काठमाडौँ । बाँके क्षेत्र नं. ३ का प्रतिनिधि सभा उम्मेदवार खगेन्द्र सुनारबाट सार्वजनिक रूपमा व्यक्त अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गम्भीर चासो व्यक्त गर्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।
राष्ट्रिय जनावर गाईसँग सम्बन्धित टिप्पणी विवादमा परेपछि पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त विषयमा पार्टीको ध्यानाकर्षण भएको जनाएका हुन्। विज्ञप्तिमा सुनार पार्टीमा आबद्ध हुनु अघि व्यक्त विचारका कारण समाजमा उत्पन्न अन्योल तथा धार्मिक-सांस्कृतिक भावनामा परेको असरप्रति पार्टीको तर्फबाट क्षमायाचना गरिसकिएको उल्लेख छ।
पार्टीका अनुसार उम्मेदवार सुनारले आफू शाकाहारी रहेको, कुनै पनि पशु-पंक्षीको हत्या समर्थन नगर्ने र राष्ट्रिय जनावरप्रति पूर्ण सम्मान रहेको कुरा सार्वजनिक रूपमा स्पष्ट गरिसकेका छन्। सामाजिक सञ्जालमा प्रसारित केही सामग्री सन्दर्भविहीन रूपमा प्रस्तुत भएकाले भ्रम सिर्जना भएको भए पनि त्यसबाट चोट पुगेका भावनाप्रति उनले आत्मालोचना गर्दै माफी मागेको विज्ञप्तिमा जनाइएको छ।
महामन्त्री बुर्लाकोटीका अनुसार पार्टीले उक्त घटनापछि सुनारलाई भविष्यमा अभिव्यक्ति र व्यवहारमा थप जिम्मेवार, संयमित र सार्वजनिक मर्यादा अनुरूप रहने विषयमा सचेत गराएको छ। पार्टीको आन्तरिक मूल्यांकनमा सुनारको आशय नै धर्म, संस्कृति वा राष्ट्रिय प्रतीकको अपमान गर्ने नभएको निष्कर्ष निकालिएको पनि विज्ञप्तिमा उल्लेख छ।
रास्वपाले आफ्नो विधान र प्रस्तावनाले नेपालको ऐतिहासिक पृष्ठभूमि, सनातन परम्परा तथा धार्मिक–सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मानलाई मूल आधार मानेको स्पष्ट पारेको छ। साथै, देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणप्रति पार्टी सदैव प्रतिबद्ध रहेको जनाएको छ।
विज्ञप्तिमा रास्वपा कुनै पनि किसिमका उत्तेजनात्मक गतिविधि वा सामाजिक सद्भाव कमजोर बनाउने कार्यको पक्षमा नरहेको स्पष्ट गरिएको छ। पार्टीका उम्मेदवारहरू निर्वाचन जित्ने उद्देश्यमा मात्र सीमित नरही भावी संसद्मा मर्यादित, संयमित र विधि-विधानको सम्मान गर्ने नेतृत्व प्रदान गर्ने विश्वास पनि व्यक्त गरिएको छ।
रास्वपाले विधिको शासन, सामाजिक न्याय तथा धार्मिक र सामाजिक सद्भाव कायम राख्दै समावेशी समाज निर्माणको अभियानमा निरन्तर अडिग रहने प्रतिबद्धता दोहोर्याएको छ।








