काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज राति तराई क्षेत्रका केही भू-भागमा हुस्सु देखिन सक्ने जनाएको छ। महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदलीको अवस्था रहनेछ भने अन्य स्थानहरूमा मौसम सामान्यतया खुला रहने अपेक्षा गरिएको छ।
उच्च पहाडी र हिमाली भेगका कोशी तथा गण्डकी प्रदेशअन्तर्गतका सीमित स्थानमा हल्का हिमपात वा फाटफुट वर्षा हुन सक्ने सम्भावना रहेको जनाइएको छ।
यस्तै, भोलि दिउँसो पनि तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने पूर्वानुमान गरिएको छ। देशका अधिकांश भू-भागमा आंशिक बदलीको अवस्था रहने महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा पुनः हल्का हिमपात वा वर्षा हुन सक्ने सम्भावना कायमै रहेको छ। मौसमसम्बन्धी अद्यावधिक जानकारीअनुसार आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।







