भवन डिभिजनको मुख्य कार्यालय सार्न इलामवासीको रोक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भवन डिभिजनको मुख्य कार्यालय सार्न इलामवासीको रोक


८ कार्तिक २०७५, बिहिबार


पशुपतिगनर । सङ्घीय सरकारको मातहतमा रहेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सार्न इलामवासीले रोक लगाएका छन् । पूर्वी पहाडी चार जिल्लालाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको शहरी विकास मन्त्रालयअन्तर्गतको उक्त कार्यालय अञ्चल कार्यालय झापा सार्न निर्णय भए पनि इलामवासीले रोक लगाएका हुन् ।

झापास्थित अञ्चल कार्यालयमा सार्ने निर्णय गरेपछि इलामको कार्यालयमा रहेका सामग्री लिन गएको गाडीलाई इलामका सरोकारवाला निकाय र जनप्रतिनिधिले फर्काएर बाहिर ल्याइसेका सामग्री पुनःसोही कार्यालयमा राखिदिएका थिए । इलाम उद्योग वाणिज्य सङ्घ, नेपाल निर्माण व्यवसायी सङ्घ जिल्ला समिति, होटल एशोसिएशन, राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिले उक्त कार्यालय सार्न रोक लगाएका इलाम उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ईश्वर चिपालुले बताए ।

चार जिल्ला हेर्ने डिभिजनको मुख्य कार्यालय सार्नु नहुने भन्दै इलामवासीले इलाम नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएपछि उक्त नगरपालिकाले पनि काठमाडौंस्थित शहरी विकास मन्त्रालयमा एक पत्रलेखि कार्यालय नसार्न अनुरोध गरेको छ । बुधबार साँझ इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले मन्त्रालयमा पठाएको पत्रमा उक्त कार्यालय झापा सार्दा पाँचथर र ताप्लेजुङ जिल्लाका सेवाग्राहीलाई सास्ती हुने भएकाले यथास्थानमा राख्न अुनरोध गरेको छ ।

कार्यालय यथास्थानमा रहनका लागि पहल गर्न उक्त नगरपालिकाले पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवास नेम्वाङलाई पनि अनुरोध गरेको छ । यसैगरी सङ्घीय सरकारको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सार्ने निर्णय खारेजको माग राख्दै आज जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा इलामवासीले ज्ञापनपत्र बुझाउने भएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस