पहिरो पीडितलाई प्रदेश सांसद मैनालीले दिए दुई महिनाको तलब « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पहिरो पीडितलाई प्रदेश सांसद मैनालीले दिए दुई महिनाको तलब


प्रशासन संवाददाता

२२ कार्तिक २०७५, बिहिबार


बेत्रावती । नुवाकोटबाट प्रतिनिधित्व गरेका प्रदेशसभा सदस्य बद्री मैनालीले यहाँका पहिरो पीडित दुई परिवारलाई दुई महिनाको तलब वापत प्राप्त रु ९० हजार उपलब्ध गराएको छ ।

पहिरोले घर पुरिँदा सबै सम्पत्ति गुमाएका नुवाकोट सूर्यगढी गाउँपालिका–२ चोकदेका कुमार शाही र नवबहादुर श्रेष्ठको परिवारलाई प्रदेशसभा सदस्य मैनालीले उनीहरुको अस्थायी निवासमा नै पुगेर सो रकम वापतको चेक प्रदान गरे । उनले दुई महिनाको तलबबाट प्राप्त भएको रकम शाही र श्रेष्ठको परिवारलाई जनही रु ४५/४५ हजार दिएको हो ।

गत साउन ३ गते बिहीबार राति आएको पहिरोमा परी उनीहरुको घर पूर्णरुपमा भत्केको थियो । पहिरोबाट गम्भीर घाइते भएका नवराज श्रेष्ठ, उनकी श्रीमती निरु, छोरी निशा र छोरा विकास गम्भीर घाइते भएर तीन महीना अस्पतालमा उपचार गरेपछि हाल घरमा आराम गर्दै छन् ।

नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ को ‘प्रदेश ख’बाट निर्वाचित मैनालीले चुनावी घोषणासभामा आफू विजयी भएमा सांसद पदबाट प्राप्त हुने सुविधा समाजसेवामा खर्चने भनी जनाएको प्रतिवद्धताअनुसार उक्त सहयोग गरेको बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस