रग्बी विश्वकपको ट्रफी सगरमाथाको आधार शिविर सोलुखुम्बुको कालापत्थरमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रग्बी विश्वकपको ट्रफी सगरमाथाको आधार शिविर सोलुखुम्बुको कालापत्थरमा


प्रशासन संवाददाता

२० मंसिर २०७५, बिहिबार


काठमाडौं । ‘ट्रफ्री टुर’मा रहेको रग्बी विश्वकपको ट्रफी आज सगरमाथाको आधार शिविर सोलुखुम्बुको कालापत्थर पुर्‍याइएको  छ ।

विश्व रग्वीको वार्षिक नियमित विशेष कार्यक्रमअन्तर्गत ट्रफी बुधबार साँझ नेपाल ल्याइएको हो । नेपाल रग्बी संघको समन्वयमा विश्व सम्पदाको सूचीमा रहेका स्थान एवं संसारकै ध्यान केन्द्रित हुने पर्यटकीय तथा संसारभरमै पदयात्राको लागि प्रचलित स्थान सर्वोच्च शिखर सगरमाथाको आधार शिविर आज पुर्‍याइएको  शंका अध्यक्ष टङ्कलाल घिसिङले जानकारी दिए ।

ट्रफी टुरमार्फत विश्व रग्बी परिवारमा नेपाललाई संसारभर चिनाउने कार्यमा समेत यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ । शुक्रबार ट्रफीलाई विश्व सम्पदा सूचीमा रहेका स्थानहरु स्वयम्भूनाथ, बौद्धनाथ, पशुपति र पाटन दरबार स्क्वारमा प्रदर्शनी गरिने उनले जानकारी दिए ।

‘विश्व समुदायमाझ नेपाललाई चिनाउने प्रयासस्वरुप ट्रफीलाई विश्व सम्पदा सूचीमा समावेश सगरमाथाको आधार शिविर तथा स्वम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ, पाटनदरबार स्क्वार लगायत स्थानमा घुमाइनेछ’, उनले भने।

त्यस्तै मङ्सिर २२ गते टुँडिखेलमा आयोजना हुने रग्बी फेस्टिभलमा प्रदर्शनी गरिनेछ । फेस्टिभलमा नेपाली कलाकारहरुको प्रस्तुतिसँगै स्कुल रग्बी प्रतियोगिता, महिला रग्बी सेभेन, पुरुष रग्बी प्रतियोगिता हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुने कार्यक्रम छ ।

नेपालमा रग्बीको विश्वकप ट्रफी पहिलोपटक आउन लागेको हो । नेपालमा यसअघि विश्वकप फुटबल र अघिल्लो महिना विश्वकप क्रिकेटको ट्रफी ल्याइएको थियो । रग्बी विश्वकप सन् २०१९ को सेप्टेम्बर २० देखि जापानमा आयोजना हुँदैछ । एशियामा पहिलोपटक रग्बीको विश्वकप हुन लागेको हो । विश्वकपमा २० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस