काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिप्रति असन्तुष्टि व्यक्त गर्दै संसद्प्रतिको कार्यकारी नेतृत्वको जिम्मेवारीबारे प्रश्न उठाएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै आङ्देम्बेले लोकतान्त्रिक अभ्यास भएका मुलुकहरूमा विपक्षी दलका नेताले संसद्मा धारणा राख्दा प्रधानमन्त्री स्वयं उपस्थित भएर त्यसलाई सुन्ने परम्परा रहेको उल्लेख गरे। उनले यस्तो अभ्यासले सरकारलाई विपक्षबाट आउने सुझाव, आलोचना र मार्गनिर्देशनलाई प्रत्यक्ष रूपमा ग्रहण गर्ने अवसर प्रदान गर्ने बताए।
उनले आफूले सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री बैठकमा उपस्थित नरहेको उल्लेख गर्दै यसअघि नै यस्तो अवस्था रहने अनुमान गरेको बताए। विपक्षी दलका नेताको भनाइलाई सरकार सञ्चालनका लागि उपयोगी सुझावका रूपमा लिनुपर्ने भएकाले प्रधानमन्त्रीको उपस्थितिलाई संसदीय उत्तरदायित्वको महत्वपूर्ण पक्षका रूपमा हेर्नुपर्ने उनको धारणा थियो।
आङ्देम्बेले संसद्को बैठकमा प्रधानमन्त्री नियमित रूपमा उपस्थित हुनुपर्ने आवश्यकता दोहोर्याउँदै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु आफ्नो दायित्व रहेको पनि बताए।







