाई पूर्णता दिन क–कसबाट कस्तो सहयोगको अपेक्षा राख्नु भएको छ ?
नागरिकको सोचमा केही विषय प्रमुख जिल्ला अधिकारी र केही विषयहरु त्यो संस्थाले पुरा गरिदियोस् भन्ने खालका भएतापनि धेरै अपेक्षाहरु जिल्लास्थित विषयगत कार्यालयहरु सँगै हुन्छन् । जस्तैः जिल्ला कृषि बिकास कार्यालयले यो गरिदिए हुन्थ्यो, सडकले यो बनाइदिए हुन्थ्यो, खानेपानीको यो पूर्वाधार पुगेको भए हुन्थ्यो, स्वास्थ्यको यो यो सुविधा विस्तार भएको भए हुन्थ्यो भन्ने जस्ता उहाँहरुको अपेक्षा अलिकति बढी हुन्छ ।

मैले बारम्वार भन्ने गरेको छु । कुनै एउटा निकाय र कुनै व्यक्तिको एकल प्रयासले सानो तिनो परिवर्तनको अनुभूति दिलाउन चाहिँ सकिन्छ तर समग्र अपेक्षाहरु पुरा गर्न सकिदैन । तर जसले जनताका समस्याहरु समाधान गर्ने प्रयास गर्छ त्यसैले ति ठूला समस्याहरुको समाधान गरिदिन्छ भन्ने खालको अपेक्षा जनतामा रहने भएकोले मैले बारम्वार स्थानिय स्तरमा पनि आग्रह गर्ने गरेको छु र अहिले पनि म के भन्छु भने सम्पूर्ण बिषयगत कार्यालयहरुले आफुलाई प्राप्त अधिकारको सिमाभित्र रहेर, आफुलाई प्राप्त स्रोत साधनको सिमाभित्र रहेर आफुले नागरिकहरुका लागि के गर्नुपर्छ भन्ने कुराको पनि बोध गरिदिनु प¥यो र के गर्न सकिन्छ त्यो कुरालाई पनि इमान्दारी पूर्वक कार्यन्वयन गरिदिने हो भने स्थानिय स्तरमै पनि हामीले धेरै समस्याहरुको समाधान गर्न सक्छौ र धेरै नागरिकहरुको अपेक्षालाई समाधान गरेर लान सक्छौं ।

त्यसको साथसाथै हामीलाई चाहीने स्रोत साधनका कुराहरु जनशक्तिका कुराहरु अरु विषयहरु हाम्रो बिभाग मन्त्रालयहरुले पनि उपलब्ध गराउनु पर्छ नै । विभाग मन्त्रालयले आफ्नो दायित्व पुरा गर्ने हो भने हामीलाई काम गर्न सजिलो हुन्छ ।

अर्को महत्वपूर्ण कुरा भनेको स्थानियस्तरमा हामीले गरेका सकरात्मक कामहरु छन् भने त्यसलाई चाहीँ सकरात्मक किसिमले मुल्याङ्कन गरेर हौसला बढाइदिने र नकरात्मक कामहरु छन् भने पनि ती नकरात्मक कामहरुलाई पहिचान गरेर सुधार्नको लागि अवसर दिने अथवा गल्ति भएको कुराहरुलाई यहाँनिर गल्ति छ भनेर मिडियाका साथीहरु, राजनीतिक दल, नागरिक समाज अथवा स्वयम् जिम्मेवार नागरिकहरुले पनि बिनापूर्वाग्रह सहयोग गर्नुभयो भने पछि त्यसबाट राम्रो काम गरिरहेकाहरुलाई काम गर्न प्रोत्साहित गर्छ र खरावकाम भइराखेको छ भने त्यसलाई रोक्नको लागि र त्यस्ता काम निरोत्साहित पार्न सकिन्छ ।

त्यसैले सबै पक्षहरुले आ–आफ्नो तर्फबाट गर्न सकिने सहयोगको लागि बिगतमा भइराखेको पनि छ अझै थप होस् भन्ने कुराको अपेक्षा पनि गर्दछु ।

र यो पनि

सुरक्षा निकायका इकाइ थप्न पहल गरिरहेका छौं

Tags :
प्रतिक्रिया दिनुहोस