तालिबानको आक्रमणबाट दुई प्रहरी अधिकृतको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तालिबानको आक्रमणबाट दुई प्रहरी अधिकृतको मृत्यु


प्रशासन संवाददाता

५ पुस २०७५, बिहिबार


पुल–ए–खुम्री, अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा तालिबान लडाकूको आक्रमणबाट बिहीबार राति दुईजना प्रहरी अधिकारीको मृत्यु भएको छ ।

बाघलान प्रान्तको दहाना जिल्लाका स्थानीय प्रहरी (एएलपी) कमाण्डर सलिम कोची र अर्का प्रहरी अधिकृतको हत्या भएको प्रान्तीय प्रहरी प्रमुख अक्रमुद्दिन सारेहले बताए । विद्रोहीले उनीहरु चढेको मोटरमा घेरा हाली आक्रमण गरेका थिए ।

जमान खिल भन्ने स्थानमा भएको विद्रोहीको त्यस आक्रमणबाट प्रहरीका धेरैवटा सवारी साधनमा समेत क्षति पुगेको छ । उक्त स्थान प्रान्तीय राजधानी पुल–ए–खुम्रीको बाहिरी इलाका हो ।

प्रहरीको जवाफी फायरिङबाट विद्रोही लडाकूहरु पनि मारिएको र घाइते भएको प्रहरीले जनाएको छ । यस आक्रमणको तालिबान लडाकू समूहले जिम्मेवारी लिएको छ ।

अफगानिस्तानमा सन् २०१४ को अन्त्यबाट अमेरिकाआवद्ध नेटो सेनाले अफगान युद्ध सकिएको घोषणा गरेयता विद्रोहीको आक्रमण तीव्र भएको छ । युद्धबाट अफगान सैनिक हताहत हुनेक्रम बढेको छ ।

अफगानिस्तानमा दिनदिनै शान्तिसुरक्षाको स्थिति बिग्रिएपछि युद्धरत विद्रोहीहरुलाई वार्तामा ल्याउन प्रयास थालिएका छन् ।

प्रतिक्रिया दिनुहोस