काठमाडौँ। प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जनालाई पक्राउ गरेको जनाएको छ। नियमित गस्तीका क्रममा उनीहरूलाई बुधबार विभिन्न जिल्लाबाट नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ।
प्रहरीका अनुसार सुनसरीको कोशी नगरपालिका-८ भान्टाबारीबाट एक जना, झापाको भद्रपुर नगरपालिका-५ नरसिंह बगानबाट सात जना, कन्काई नगरपालिका-६ क्याम्पाबाट एक जना र धनुषाको मिथिला नगरपालिका-१० रातुपुलबाट तीन जना पक्राउ परेका छन्।
त्यस्तै, धनुषाधाम नगरपालिका-९ धारापानीबाट एक जना, बाँकेको जानकी गाउँपालिका-५ बाट एक जना, नेपालगञ्ज उपमहानगरपालिका-१६ बाट तीन जना, कैलालीको टीकापुर नगरपालिका-९ बालुवाटारबाट दुई जना र लम्कीचुहा नगरपालिका-१ भरुवाबाट एक जना पक्राउ गरिएको छ।
यसैगरी, काठमाडौँका विभिन्न स्थानबाट चार जना, बाँकेको कोहलपुर नगरपालिका-४ बेलनपुरबाट दुई जना तथा ललितपुरको बागमती गाउँपालिका-३ भट्टेडाँडाबाट दुई जना पक्राउ परेका छन्। केही व्यक्तिबाट नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रणका लागि प्रहरीले विभिन्न क्षेत्रमा नियमित निगरानी तथा गस्ती बढाउँदै आएको छ। पक्राउ परेकामाथि सम्बन्धित कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ।







