नागरिकले सरकारबाट खोजेको कुरा यति हो-छिटोछरितो र झन्झटरहित सेवा । त्यसकै निम्ति जुटेको महालक्ष्मी नगरपालिकाले कर्मचारीदेखि जनप्रतिनिधिसम्मको क्षमता बढाउँदै प्रविधिमा आधारित प्रशासन अर्थात् डिजिटल शासनको बाटो अंगालेको छ ।
काठमाडौँ । पछिल्लो समय तपाईं वडा कार्यालय वा पालिकामा सेवा लिन जानु भएको छ ? अनि त्यहाँ सेवा कस्तो पाउनु भयो ? पहिले जस्तै झन्झटिलो प्रक्रिया छ ? या अहिले सेवा लिन सहज महसुस गर्नुभयो ?
तपाईंले पक्कै आफ्नो पालिकामा सेवा लिन जाँदा गरेको अनुभव सम्झनुभयो होला । सरकार, त्यसमा पनि स्थानीय सरकार अर्थात् पालिकामा सेवा लिन जाने नागरिकको अपेक्षा प्राय: एकैखाले हुन्छ-काम छिटोछरितो होस्, झन्झटिलो नहोस् । अनि पारदर्शी र विश्वसनीय पनि होस् । जब सेवा लिन जाँदा झन्झटिलो प्रक्रिया, ढिलासुस्ती र अनेक अस्पष्ट कार्यविधिको सामना गर्नुपर्छ, तब नागरिकमा असन्तुष्टि देखापर्छ । जब सेवा प्रणाली पारदर्शी, प्रविधिमैत्री, उत्तरदायी र परिणाममुखी बन्छ, त्यहीँबाट जनविश्वास नयाँ अध्याय शुरु हुन्छ ।
नागरिकको यही अपेक्षा र विश्वासलाई ध्यानमा राखेर ललितपुरको महालक्ष्मी नगरपालिका केही फरक मानक स्थापना गर्न जुटेको छ । नगरपालिकाले सुशासन, प्रभावकारी सेवा प्रवाह, संस्थागत सुधार र आर्थिक पारदर्शिताको क्षेत्रमा उल्लेख्य सुधार मात्र गरेको छैन, केही नयाँ उदाहरण पनि स्थापित गरेको छ ।
जस्तो, परम्परागत कागजी प्रक्रियामा आधारित सेवा प्रवाहबाट नगरपालिका क्रमश: डिजिटल प्रणालीतर्फ उन्मुख भएको छ । नगरपालिकाले आफ्नो सम्पूर्ण शासन प्रणालीलाई आधुनिक, छरितो र नागरिकमैत्री बनाउने स्पष्ट लक्ष्य लिएको छ । सेवा लिन कार्यालय धाउनुपर्ने, लामो समय लाइन बस्नुपर्ने तथा प्रक्रिया बुझ्न कठिन हुने अवस्थालाई क्रमश: अन्त्य गर्दै सहज, सरल र व्यवस्थित सेवा प्रणाली विकास गर्ने दिशामा नगरपालिका सक्रिय रूपमा लागिरहेको छ । यसले सेवा प्राप्तिमा हुने समय, लागत र झन्झट घटाउँदै नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने वातावरण सिर्जना गरिरहेको छ ।
त्यस्तै, सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत सेवा प्रवाहलाई डिजिटाइज्ड गर्ने, अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाउने तथा निर्णय प्रक्रियालाई छिटो र पारदर्शी बनाउने प्रयास पनि तीब्र पारिएको छ । आर्थिक कारोबारमा पारदर्शिता कायम गर्दै सार्वजनिक स्रोतको प्रभावकारी उपयोग सुनिश्चित गर्न विशेष ध्यान दिइएको छ । नागरिक सहभागिता बढाउँदै योजना तर्जुमा, कार्यान्वयन र अनुगमन प्रक्रियामा स्थानीय समुदायको सक्रिय भूमिकालाई समेत प्रोत्साहित गरिएको छ ।
सुधारिएको कर प्रणाली, नागरिकमैत्री सेवा
आमनागरिक स्थानीय सरकार अर्थात् पालिकामा ठोक्किन पुग्नुपर्ने एउटा कारण हो– कर तिर्ने काम । किनभने संविधानले धेरैजसो कर उठाउने जिम्मेवारी स्थानीय तहलाई सुम्पेको छ । संविधान अनुसार नै कर प्रणालीलाई व्यवस्थित र सुदृढ बनाउने उद्देश्यसाथ महालक्ष्मी नगरपालिकाले विभिन्न सुधारात्मक कार्यक्रम सञ्चालन गरेको छ । कर प्रशासनलाई पारदर्शी बनाउँदै राजस्व संकलनलाई प्रभावकारी बनाउनेतर्फ पालिका लागिपरेको छ ।
विशेषत: नागरिकलाई प्रत्यक्ष असर पर्ने नागरिकता प्रमाणपत्रको सिफारिस, विपन्न वर्गका लागि सिफारिस, स्वास्थ्य उपचार तथा छात्रवृत्ति लगायतका सेवामा कुनै शुल्क नलिने नीति नगरपालिकाले निरन्तर लागू गरेको छ । यसले आर्थिक रूपमा कमजोर वर्गलाई ठूलो राहत दिएको छ भने सेवा पहुँचमा समानता कायम गर्न मद्दत पुगेको छ ।
त्यस्तै, व्यवसाय दर्ता नगरेका व्यवसायीलाई करको दायरामा ल्याउन प्रोत्साहनमूलक नीति अपनाइएको छ । आर्थिक वर्षको शुरुआती ६ महिनासम्म दर्ता गर्न आउने व्यवसायीलाई क्रमश: २५ प्रतिशत र १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यस्तो नीतिले कर तिर्ने संस्कृतिलाई बढावा दिनुका साथै राजस्व दायरा बिस्तार गर्न सहयोग पुर्याएको नगरपालिकाले जनाएको छ ।
‘घरबाटै सेवा’को अवधारणालाई व्यवहारमा उतार्न नगरपालिकाले अनलाइन कर भुक्तानी प्रणाली लागू गरेको छ । यसले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने बाध्यता हटाउँदै समय र लागत दुवै बचत गरेको छ । नगरपालिकाका विभिन्न शाखाहरूमा डिजिटल सफ्टवेयर जडान गरिएको छ जसमध्ये मुख्यत: नक्सा शाखामा प्रविधिको प्रयोगले सेवा प्रक्रियालाई छरितो बनाएको छ । योसँगै सबै वडा कार्यालयहरुमा डिजिटल नागरिक बडापत्र जडान गरी सेवा सम्बन्धी जानकारीलाई पारदर्शी र सहज बनाइएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित ढुंगानाका अनुसार पालिकाले दिने सेवालाई छिटो र सरल बनाउन नगरपालिकाले घरबाटै कर तिर्न सक्ने व्यवस्था लागू गरेको छ । सिफारिस र दर्ता प्रक्रियालाई अनलाइन प्रणालीमा आबद्ध गरिएको छ । घर निर्माण गर्दा नक्सा पास प्रक्रियालाई सरल बनाउन मोबाइल एपको व्यवस्था गरिएको छ । एकद्वार सेवा प्रणालीमार्फत् नगरपालिकाले सेवा प्रवाहलाई थप व्यवस्थित बनाएको छ । एउटै स्थानबाट विभिन्न सेवा प्राप्त गर्न सकिने व्यवस्था हुँदा सेवाग्राहीलाई हुने झन्झट घटेको उनले बताए ।
पारदर्शी सेवा, जवाफदेही प्रणाली
लोकतन्त्रमा सुशासन बहाली गर्ने अनेक अवधारणा हुन्छन् । तर त्यसको मुख्य आधार भनेकै पारदर्शी सेवा हो । अनि त्यसलाई सम्बोधन गर्ने जवाफदेही प्रणाली । यही मूल्य-मान्यतालाई व्यवहारमा उतारेर महालक्ष्मी नगरपालिकाले सार्वजनिक सुनुवाइ, सार्वजनिक परीक्षण तथा सामाजिक परीक्षण जस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ । यस्ता अभ्यासले जनप्रतिनिधि तथा कर्मचारीलाई प्रत्यक्ष रूपमा जनतासमक्ष उत्तरदायी बनाउँदै सेवा प्रवाहमा पारदर्शिता र जनविश्वास अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
नगरपालिकाभित्र सञ्चालन हुने सबै योजनाहरूको लगत व्यवस्थापनलाई एकरूप र व्यवस्थित बनाइएको छ । यसले योजना कार्यान्वयनमा स्पष्टता, अनुशासन र निगरानी क्षमता बढाएको छ । साथै, योजनाहरुलाई तीन चरणमा अनुगमन गर्ने प्रणाली लागू गरिएको छ । जस्तो, अहिले अभ्यासमा रहेका करिब २०० योजनामा पनि कार्यान्वयनपूर्व, कार्यान्वयनका क्रममा र सम्पन्न भइसकेपछि अनुगमन गर्ने प्रणाली व्यवस्थित रुपमा लागू छ । यसले विकास निर्माणका कार्यको गुणस्तर सुनिश्चित गर्नुका साथै अनियमितता न्यूनीकरण गर्दै पारदर्शिता र जवाफदेहितामा उल्लेख्य सुधार ल्याएको छ ।
नगरपालिकाको सेवा प्रवाहलाई अझ पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउन विभिन्न सुधारात्मक तथा नवीन अभ्यासहरू कार्यान्वयनमा ल्याइएको नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार सेवाग्राहीलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउन नगरपालिकाले प्रविधिमैत्री सेवा प्रणालीलाई निरन्तर बिस्तार गरिरहेको छ । अब पालिकाभरका बासिन्दाले इन्टरनेटमार्फत् आफूले प्राप्त गर्ने सेवाको आवेदन दिन, विद्युतीय भुक्तानी गर्न तथा गुनासो दर्ता गर्न सक्छन् । यसले सेवा प्राप्त गर्ने प्रक्रिया सरल र समयमै सम्भव हुने बनाएको छ ।
त्यस्तै, नगरपालिकाले बजेट तथा कार्यक्रमहरू आमनागरिकको जानकारीमा रहनेगरी सार्वज्निक गर्ने कार्यलाई अनिवार्य गर्दै योजना, खर्च विवरण र प्रगति प्रतिवेदन नियमित रूपमा सार्वजनिक गर्दै आएको छ । सूचना पाटी, आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत यी विवरण सार्वजनिक गरेर नागरिकलाई निरन्तर रूपमा सूचित र सहभागी गराउने अभ्यासलाई संस्थागत गरिएको छ । यसले सार्वजनिक स्रोतको उपयोगमा पारदर्शिता र नागरिक निगरानीलाई समेत प्रभावकारी बनाएको छ ।
सेवा प्रवाहलाई अझ सहज बनाउन एकीकृत सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ, जसअन्तर्गत एउटै स्थानबाट विभिन्न सेवाहरू उपलब्ध हुने व्यवस्था मिलाइएको छ । यसले सेवाग्राहीलाई पटक-पटक कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सेवा प्रवाहलाई छरितो, व्यवस्थित र प्रभावकारी बनाएको छ ।
नगर प्रमुख श्रेष्ठले गुनासो व्यवस्थापन संयन्त्रलाई समेत थप प्रभावकारी बनाइएको बताए । हेल्प-डेस्क, टोल-फ्री नम्बर तथा अनलाइन प्रणालीमार्फत प्राप्त गुनासोहरूलाई निश्चित समयसीमाभित्र समाधान गर्ने अभ्यासलाई प्राथमिकताका साथ अघि बढाइएको उनको भनाइ छ । यसले नागरिकका समस्या छिटो सम्बोधन गर्न र पालिकाप्रति विश्वास बढाउन सहयोग पुगेको छ ।
कर्मचारीहरूलाई थप जिम्मेवार, जवाफदेही र सेवाउन्मुख बनाउन कार्यसम्पादन मूल्याङ्कन प्रणाली लागू गरिएको छ । यस प्रणालीले सेवाको गुणस्तर सुधार, कार्यक्षमता बृद्धि तथा प्रशासनिक अनुशासन कायम गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ ।
क्षमता बृद्धि, संस्थागत सुधार
आमनागरिकले स्थानीय सरकारबाट पाउने सेवा प्रवाहलाई प्रभावकारी, उत्तरदायी र गुणस्तरीय बनाउन मानवस्रोतको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । यही तथ्यलाई ध्यानमा राखेर महालक्ष्मी नगरपालिकाले कर्मचारी तथा जनप्रतिनिधिको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको छ । त्यहीअनुसार कर्मचारीहरूको पेशागत क्षमता बृद्धि लागि विभिन्न विषयगत तथा व्यावहारिक तालिम कार्यक्रम नियमित रूपमा सञ्चालन गरिएको छ । सेवाग्राहीमैत्री व्यवहार, प्राविधिक दक्षता र कार्यसम्पादन क्षमतामा आएको सुधारले सेवाको गुणस्तरमा प्रत्यक्ष र सकारात्मक प्रभाव पारेको छ ।
त्यस्तै, जनप्रतिनिधि र कर्मचारी दुबैका लागि छुट्टाछुट्टै तथा संयुक्त क्षमता विकास योजना तर्जुमा गरेर कार्यान्वयनमा ल्याइएको छ । नीतिगत निर्णयदेखि कार्यान्वयन तहसम्म आवश्यक ज्ञान, सीप र दक्षता बृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएका यस्ता कार्यक्रमहरूले संस्थागत कार्यक्षमता मजबुत बनाउन भूमिका खेलेका छन् । यसले सेवा प्रवाह मात्र होइन, समग्र शासन प्रणालीलाई नै परिणाममुखी बनाएको देखिन्छ ।
स्थानीय विकास प्रक्रियामा नागरिक सहभागिता बढाउन टोल विकास संस्थाहरूलाई समेत सुदृढीकरण गरिएको छ । टोल स्तरमै योजना छनोट, कार्यान्वयन तथा अनुगमनमा समुदायको सक्रिय सहभागिता सुनिश्चित गरिएसँगै विकास निर्माण कार्यप्रति स्थानीय स्वामित्व र अपनत्व बृद्धि भएको छ । यसले विकासलाई केवल सरकारी कार्यक्रम नभई सामूहिक प्रयासको रूपमा अघि बढाउन सहयोग पुगेको छ ।
दिगो विकास लक्ष्यको प्रभावकारी कार्यान्वयनका लागि नगरपालिकाले २०७९ सालमै आवश्यक कार्य ढाँचा तयार गरी लागू गरिसकेको छ । दीर्घकालीन सोच र योजनाबद्ध विकासलाई केन्द्रमा राखेर नगर पर्यटन पाश्र्वचित्र, आवधिक योजना तथा मध्यमकालीन खर्च संरचनासमेत तयार गरिएको छ । यस्ता रणनीतिक दस्तावेजहरूले विकास प्रक्रियालाई व्यवस्थित, लक्ष्यमुखी र परिणामदायी बनाउन महत्त्वपूर्ण आधार प्रदान गरेका छन् ।
त्यस्तै, नगरपालिकाले गैरसरकारी संस्थाहरूका कार्यक्रमलाई पनि नगरपालिकाको समग्र योजना तथा बजेटसँग समन्वय गरी प्राथमिकताका क्षेत्रमा परिचालन गर्ने नीति अवलम्बन गरेको छ । यसले विकास साझेदारहरूको प्रयासलाई एकीकृत गर्दै स्रोतको दोहोरो प्रयोग हुनसक्ने सम्भावनालाई न्यूनीकरण गरेको छ भने उपलब्ध स्रोतसाधनको अधिकतम र प्रभावकारी उपयोग सुनिश्चित गर्न सहयोग पुगेको छ ।
सम्पदा संरक्षण, उद्यमशीलताको प्रवद्र्धन
महालक्ष्मी नगरपालिकाले नगरभित्र रहेका ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक सम्पदाहरूको संरक्षण, सम्बद्र्धन र सौन्दर्यीकरण गर्दै आन्तरिक पर्यटन प्रवद्र्धनमा विशेष जोड दिइएको छ । बौद्ध स्तूप, भगवानस्थान, बोझेपोखरी, कमलपोखरी, सिद्धिपुर तथा लुभु सम्पदा क्षेत्र, श्रृङ्गऋषि गुफा, मानेचैत्यलगायतका सम्पदालाई व्यवस्थित रूपमा संरक्षण गरी पर्यटक आकर्षणको केन्द्र बनाउने प्रयास तीव्र पारिएको छ ।
नगरपालिकाले गुणस्तरीय वस्तु तथा सेवाको सुनिश्चितताका लागि बजार अनुगमनलाई प्रभावकारी बनाएको छ भने कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउनेतर्फ विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । कृषि पकेट कार्यक्रमलाई निरन्तरता दिँदै प्रदेश र संघीय सरकारसँगको समन्वयमा बृहत् लगानी भित्र्याउने पहल गरिएको छ । कृषिमा जलवायु अनुकूलन अवधारणालाई आत्मसात् गर्दै मल, बीउ, उपकरण र प्रविधिमा कृषकसँग साझेदारीलाई सुदृढ बनाइएको छ ।
त्यस्तै, कौसी खेती कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइएको छ, निजी क्षेत्रको संलग्नतालाई प्रोत्साहन गरिएको छ। सिँचाई व्यवस्थापन सुधारका लागि राजकुलो तथा अन्य कुलोहरूको मर्मत-सम्भार गरिएको छ भने पानी अभाव भएका क्षेत्रमा थोपा सिँचाइ प्रणाली र इनार निर्माण कार्यक्रम सञ्चालनमा ल्याइएको छ । तरकारी खेतीमा विषादी नियन्त्रणका लागि कारितास नेपालसँगको सहकार्यमा कृषक पाठशाला सञ्चालन गरिएको छ ।
नगरपालिकाले ‘स्वच्छ मासु पसल सुधार कार्यक्रम’ मार्फत उपभोक्ता स्वास्थ्य सुरक्षामा ध्यान दिएको छ । सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन कोपोमिस प्रणालीमा ७८ भन्दा बढी सहकारीलाई आबद्ध गरी पासवर्ड वितरणमा सहजीकरण गरिएको छ । साथै, सहकारी तथा गरिबी व्यवस्थापनसम्बन्धी तालिम, लेखा व्यवस्थापन प्रशिक्षण तथा सञ्चालक–व्यवस्थापक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ ।
वन, वातावरण तथा जैविक विविधता संरक्षणमा पनि नगरपालिका जुटिरहेको छ । सामुदायिक वनसँग सहकार्य गर्दै वन संरक्षण, जलाधार व्यवस्थापन तथा पर्यापर्यटन विकासका कार्यक्रम प्रभावकारी रूपमा अघि बढाइएको छ ।
नगरपालिका उद्यमशीलता प्रबद्र्धनमा पनि त्यसैगरी लागेको छ । जस्तो, ‘१५० उद्यमीसँग नगर प्रमुख’ अभियान अन्तर्गत् युवा उद्यमशीलता विकास कार्यक्रमलाई उपलब्धि मुल्याकंनका आधारमा सञ्चालन गरिएको छ ।
नगर प्रमुख हरिगोविन्द श्रेष्ठका अनुसार गरिबी न्यूनीकरणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएको छ भने प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १०८ जनालाई रोजगारी प्रदान गरिएको छ । वातावरण प्रदूषण गर्ने उद्योगलाई निरुत्साहित गर्दै लक्षित वर्गका व्यक्तिहरूले सञ्चालन गरेका उद्योगमा व्यवसाय दर्ता र वार्षिक करमा ५० प्रतिशत छुटको व्यवस्था कायम गरिएको छ ।
परम्परागत उद्योग तथा हस्तकलाको संरक्षणमा समेत नगरपालिकाले विशेष ध्यान दिएको नगर प्रमुख श्रेष्ठ बताउँछन् । उनले ढाका, सुकुल, माटोका भाँडाकुँडा लगायतका घरेलु उद्योगलाई प्रोत्साहन गर्न वार्षिक करमा २५ प्रतिशत छुट दिइँदै आएको जानकारी दिए । यस्ता उत्पादनको बजारीकरणका लागि ‘कोसेली घर’ सञ्चालनमा सहयोग गरिएको छ । त्यस्तै, श्रम बैंकलाई अद्यावधिक गरी प्रभावकारी बनाइएको छ ।
पर्यटन प्रवद्र्धनका लागि लुभु र सानागाउँलाई सम्पदा बस्तीका रूपमा विकास गर्ने कार्यक्रम सञ्चालन गरिएको छ । पालिकाले होम-स्टे प्रवद्र्धन, गुठी तथा ट्रष्ट व्यवस्थापनमा सहयोग तथा भित्री सडकहरूको मौलिक स्वरूप संरक्षण जस्ता पहलमार्फत् नगरको साँस्कृतिक पहिचान जोगाउन टेवा पुर्याएको नगर प्रमुख श्रेष्ठले बताए ।
त्यस्तै, विभिन्न जात्रा, पर्व, पूजा तथा परम्परागत संस्कृतिको संरक्षण र व्यवस्थापनका लागि समितिमार्फत काम भइरहेको छ । मौलिक कला, संस्कृति तथा पेशालाई जीवन्त राख्न अन्तरपुस्ता सीप हस्तान्तरणमा जोड दिइएको नगरप्रमुख श्रेष्ठ बताउँछन् ।
उत्तरदायी र जनमैत्री प्रशासन
महालक्ष्मी नगरपालिकाले स्थानीय सरकार सञ्चालन गर्ने जनप्रतिनिधिसँगै प्रशासन संयन्त्रलाई थप उत्तरदायी, पारदर्शी र जनमैत्री बनाउन पछिल्लो समय केही उल्लेख्य पहल अघि बढाएको छ । जस्तो, नागरिकको अपेक्षा र सेवाको गुणस्तरबीचको दूरीलाई थप सुदृढ बनाउने लक्ष्यसहित विभिन्न नवीन अभ्यासमार्फत् स्थानीय शासनलाई प्रभावकारी बनाउने दिशामा नगरपालिका अग्रसर बनेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित ढुंगानाका अनुसार अब प्रशासन केवल कागजी प्रक्रियामा सीमित छैन, बरु नागरिकसँग प्रत्यक्ष संवादमार्फत समस्याको समाधान खोज्ने अभ्यासलाई प्राथमिकता दिइएको छ । नागरिकका गुनासा प्रत्यक्ष सुन्ने र तत्काल सम्बोधन गर्ने संयन्त्र विकास गरिएको छ । यसले सेवा प्रवाहमा पारदर्शिता र विश्वास दुबै बढाएको छ । आर्थिक वर्षको बीचमा तथा अन्त्यमा समेत नगरबासीसँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव संकलन गर्ने अभ्यासले योजना तर्जुमा र कार्यान्वयनलाई अझ यथार्थपरक बनाएको प्रमुख प्रशासकीय अधिकृत ढुंगाना बताउँछन् ।
सेवा प्रवाहलाई सरल र सहज बनाउन ‘कुन सेवा कति समयमा र कुन कोठाबाट प्राप्त हुन्छ?’ भन्ने स्पष्ट जानकारी दिने प्रणाली लागू गरिएको छ । यसले सेवाग्राहीलाई अनावश्यक अन्योल र झन्झटबाट मुक्त गर्दै समय र श्रम दुबै बचत गर्न सहयोग पुर्याएको छ । साथै, नगरबासीको आवश्यकतालाई ध्यानमा राखेर शाखागत घुम्ती सेवा सञ्चालन गरिएको छ जसले टाढा रहेका नागरिकसम्म सेवा पुर्याउन सघाएको छ ।
ढुंगानाका अनुसार सार्वजनिक व्यवस्थापनलाई व्यवस्थित गर्न नगर प्रहरीले पनि सक्रिय भूमिका निर्वाह गरिरहेको छ । सार्वजनिक स्थानमा निर्माण सामग्रीको अव्यवस्थित भण्डारण नियन्त्रण, पार्किङ व्यवस्थापन, छाडा चौपाया नियन्त्रण, विपद् व्यवस्थापन तथा सार्वजनिक सम्पत्तिको संरक्षण जस्ता क्षेत्रमा नगर प्रहरी परिचालन गरिएको छ । यसले शहरको सुन्दरता मात्र होइन, सुरक्षा र अनुशासन कायम राख्न पनि सहयोग पुर्याएको छ ।
अन्त्यमा,
सुशासन, सेवा प्रवाह सुधार र संस्थागत सुदृढीकरणलाई केन्द्रमा राखेर पछिल्ला वर्षहरुमा महालक्ष्मी नगरपालिकाले गरिरहेको प्रयासले स्थानीय शासन प्रणालीमा उल्लेख्य परिवर्तनको संकेत गर्छ । परम्परागत प्रशासनिक अभ्यासबाट क्रमश: डिजिटल, प्रविधिमैत्री र नागरिककेन्द्रित प्रणालीतर्फ अघि बढ्दै गएको नगरपालिकाले सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउने दिशामा ठोस कदमहरू चालिरहेको छ ।
अनलाइन सेवा प्रणाली, एकीकृत सेवा केन्द्र, डिजिटल अभिलेख व्यवस्थापन तथा गुनासो सम्बोधन संयन्त्रको प्रभावकारी प्रयोगले नागरिकलाई सेवा लिन लाग्ने समय, खर्च र झन्झट घटाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । त्यस्तै, कर प्रणालीमा गरिएको सुधार, कर छुट तथा प्रोत्साहनमूलक नीतिहरूले राजस्वको दायरा बिस्तार गर्दै आर्थिक पारदर्शिता र सेवा पहुँचमा समानता कायम गर्न सहयोग पुर्याएको छ ।
नगरपालिकाले सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, योजनागत अनुगमन तथा बजेट सार्वजनिकीकरण जस्ता अभ्यासलाई नियमित बनाउँदै उत्तरदायित्व र पारदर्शितालाई संस्थागत गरेको छ । यसले स्थानीय सरकारप्रति नागरिक विश्वास मजबुत बनाउँदै विकास प्रक्रियालाई थप व्यवस्थित र परिणाममुखी बनाएको छ ।
त्यस्तै, क्षमता विकास, टोल विकास संस्थाको सुदृढीकरण, सम्पदा संरक्षण, कृषिमा आधुनिकीकरण, उद्यमशीलता प्रवद्र्धन र रोजगारी सिर्जना जस्ता बहुआयामिक प्रयासहरूले नगरपालिकाको समग्र विकासलाई दिगो र सन्तुलित दिशामा अघि बढाउन सघाउ पुर्याएका छन् ।
समग्रमा, महालक्ष्मी नगरपालिका सेवा दिने निकाय मात्र नभई सुशासन, पारदर्शिता, नागरिक सहभागिता र दिगो विकासलाई व्यवहारमा उतार्ने एउटा सक्रिय स्थानीय सरकारका रूपमा स्थापित हुँदै गएको छ ।







