बैशाख १२ गते, २०७६

मरेका गैँडाको नमूना परीक्षण गरिने

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा अस्वाभाविक रुपमा गैँडा मर्न थालेपछि मरेका गैँडाको नमूना परीक्षण गर्न विदेश पठाउने तयारी गरिएको छ । गैँडाको मृत्युको कारण खोजी गर्न नमूना परीक्षणका लागि विदेश पठाउन लागिएको हो ।

चालू आवको हालसम्म २९ गैँडा मरेका छन् । निकुञ्ज विभागले प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि अनुसन्धानका लागि समिति बनाएर काम अगाडि बढाएको हो । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार पछिल्लो एक महीनामा मरेका सात गैँडा फेला परेका थिए । वर्षात्को बेलामा कालगतिले मरेका तर हाल फेला परेका धेरै भएको उनले बताए ।

प्राकृतिक कारणले मरेकामध्ये निकुञ्जभित्रका २८ र जिल्ला वन कार्यालयअन्तर्गत एउटा रहेको छ । निकुञ्जभित्र प्राकृतिक कारणले मरेकामा भाले भाले जुधेर, ढिस्कोबाट लडेर, बच्चा पाउन नसकेर, दलदलमा फसेर र बूढो भएर कालगतिबाट, बाघले खाएर, रोगका कारण रहेका छन् । जिल्ला वनअन्तर्गतको पञ्चकन्या सामुदायिक वनमा जुधेर एउटा गैँडा मरेको छ ।

कालगतिले बाहेक निकुञ्जमा मरेका गैँडा १५ देखि २५ वर्ष उमेरका रहेको घिमिरेले बताए । गैँडाको औसत आयु ६० वर्ष हुन्छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले अस्वाभाविक ढङ्गबाट गैँडा मर्न थालेपछि रोगका कारण मरेका चारसहित अन्यको नमूना परीक्षणका लागि स्वदेश र विदेशका प्रयोगशालामा पठाउने तयारी गरिएको बताए । उनका अनुसार मरेका गैँडाको महत्वपूर्ण अङ्ग सुरक्षित राखिएको छ । ती अङ्गलाई बाहिर पठाएर मृत्युको कारण पत्ता लगाउने तयारी गरिएको छ ।

ठूलो सङ्ख्यामा गैँडा भएकाले महामारीको रुपमा रोग भित्रिन नपाओस् भन्नका लागि समयमै सतर्कता अपनाउने तयारी गरिएको हो । निकुञ्जका प्राविधिक पुरुषोत्तम पाण्डेका अनुसार मरेका र नसढेका गैँडाको मुटु, कलेजो, पित्त, मिर्गौला, मूत्रथैली, रगतलगायतका नमूना डिपफ्रिज र इथानोल अल्कोहलमा सुरक्षित राखिएको छ । मरेपछि कुहिएको अवस्थामा भेटिएका गैँडाको छाला सुरक्षित राखिएको छ ।

अघिल्लो वर्षको बाढीले गैँडाको समूहलाई तितरबितर बनाएपछि प्राकृतिक कारणले बढी गैँडा मरेको ढकालले बताए । गत वर्ष प्राकृतिक कारणले २५ गैँडा मरेका थिए । पूर्वका गैँडा पश्चिम पुगेपछि एकै क्षेत्रमा बढी गैँडा हुँदा पनि समस्या भएको हो । स्थानान्तरणका क्रममा पोथी गैँडा बढी पठाएपछि भालेको सङ्ख्या बढी हुँदा पनि जुधेर मर्ने क्रम बढेको ढकाल बताउँछन् ।

स्थापनाताका २० प्रतिशत घाँसेमैदान रहेको निकुञ्जमा हाल १० प्रतिशत मात्रै घाँसेमैदान छ । त्यसमा पनि बजेट अभावमा हरेक वर्ष १०० हेक्टर हाराहारी व्यवस्थापन गरिँदै आएको छ । अन्य घाँसेमैदान व्यवस्थापन गर्न नसक्दा पनि गैँडालाई समस्या भएको छ । गैँडालाई पानीका लागि तालतलैया सुक्दै गएपछि यस वर्ष ४० नयाँ ताल खन्नका लागि बोलपत्र आह्वान गरी ठेक्का दिइएको छ । हालसम्म निकुञ्जमा ६० ताल छन् । नदीमा सोझै ढल र फोहर मिसाउँदा प्रदुषित भएर पनि गैँडा प्रभावित बनेका छन् ।

निकुञ्जको तथ्याङ्कअनुसार सन् २०१४ मा आठ, २०१५ मा १५, २०१६ मा १४ र सन् २०१७ मा २४ गैँडा प्राकृतिक कारणले मरेका थिए । हालसम्म प्राकृतिक कारणले सबैभन्दा बढी मर्ने क्रम यस वर्ष देखिएको छ । यसअघि चोरीसिकारीबाट सबैभन्दा बढी सन् २००२ मा ३६, सन् २००३ मा ३०, सन् २००५ मा १६ र सन् २००० मा १५ गैँडा मारिएका थिए । पछिल्लो समय चोरीसिकारीबाट मारिने क्रम घटेर गएको छ । चोरीसिकारीबाट गैँडा नमरे पनि प्राकृतिक कारणबाट मर्नेको सङ्ख्या बढेपछि चिन्ता व्यक्त गरिएको छ । निकुञ्जमा सशस्त्र द्वन्द्वको समयमा धेरै गैँडा चोरीसिकारीबाट मारिएका थिए । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा छन् । चालू आर्थिक वर्षमा पुनः गैँडाको गणना गरिँदै छ ।

माघ २१ गते, २०७५ - १०ः०९ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg