विश्वकप फुटबल आजबाट सुरु हुँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विश्वकप फुटबल आजबाट सुरु हुँदै


३१ जेष्ठ २०७५, बिहिबार


काठमाडौं । विश्वकप फुटबल प्रतियोगिता आजदेखि रसियामा सुरु हुँदैछ । मस्कोस्थित लुजनेकी रंगशालामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक रसिया र साउदी अरेबिया भिड्दैछन् । उक्त खेल नेपाली समयअनुसार राति पौने ९ बजे खेल सुरु हुँदैछ ।

फिफा वरियता अनुसार विश्वकपमा सहभागी राष्ट्रमध्ये रसिया सबैभन्दा कमजोर मुलुक हो । रसिया फिफा वरियतामा ७० औँ स्थानमा छ भने साउदी अरेबिया ६७ औँ स्थानमा छ ।

सन् २००८ मा युरोपियन च्याम्पियनसिपको सेमिफाइनलसम्मको यात्रा नै रसियाको फुटबलमा अहिलेसम्मको उपलब्धि हो । रसिया आयोजक राष्ट्रका हैसियतमा मात्र प्रतियोगितामा छनोट भएको हो ।

साउदी अरेबिया भने यसअघि सन् १९९४ र सन् २००६ को विश्वकपमा समेत सहभागी भइसकेको छ ।

प्रतियोगितामा ३२ राष्ट्रको सहभागिता रहनेछ । एक महिनासम्म चल्ने प्रतियोगितामा ६४ खेल हुनेछन् । रसियाको ११ सहरका १२ मैदानमा प्रतियोगिताका विभिन्न खेल सञ्चालन हुनेछन् ।

ब्राजिल, स्पेन र फ्रान्सलाई यसपटकको विश्वकपमा प्रबल दाबेदार मानिएको छ ।

प्रतियोगितामा एसियाका पाँच, अफ्रिकाका पाँच, उत्तर अमेरिकाका तीन, दक्षिण अमेरिकाका पाँच र युरोपका १४ राष्ट्र सहभागी हुँदैछन् ।

विश्वकप विजेताले ३८ मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछ भने उपविजेताले २८ मिलियन डलर पाउनेछ ।

प्रतिक्रिया दिनुहोस