आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै


३ मंसिर २०७५, सोमबार


काठमाडौं । आज हरिवोेधिनी एकादशी अर्थात कत्तिक शुक्ल एकादशी देशभरका मन्दिरहरुमा बिहानैदेखि पूजाआजा गरिँदै छ । आजै तुलसीको विवाह पनि गरिँदै छ ।

आषाढ शुक्ल एकादशीका दिन घरको मोठमा रोपी पूजा शुरु गरिएको तुलसीको विवाह आज दामोदरसँग गरिदिने प्रचलन छ । आज बिहानै वैदिक सनातन धर्मावलम्बीले स्नान गरी व्रत बस्छन् । आज चामलबाट बनेका परिकार नखाई फलाहार मात्र गर्ने गरिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि पूजाआजा शुरु गरिएको तुलसीको मठमा विधिपूर्वक पूजासहित हवन गरेपछि चतुर्मास व्रत समाप्त हुन्छ ।

यस्तै आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आज जागा हुने धार्मिक विश्वास छ । भगवान् विष्णुको पूजाआजा गर्न बिहानैदेखि नारायण मन्दिरमा भीड लागेको हो ।

काठमाडौं उपत्यकाका चार नारायणहरु चाँगुनारायण, शेषनारायण, शङ्खुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । चार नारायणको आज एकैदिन पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति स्थापना गरिएको छ ।

बूढानीलकण्ठमा आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्छ । यहाँ जलकुण्डमाथि भगवान् नारायण सुतेको अलौकिक मूर्ति छ । यो मूर्ति हेर्न आन्तरिकका साथै बाह्य पर्यटककोसमेत भीड लाग्ने गर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस