मंसिर २९ गते, २०७४

इन्टिग्रिटी आइडलले नयाँ पहिचान दिएको छ

‘इन्टिग्रिटी आइडल २०१७’ का उत्कृष्ट ५ मध्ये एक हुन्, जिल्ला कृषि विकास कार्यालय, काभ्रेका कृषि प्रसार अधिकृत कृष्ण धिताल । काभ्रेको कृषि निर्वाहमुखीबाट व्यावसायीमुखीतर्फ बनाउन उनको महत्वपूर्ण योगदान छ । आइडलको उत्कृष्ट ५ मा परेपछि उनको अनुभव, कर्मचारीतन्त्रलगायत विषयमा उनीसँग प्रशासन डट कमका एसराज उपाध्यायले गरेको कुराकानी ।

इन्टिग्रिटी आइडल २०१७ को उत्कृष्ट ५ मा पर्नुभएको छ, कस्तो अनुभव भइरहेको छ ?
साह्रै खुसी लागेको छ । यसले नयाँ पहिचान दिलाएको छ । अर्को कुरा, सेवाग्राहीले मूल्यांकन गरेको अनुभूति भएको छ । किनभने इन्टिग्रिटी आइडलमा मैले आफै सिफारिस गरेको होइन । त्यो यहाँकै सेवाग्राहीको सिफारिसबाट उत्कृष्ट १० मा परेको थिएँ । अहिले त्यसबाट छानिएर उत्कृष्ट ५ मा पर्न सफल भएँ ।

काभ्रेमा निर्वाहमुखी कृषिलाई व्यावसायमुखी बनाउन तपाईंको उल्लेखनीय भूमिका छ, कर्मचारीमा ‘कामचोर’ प्रवृत्ति बढिरहेको गुनासो आइरहेका बेला तपाईंमा यस्तो प्रेरणा कसरी आयो ?
होइन, सबै कर्मचारी ‘कामचोर’ छन् भन्ने छैन । धेरै कर्मचारीले राम्रो काम गरिरहेका छन् । यद्यपि, केही होलान् यस्ता । मलाई निजामती कर्मचारी मेहनती र इमान्दार लाग्छन् । केही कर्मचारीका कारण बिग्रिएको इमेज अहिलेसम्म सुध्रिसकेको छैन । समग्रमा भन्दा निजामती कर्मचारी सकारात्मक छ । जहाँसम्म मैले कसबाट पे्ररणा पाएँ भन्ने कुरा छ, त्यो ठ्याक्कै यही र यसैबाट भन्दा पनि काम गर्नु पर्छ भन्ने कुरा नै हो । काम त गर्नैपर्यो, होइन र ?

तपाईंले धेरै कर्मचारीले राम्रो काम गरेको भन्नुभयो, तर न सेवाग्राही खुसी देखिन्छन् न त परिणाम नै सन्तोषजनक देखिन्छ त ?
कर्मचारीले अलि बढी नियम खोज्छन् । कर्मचारीको शैलीमा नियम पुर्याएर काम गर्न खोज्दा अलिकति झन्झटिलो हुने र सेवाग्राहीलाई बुझाउन पनि केही समय लाग्ने भएकाले सेवाप्रवाह झण्झटिलो प्रोसेस पनि हो । धेरै नियमले बाँध्न खोज्दा सरकारी काम अलि झण्झटिलो भएजस्तो भएको हो । तर, बिस्तारै यो सुधारोन्मुख छ ।

काभ्रेका किसान निर्वाहमुखी खेतीबाट व्यावसायिकतर्फ उन्मुख भएका छन्, त्यति सजिलै त यो सम्भव भएन होला, उनीहरूलाई यहाँसम्म पुर्याउँदाको यहाँको छोटो अनुभव भनिदिनुहोस् न ?
यहाँको कृषि निर्वाहमुखी नै छ । हामीले धेरै किसानलाई निर्वाहमुखीबाट व्यावसायिकतर्फ लैजानुपर्ने जरूरी छ । काभ्रेमा हामीले यो प्रयास पनि गरेका छौं । यहाँ कृषिलाई पेसाको रूपमा त लिइन्छ । तर, व्यवसायका रूपमा लिइँदैन । त्यसबाट नाफा गर्नुपर्छ भन्ने किसानको सोच नै छैन । ‘गर्दै जाऊ के हुन्छ’ भन्ने प्रवृत्ति छ ।

किसानको सोच परिवर्तन गर्न हामी कृषिलाई व्यावसायिक बनाउनतर्फ लागेका छौं । कुन बालीमा नाफा हुन्छ ? के गर्दा नाफा हुन्छ ? कसरी लागत खर्च घटाउन र नाफा बढाउन सकिन्छ ? लगायतबारे किसानलाई जानकारी दिएका छौं ।
काभ्रेमा तीन क्लस्टरका १५ गु्रपलाई व्यावसायिक खेती गर्ने र नाफामूलक बनाउने तरिकाबारे तालिम दियौं । त्यसपछि क्रमशः किसानहरूमा कृषिलाई व्यवसायका रूपमा हेर्ने परिपाटीको विकास भयो ।

अर्को के पनि हो भने  किसानदेखि किसानसम्म प्रसार हुन्छ भन्ने हो । त्यसले एउटाबाट अर्को किसानले पनि सिक्छ । र, ऊ व्यावसायिक पनि बन्छ । त्यसकारण अब यसलाई निरन्तरता दिने हामीले सोच बनाएका छौं ।

जिम्मेवारीभन्दा माथि उठेर काम गर्न कतिको चुनौती देख्नुहुन्छ ?
केही नयाँ काम गर्न यताउता गइरहनुपर्छ । तर, आम मान्छेले यो यताउता किन दौडिन्छ भनेर शंका गर्दा रहेछन् । केका लागि दौडिएको छ यो ? किन दौडिरहन्छ ? केही नपाए किन दौडिन्थ्यो ? भन्ने आम मान्छेको बुझाइ हुँदो रहेछ । तर, मलाई के लाग्थ्यो भने अहिले जसले जे शंका गरे पनि बिस्तारै बुझ्दै जानेछन् । मेरो कामले नै इन्टिग्रिटी आइडलमा छनोट भएको जस्तो लाग्छ । त्यसकारण केही नयाँ काम गर्दा समाजको हेर्ने दृष्टिकोण कहिलेकाहीँ फरक हुन्छ ।

यहाँले प्रविधिलाई पनि सँगसँगै अगाडि बढाउनुभएको रहेछ, ‘हेलो किसान’बाट किसानले कतिको लाभ लिइरहेका छन् ?
हामीले ‘हेलो किसान कृषि काभ्रे’ फेसबुक पेज बनाएका छौं । त्यहाँ अहिले नयाँ पुस्ताका जति पनि किसान आबद्ध हुनुहुन्छ । उहाँहरूले कृषि सम्बन्धी विभिन्न एपहरू पनि प्रयोग गर्नुभएको छ । कृषि तथा सूचना सञ्चार केन्द्रले निकालेको ‘हाम्रो कृषि’ एप कसरी हेर्ने, प्रयोग गर्ने भन्ने तालिम पनि सञ्चालन गरेका छौं । यसले कृषि उपजको मूल्यसँगै उपलब्ध हुने स्थानबारे जानकारी समेत दिन्छ । त्यसकारण टेक्नोलोजीमार्फत् पनि किसानलाई जोड्ने काम गरिरहेका छौं । उहाँहरूले पनि प्रयोग गर्नुभएको छ । तर, यसमा आउने किसान कमै हुनुहुन्छ । किनभने अहिलेसम्म बूढापाका किसानले धानेको स्थिति छ । व्यावसायिक क्षेत्रमा अहिले युवाहरू पनि आउनुभएको छ । तर, ४० वर्षभन्दा बढी उमेरका किसानहरूको प्रतिनिधित्व बढी छ ।

कृषकलाई व्यावसायिक बनाउने सँगसँगै थप के के गर्दै हुनुहुन्छ ?
मैले कृषिलाई व्यावसायिक बनाउने मात्रै होइन, अरु दुई–तीन वटा काम गरेको छु । पहिलो, धानको उत्पाकत्व बढाउन किसानलाई आधुनिक प्रविधिबारे जानकारी, तालिम कार्यक्रम सञ्चालन गरिरहेका छौं । हाम्रो मुख्य उद्देश्य बाली उत्पादन र यसको उत्पादकत्व बढाउने हो । धान हाम्रो देशको मुख्य बाली हो । धानको उत्पादन घटबढ हुने बितिकै नेपालको आम्दानीमा नै प्रभाव पर्छ । यसका लागि किसानलाई तालिम र एसआरआई प्रविधिको नमुना प्रदर्शन गरेर किसानलाई कन्भेन्स गर्ने प्रयास गरेका छौं । यसमा किसानको उत्साहजनक सहभागिता देखियो र उनीहरूले निरन्तर फलोअप गरे । यसले उत्पादन पनि लगभग दोब्बर भयो ।

दोस्रो, बजारोन्मुख उत्पादनलाई प्रवद्र्धन गर्ने । तेस्रो, जलवायु सम्बन्धी केही काम गरियो । अहिले जलवायु परिवर्तन भइरहेको छ । जलवायु परिवर्तन ठुलो चुनौतीको रूपमा देखा परेको छ । यसले गर्दा मुख्य पानीको उपलब्धता कम भइरहेको परिस्थितिमा एसआरआई धान खेती प्रविधि एउटा उपयुक्त विधि हो ।

त्योबाहेक वर्षातको पानी संकलन र बाली छनोट विषयमा पनि किसानलाई चेतना जगाएका छौं । अघिल्लो वर्ष कार्यालयको पहलमा सात सय प्लास्टिक पोषक वितरण गर्यौ ।

काभ्रेका दुई क्षेत्रमध्ये एक एकदमै व्यावसायिक छ भने अर्काे एकदमै पिछडिएको छ । त्यसलाई प्रवद्र्धन गर्नुपर्ने स्थिति छ । काभ्रेको मुख्य उपत्यका क्षेत्रमा तरकारीमा विषको प्रयोग बढी भइरहेको छ । त्यसकारण विषादी न्यूनीकरण गर्नबारे कार्यक्रम सञ्चालन गर्यौं । ती ठाउँमा जैविक विषादी पनि वितरण, प्रयोग विधिबारे जानकारी र विष प्रयोग गर्दा लगाइने सुरक्षित कवज वितरण गर्यौं । त्यससँगै एकिकृत सत्रुजिव व्यवस्थापन (आइपिएम) कक्षा पनि सञ्चालन गर्यौं । कृषि खेती प्रणाली परिवर्तन र व्यवसायिकताका लागि यसमा प्रवद्र्धन गरेको हुँ ।

कता कता कर्मचारीहरु आफ्नो कर्तव्य र दायित्वबाट विमुख भएका हुन् कि जस्तो पनि देखियो । कसरी उनिहरुलाई कर्तव्यनिष्ट बनाउन सकिन्छ जस्तो लाग्छ ?
कहिलेकाहीँ एउटै मान्छे कर्तव्यनिष्ट भइराख्छ भन्ने पनि हुँदैन । त्यो हिसावले मान्छेको आफ्नो सोचाइको अन्तराल पनि हुन्छ । कोही मान्छे अहिले कर्तव्यनिष्ट नभए पनि फेरि ऊ सकारात्मक परिवर्तन हुनसक्छ । जस्तो इन्टिग्रेटी आइडलले पनि परिवर्तन गर्न सक्छ । यसको पनि एउटा प्रभाव हुन्छ नि । यसले कर्मचारीलाई काम गर्ने प्रेरणा पनि दिन्छ ।

फेरि कस्तो पनि हुन्छ भन्दा अहिले इमान्दार र कर्तव्यनिष्ट कर्मचारी पछि बिग्रिन पनि सक्छन् । यो समयको अन्तरालमा मान्छेको मानसिकता परिवर्तन भइराख्ने कुरा हो । त्यसकारण कर्मचारी कर्तव्यनिष्ट छैनन् भन्दा पनि यो सामाजिक गुण हो । कर्मचारी पनि यही समाजका उपज हुन्, जुन समाजको अहिलेको गुण छ त्यो गुण कर्मचारीमा पनि देखिन्छ ।

चाह्यो भने एक कर्मचारीले नै परिवर्तन ल्याउन सक्दो रहेछ भन्ने उदाहरण बन्नुभयो, यसले पनि थप केही नयाँ काम गर्ने जोश जाँगर दियो होला नि, अबको यहाँको योजना के छ ?
यो प्रश्नलाई मैले दुई ठाउँमा भाग गरे । एउटा, चाह्यो भने एक्लैले भन्ने हुँदैन । किनकी कुनै पनि काम गर्न टिम वर्क चाहिन्छ । मेरो हकमा पनि त्यही नै हो । मेरो सफलतामा टिमको पनि योगदान छ । सहयोगी साथी, किसान, माथिल्लो तहका कर्मचारी सबैको साथले मैले सफलता पाएको हुँ । त्यस हिसाबले मेरो एक्लो पहल होइन, टिम मिलेको भन्नुपर्छ । तर, यसमा मैले पहलकदमी गरेको हो । यसमा मैले आफ्नो आइडिया इन्सट गरेर फास्ट टेक्नोलोजीमा पनि किसानमैत्री बनाउने प्रयास गरेको हुँ ।

भावी योजनाको कुरा गर्दा मैले अघि भनेका चार कुरा अहिलेसम्म पनि परिपूर्ति भइसकेको छैन । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने मुख्य कुरा हो । त्यो सधै निरन्तर अघि बढिरहन्छ र बढाइरहनु पर्छ ।

आगामी दिनमा पनि त्यो गर्नुपर्ने कुरा हो । सबै बाली र विषयको उत्पादन र उत्पादकत्व बढाउनुपर्छ । अहिले हामी व्यापार घाटामा छौं । कृषि क्षेत्रका व्यापार घाटा बढिराखेको छ । त्यसकारणले व्यापार घाटा घटाउन आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने खाले बाली र वस्तुमा हामी अगाडि बढ्नुपर्ने हुन्छ । अर्को निर्वाहमुखी कृषिलाई व्यावसायिक कृषिमा परिवर्तन गर्नुपर्ने छ यो तत्कालै भइसकेको स्थिति छैन । केही किसान व्यावसायिक भइराख्नुभएको छ । धेरैभन्दा धेरै किसानलाई निर्वाहमुखीबाट व्यावसायिक बनाएर विदेश जाने ट्रेनलाई रोक्नुपर्ने स्थिति छ । अहिले कृषि क्षेत्रमा लाग्ने युवाहरूको अभाव पनि ठूलो समस्या हो । यसलाई व्यावसायिक बनाएर युवा किसानलाई यही उद्यमी वा रोजगार बनाउनुपर्ने अर्को आवश्यकता छ ।

मैले अघि पनि भने क्लाइमेट चेन्जसँग सम्बन्धित कुरा क्रस कटिङ इस्युलाई हामीले छाड्नु हुँदैन । यो छाडियो भने कृषि अगाडि बढ्न सक्दैन । किनभने तापक्रम बढ्दै गइरहेको छ । स्रोत साधन तथा सिँचाइका कुरा कम हुँदै गइरहेको छ । यसलाई पनि जोडेर जानुपर्छ । म जहाँ सरूवा भए पनि यो गर्नुपर्ने कुरा हो ।

अर्को काभ्रेको इन्फेसिफिक कुरा के हो भने विषादीको प्रयोग न्यूनीकरण गर्ने र काभ्रेलाई ‘विषादी’ को उपमा हटाएर ‘अर्गानिक सेफ एग्रिकल्चर उत्पादक’ भनेर चिनाउने मेरो उद्देश्य हो ।

अहिले धेरै कर्मचारीहरु काम गर्ने वातावरण नै भएन पनि भन्ने गरेका छन् यसमा तपाइको विचार के छ ?
काम गर्ने वातावरण आफैले सिर्जना गर्नुपर्छ । नयाँ आइडियालाई धेरै मान्छेले स्वीकार्नुहुन्छ । केहीलाई बुझ्न समय लाग्ला । त्यसकारण नयाँ आइडिया जेनरेट गर्ने, समस्या पहिचान गरी त्यसको समाधान गरे काम गर्ने वातावरण बन्छ । त्यससँगै सकारात्मक सोच राखेर अगाडि बढ्यौं भने काम गर्ने वातावरण बन्छ ।

पाँच प्रतिस्पर्धीबीच भोटिङ सुरु भइसकेको छ, आम पाठकलाई के भन्न चाहनुहुन्छ ?
म उत्कृष्ट ५ मा परेको छु । आम कर्मचारीको प्रतिनिधित्व गर्दै आएकाले मलाई भोट गरी जिताउन हुन सबैमा अनुरोध छ ।

मंसिर १८ गते, २०७४ - बेलुकी ०६ः३२ मा प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg