प्राडा.केसीलाई काठमाडौँ लगियो, थापालाई लैजाने तयारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्राडा.केसीलाई काठमाडौँ लगियो, थापालाई लैजाने तयारी


प्रशासन संवाददाता

४ माघ २०७५, शुक्रबार


भद्रपुर । प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा संशोधनको माग राखी इलाममा विगत १० दिनअघि आमरण अनशन शुरु गरेका प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई आज बिहान काठमाडौँ लगिएको छ ।

प्राडा.केसीलाई इलाम अस्पतालबाट राति २ बजेतिर भेन्टिलेटरसहितको एम्बुलेन्समा राखेर झापाको चन्द्रगढी विमानस्थल ल्याइएको र तत्कालै नेपाली सेनाको एमआई १७ नाइटभिजन हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राससलाई बताए ।

यसैगरी सोही चिकित्सा विधेयकमा कुनै संशोधन नगरी हुबहु अनुमोदन गर्नुपर्नेलगायत मागसहित इलाममै विगत ८ दिनअघि आमरण अनशन बस्न शुरु गरेका विद्यार्थी विजय थापाको स्वास्थ्य स्थिति नाजुक बन्दै गएकाले आजै लैजाने तयारी भइरहेको बताइएको छ ।

गए राति प्राडा.केसीेसँगै अर्को एम्बुलेन्समा राखेर थापालाई पनि काठमाडौँ लैजान झापा ल्याइएकामा चन्द्रगढी विमानस्थल ल्याइपुर्‍याएपछि प्राडा.केसीको स्वास्थ्य अवस्था झन जटिल बन्दै गएकाले तत्कालै उनलाई सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगिएको थियो ।

प्राडा.केसीको स्वास्थ्य अवस्थाका कारण थापालाई पनि एउटै हेलिकोप्टरमार्फत काठमाडौँ लैजाने तयारी सम्भव हुन सकेन । आज बिहान ३ बजेतिर झापा ल्याइएको अनशनरत थापालाई भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा चिकित्सकको रेखदेखमा राखिएको छ ।

उनलाई पनि काठमाडौँ लैजानका लागि हेलिकोप्टर बिहान १० बजेतिर आउने झापाका प्रमुख जिल्ला अधिकारी दाहालले बताए । अनशनरत थापालाई हाल प्राडा.केसीको उपचार भइरहेको काठमाडौँस्थित शिक्षण अस्पताल नै लगिने थापाका निकट सहयोगी पुष्प भण्डारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस