काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा कृषि, पर्यटन, लगानीमैत्री वातावरण तथा युवा पलायन नियन्त्रणका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
छलफलका क्रममा सांसद महन्थ ठाकुरले गैरआवासीय नेपालीलाई स्वदेशमै लगानी गर्न आकर्षित गर्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । उनले स्थिर र लगानीमैत्री नीतिगत संरचनामार्फत आर्थिक विकासलाई गति दिन सकिने धारणा राखे ।
त्यस्तै सांसद धर्मेन्द्र पासवानले नीति तथा कार्यक्रममा मधेस प्रदेशको कृषि विकासलाई पर्याप्त प्राथमिकता नदिइएको टिप्पणी गरे । उनका अनुसार मध्यम वर्गका लागि केही सकारात्मक प्रावधान भए पनि कृषि र पर्यटन क्षेत्रको सम्भावना अझ प्रभावकारी रूपमा समेटिन सकेको छैन ।
सांसद उर्मिला अर्यालले कृषि वृद्धिदर पाँच प्रतिशत पुर्याउन सके मात्र आर्थिक समृद्धि सम्भव हुने उल्लेख गरिन् । उनले मौलिक बीउ संरक्षण, वीरगञ्ज चिनी कारखानाको पुनः सञ्चालन तथा दुग्ध विकास संस्थानको स्तरोन्नतिलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिइन् । साथै मधेस प्रदेशमा देखिएको खानेपानी संकट समाधानका लागि पर्याप्त बजेट विनियोजन गर्न पनि उनले आग्रह गरिन् ।
पर्यटन क्षेत्रबारे सांसद सोनामगेल्जेन शेर्पाले पर्यापर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकास र कूटनीतिक पहल आवश्यक रहेको बताए । उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न भारत र चीनसँग सहकार्य विस्तार गर्नुपर्ने धारणा राखे ।
यसैगरी सांसद सुनिलबहादुर थापा ले निरन्तर भइरहेको युवा पलायनलाई रोक्न स्वरोजगारका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्नु दीर्घकालीन समाधानको आधार हुने उल्लेख गरे ।







