काठमाडौँ । कोशी प्रदेश प्रहरी कार्यालयले झापाको इलाका प्रहरी कार्यालय दमकमा कार्यरत डिएसपी किशोर लम्साललाई फागुन महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरेको छ।
प्रहरीका अनुसार संवेदनशील मानिएको झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन लम्सालले प्रभावकारी भूमिका निर्वाह गरेका थिए। उक्त क्षेत्रमा प्रमुख प्रतिस्पर्धीका रूपमा रहेका हेभिवेट उम्मेदवारहरूबीच कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्थापन सफलतापूर्वक सञ्चालन गरिएको उल्लेख गरिएको छ।
त्यसैगरी, जेन जेड आन्दोलनका क्रममा दमकस्थित प्रहरी कार्यालयबाट हराइएका हतियार पुनः बरामद गर्नुका साथै हिरासतबाट फरार भएका प्रतिवादीहरूलाई नियन्त्रणमा लिई कानुनी कारबाही अघि बढाइएको कार्यलाई पनि मूल्यांकनमा समेटिएको छ। लम्सालको नेतृत्वमा उक्त आन्दोलनका क्रममा लुटिएको एक थान राइफल फेला पारिएको तथा विभिन्न स्थानबाट १९ जना फरार प्रतिवादी पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
फागुन महिनामा दमक क्षेत्रमा जेन जेड आन्दोलनसँग सम्बन्धित १० सहित कुल ३५ वटा मुद्दा दर्ता भएका थिए। साथै, सो अवधिमा ध्वनि प्रदूषण नियन्त्रणका क्रममा २१७ वटा मोटरसाइकलमाथि कारबाही गरिएको र विभिन्न अभियोगमा २२ जना फरार व्यक्तिहरू पक्राउ गरिएको विवरण पनि सार्वजनिक गरिएको छ।
आन्दोलनका कारण क्षति पुगेको इलाका प्रहरी कार्यालय दमकको पुन:स्थापना तथा मर्मतसम्भारमा पनि लम्सालको सक्रियता देखिएको प्रहरीले जनाएको छ। स्थानीय तह, संघसंस्था र बासिन्दाको सहकार्यमा भवन मर्मत, आवश्यक फर्निचर तथा विद्युतीय सामग्री व्यवस्थापन र नष्ट भएका मुद्दाका कागजात पुन:निर्माणमा समन्वयकारी भूमिका निर्वाह गरिएको बताइएको छ।
उपलब्धि, नेतृत्व क्षमता र कर्तव्यनिष्ठ कार्यसम्पादनका आधारमा लम्साललाई उक्त सम्मान प्रदान गरिएको जनाइएको छ।







