नवलपरासी । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मुलुकमा सामाजिक रुपान्तरणका लागि अब एमालेको नेतृत्व अनिवार्य बनेको बताएका छन् ।
एमालेको मेची–महाकाली जागरण अभियानअन्तर्गत आइतवार नवलपरासीको भुमहीमा आयोजित सभालाई सम्बोधन गर्दै खनालले राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र सार्वभौमसत्ता जोगाउन एमालेको नेतृत्व आवश्यक रहेको जिकिर गरे । अभियानमार्फत स्वतन्त्रता, स्वाभिमान र राष्ट्रिय अखण्डताको पक्षमा सन्देश दिन खोजिएको उनको भनाइ थियो ।
नेपाली जनताको स्वाभिमानलाई शिखरमा पुर्याउन एमालेले अभियान ल्याएको बताउँदै नेता खनालले मधेसी मोर्चाले विभिन्न वाहनामा अभियानलाई निष्कृय पार्न खोजेपनि सफल भएको दाबी गरे । रासस