मिर्गौला रोग पीडित सेनलाई उपचारमा समस्या « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मिर्गौला रोग पीडित सेनलाई उपचारमा समस्या


२६ पुस २०७३, मंगलबार


रामपुर (पाल्पा) । दुुवै मिर्गौलामा खराबी देखिएपछि रामपुर नगरपालिका–५ डाब्राका रेमबहादुर सेनलाई उपचार गर्न समस्या परेको छ ।

दुई महिनादेखि मिर्गौलाको नियमित उपचार गराइरहेका सेनलाई आर्थिक अवस्थाले गर्दा उपचारमा समस्या परेको हो ।

एक वर्षअघि रोजगारीका लागि साउदी अरब पुगेका सेन उच्च रक्तचापको समस्या देखिएपछि नेपाल फर्किएका थिए । स्वास्थ्यमा समस्या आएपछि काठमाडौँको मेडिकेयर नेसनल हस्पिटलमा परीक्षण गर्दा दुवै मिर्गौलामा समस्या भएको अस्पतालले जानकारी गराएपछि सेन चिन्तित बनेका छन् ।

अस्पतालमा चारपटक परीक्षणपश्चात् मिर्गौलामा समस्या रहेको डाक्टरले बताएपछि डायलाइसिस गर्ने वा मिर्गौला प्रत्यारोपण गर्ने भन्नेमा आफू पुगेको सेनले बताए ।

मिर्गौला प्रत्यारोपणमा रु. छ लाख रकम लाग्ने भएपछि उपचारमा सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन्। सहयोग गर्न चाहने सङ्घसंस्था र व्यक्तिले राष्ट्रिय वाणिज्य बैंकको खाता नं ३५१०००१६३९१० मा रकम सङ्कलन गरी नयाँ जीवनका लागि उनले सबैसँग अनुरोध गरेका छन् ।

उपचारमा अहिलेसम्म रु. एक लाखभन्दा बढी खर्च भइसकेको र थप उपचार कसरी गर्ने हो भन्ने चिन्तामा पिरोलिनुभएको छ । सरकारले मिर्गौलाका रोगीलाई उपचार खर्च निःशुल्क गर्ने भनिए पनि वीरअस्पतालमा पुग्दा सहयोगको कोटा नभएको बताएपछि झनै चिन्तित बनेका छन् ।

सरकारको सहयोग पाउनका लागि आफू सामान्य परिवार र पहुँचवाला व्यक्ति नभएकाले समस्या परेको उनको गुनासो छ । रासस

प्रतिक्रिया दिनुहोस