ढुक्कले हिँड्नलाई पहिले हिँड्ने बाटो तयार हुनुपर्छ । बुढानीलकण्ठ नगरपालिका यही मन्त्रसहित पूर्वाधार निर्माणमा जुटेको छ जहाँ भौतिक पूर्वाधार मात्र नभई स्थानीय सरकारको सेवाप्रवाह चुस्त बनाउने सामाजिक तथा अरु पूर्वाधार पनि तयार भइरहेका छन् ।
काठमाडौँ । कतै अनकन्टार जस्तै लाग्ने पहाडी भू–भाग, कतै खोला र नदीले कटान गरेका जोखिमपूर्ण बस्ती । अनि बनजंगल र बन्यजन्तुले समेत दु:ख दिने ठाउँ । केही वर्ष अघिसम्म काठमाडौँ उपत्यकाभित्रकै बुढानीलकण्ठ नगरपालिकाको अवस्था यस्तै थियो । चिल्ला सडक र त्यसमा गुड्ने सुविधायुक्त यातायात चढ्ने चाहना त यहाँका बासिन्दाको थियो तर त्यो सहज थिएन । किनभने त्यस्ता सडक पूर्वाधार बनेकै थिएनन् ।
बुढानीलकण्ठलाई साँच्चिकै शहर जस्तो अनुभूति हुने नगरपालिका बनाउन पूर्वाधार नै पहिलो शर्त हो भन्ने बुझेर बुढानीलकण्ठ नगरपालिका यसमै जुट्यो । परिणाम, अनकन्टार पहाडी भूगोल रहेको र कठिन भू–भाग धेरै भएको प्रतिकुलताका बाबजुद पनि यो नगरपालिका पूर्वाधार विकासको दृष्टिले काठमाडौँ उपत्यकाभित्रको सबैभन्दा गतिशील क्षेत्रहरूमध्ये एक बन्न थालेको छ ।
जस्तो, केही वर्षयता नगरपालिकाले सडक, पुल, ढल, खानेपानी सुविधा, सार्वजनिक भवन, शिक्षा र स्वास्थ्यका क्षेत्रमा पूर्वाधारका लागि उल्लेखनीय लगानी गरेपछि त्यसको नतिजा देखिन थालेको छ । यसले नगरपालिकाको भौतिक स्वरूप त फेरेकै छ, नगरबासीको जीवनस्तर, आर्थिक गतिविधि र सामाजिक पहुँचमा समेत ठूलो बदलाब ल्याइरहेको छ ।
अहिले बुढानीलकण्ठ नगरपालिकाभित्र बस्ती विकास–बिस्तारको गति असाध्यै तीब्र बनेको अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले त्यसमा पूर्वाधार निर्माणको सन्तुलन मिलाउने प्रयास गरिरहेको छ । सडक लगायतका कैयौँ पूर्वाधार विकासका आयोजना धमाधम सम्पन्न भइरहेका छन्, कतिपय ठूला पूर्वाधारका आयोजना निर्माण हुने क्रममा छन् । नगरपालिकाले भौतिक संरचना निर्माणमा मात्र सीमित नरहेर कृषि, उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य र पर्यटन लगायतका क्षेत्रमा पनि सकेसम्म गुणस्तर कायम भएका र विपद्–प्रतिरोधी पूर्वाधार निर्माणमा जोड दिएको छ ।
त्यसको एउटा उदाहरण खानेपानी पूर्वाधार हो । नगरपालिकाभित्र परम्परागत कुवा, धारा र पँधेरा अझै जीवित छन् । शिबपुरी पहाड र राष्ट्रिय निकुञ्जका स्रोतहरूले नगरबासीलाइ स्वच्छ पिउने पानी र सिँचाइका लागि अतुलनीय योगदान दिएकै छन् । तर शहरीकरणसँगै पानीको माग पनि ह्वात्तै बढेको छ । यही अवस्थालाई ध्यानमा राखेर सतही स्रोतका अतिरिक्त भू–गर्भीय जलभण्डार पनि प्रयोगमा ल्याउन थालिएको छ । चपली–भद्रकाली र कपन जस्ता क्षेत्रमा खानेपानीको अभाव चुनौतीपूर्ण छ । तर अरु धेरै ठाउँमा नगरपालिकाको पहलले पानीको आपूर्ति क्रमश: सहज बनाउँदै लगेको छ । नगरपालिकाले नयाँ पानीका स्रोतहरूको पहिचान गर्दै मेलम्ची खानेपानी आयोजनासँग सहकार्यका माध्यमबाट स्थायी समाधानको तयारी पनि गरिरहेको छ ।
सडक र ढल व्यवस्थापनको गति
बुढानीलकण्ठ नगरपालिकाका १३ वटै वडा कार्यालयलाई जोड्ने ६ देखि ८ मिटर चौडा सडकलाई पक्की बनाउने काम लगभग पूरा भएको छ । बाँसवारी–बुढानीलकण्ठ जोड्ने मूल सडकबाट धोबीखोला पार हुँदै चुनिखेल–कपन जोड्ने सडक कालोपत्रे भएका छन् । त्यस्तै, साँघुरा सडकहरूलाई बिस्तार गरेर व्यवस्थित र फराकिला बनाइएको छ । वडा नम्बर २ को पञ्चकन्या मार्ग तारेभीर जंगलसम्म ८ मिटर चौडा सडकमा कालोपत्र गरिएको छ । त्यसैगरी, चपली–चुनिखेल–सापाटार हुँदै जगडोल जाने सडक, गणेश माध्यमि विद्यालय हुँदै चुनिखेल पुग्ने सडक र मानबहादुर मार्ग–धोबीखोला करिडोर हुँदै कपन जोड्ने सडकहरू पनि निर्माण सम्पन्न भएका छन् ।
मण्डिखाटारदेखि वरफेदीसम्मको करिडोर सडक बिस्तार गरी फराकिलो बनाइएको छ । एकतर्फी जस्तो मात्र रहेको कुमारी मार्गदेखि धोबीखोला–कपन सडक फराकिलो बनाएर हाल दुईतर्फी सवारीसाधन सञ्चालन हुने बनाइएको छ । धोबीखोला करिडोरको भद्रकाली मन्दिरसम्म करिब ३.५ किलोमिटर सडक कालोपत्र गरिनुका साथै दुबैतर्फ हरियाली कायम गर्न बोटबिरुवा समेत रोपिएको छ ।
महांकाल–फैका–लसुनटार–चुनिखेल–चपली–बुढानीलकण्ठसम्मको करिब ७ किलोमिटर लामो सडकका अधिकांश खण्ड पूरा भएका छन् भने बाँकी भागमा पनि निर्माण कार्य जारी छ । नगरपालिकाभित्र अरु भन्दा ओझेलमा परेको मानिने वडा नम्बर ११ को जगडोल–सापाटार–कौडोल–गाम्चा सडक पूरा भएपछि सो क्षेत्रमा विकासको ढोका खुलेको छ । यो मार्गले स्थानीय आवागमन र पर्यटकलाई आकर्षण दुबैमा सहयोग पुर्याएको छ ।
बुढानीलकण्ठ (नारायणथान) मन्दिरबाट मुहान पोखरीसम्म करिब तीन किलोमिटर सडक कालोपत्र गरिएको छ । चपली घुम्ती–पासीकोट–लुडेखोला सडक, गणेश मावि–लुडेखोला सडक, हात्तीगौँडा–खड्कागाउँ–विष्णुमती सडक, गोल्फुटार–हेपाली–च्यासिन्डोल मार्ग, न्यूरो अस्पताल–धापासी प्रवेशमार्ग लगायतका सडकहरू फराकिला र पक्की बनाइएका छन् ।
हेपाली–खड्कागाउँ हुँदै लुडेखोला जोड्ने करिब तीन किलोमिटर लामो नमूना सडक पनि पक्की बनाइएको छ जसले गर्दा बस्तीहरुबीचको आवागमन धेरै सहज भएको छ । गोल्फुटार, मण्डिखाटार, लसुनटार, चुनिखेल, चण्डेश्वरी, टोखा, चपली र बुढानीलकण्ठलाई जोड्ने चक्रपथ र शाखा सडकहरू पनि निर्माण सम्पन्न भएका छन् । नगरपालिकाको उत्तर–दक्षिण भू–भाग जोड्ने साप्रेढुङ्गा (वडा नम्बर ८, सुन्दरबस्ती) हुँदै विद्युत् टावरमार्ग–भंगाल सबस्टेशनसम्मको ८ मिटर चौडा सडक पनि हालसालै निर्माण सम्पन्न भएको छ ।
सडक मात्र होइन, ढल निर्माणमा पनि त्यसैगरी द्रूत गतिमा काम भइरहेको छ । कपन–जगडोल हुँदै साततले–धोबीखोला क्षेत्रका खोल्सीमा ढल निर्माण गरिएको छ । तर बाक्लो बस्तीका कारण डुवानको समस्या समाधान नभएकाले सो क्षेत्रमा बक्स कल्भर्ट निर्माणका लागि बजेट विनियोजन गरी काम भइरहेको नगरपालिकाले जानकारी दिएको छ ।
यी त्यस्ता निर्माणक काम हुन् जसले बुढानीलकण्ठ नगरपालिकालाई भौतिक पूर्वाधारका दृष्टिले काठमाडौँ उपत्यकाकै अग्रणी नगर बनाउने आधार तयार पारिरहेका छन् । पहाडी भूगोललाई कहिल्यै अभिशाप नठानेको, बरु त्यसैलाई अवसर बनाएर सडक, पानी, पुल र सार्वजनिक संरचनामा पालिकाले गति ल्याएको प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला बताउँछन् । “त्यो केवल कंक्रिटको कुरा होइन । यो त यहाँका नागरिकको दैनिकीलाई सहज बनाउने, बजारसम्म पुग्ने समय घटाउने र छोराछोरीलाई स्कूल पुर्याउन सजिलो पार्ने कुरा पनि हो,” उनले भने । हरेक नयाँ सडक, हरेक नयाँ पुल र हरेक पाइपलाइनले यहाँका बासिन्दाको समय मात्र होइन, सपना पनि बचत गरिरहेको र यो नगरप्रमुखसहितका जनप्रतिनिधिलगायतको टिमवर्कको परिणाम भएको उनको भनाइ छ ।
बहुआयामिक परियोजनाहरु
बुढानीलकण्ठ नगरपालिकामा चलिरहेका विभिन्न पूर्वाधार आयोजना बहुआयामिक प्रकृतिका छन् जसको निर्माण तीब्र गतिमा भइरहेको छ । वडा नम्बर २ स्थित भद्रकाली मन्दिरछेउ, धोबीखोला करिडोरमा करिब ५ रोपनी क्षेत्रफलमा कृषि मन्त्रालय र नगरपालिकाको सहकार्यमा नगरस्तरीय तरकारी बजार निर्माण भइरहेको छ । यो पूर्वाधार नगरपालिकाले करिब १० करोड लागतमा निर्माण गर्दै छ । अहिलेसम्म यसको झण्डै ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
नगरकै महत्वपूर्ण परियोजनामा पर्छ– कपन ह्याण्डबल खेलमैदान । करिब १२ करोड लगानीमा यो खेलमैदानको निर्माण कार्य पूरा भएको छ । त्यस्तै, धोबीखोला संरक्षण तथा पहिरो नियन्त्रणका कार्य पनि निरन्तर जारी छन् । बिगत १० वर्षदेखि नदी कटान र गल्छी रोकथामका लागि विभिन्न स्थानमा चेक–ड्याम र किनारा पक्कीकरणको काम हुँदै आएको छ । यो कार्यमा नौलीन भद्रकालीदेखि उत्तरतर्फ मात्रै करिब ५ करोडभन्दा बढी लगानी भइसकेको छ । वडा नम्बर २ मा रहेको रुद्रेश्वर मन्दिर क्षेत्रको पहिरो रोकथामका लागि टेवा पर्खाल निर्माण गरिएको र किरियापुत्री भवनसहित रुद्रेश्वर धामका संरचना व्यवस्थित बनाइएको नगरपालिकाले जानकारी दिएको छ ।
नगर गौरवको रूपमा निर्माण भएको बुढानीलकण्ठ नगर अस्पतालको भवन निर्माण सम्पन्न भइसकेको छ । अहिले त्यहाँ २४ घण्टे ओपीडी सेवा सञ्चालनमा रहेको छ । यसबाट गरिब तथा विपन्न नागरिकका लागि प्रारम्भिक उपचार सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।
विष्णुमती नदीमा मिसिने मुख्य सहायक नदी लुडेखोलाको दुवै किनारामा पर्खाल निर्माणसँगै करिडोर निर्माणको शुरुआत गरिएको छ । वडा नम्बर ८, च्यानेखोलामा भने सडक तथा डुबान समस्याको स्थायी समाधानका लागि करिब १३ करोड लागतमा कल्भर्टसहितको सडक निर्माण सम्पन्न भएको छ ।
नगरपालिकाको शहरी विकास तथा पूर्वाधार महाशाखाकी सहायक इन्जिनियर सरिता थपलियाले वडा नम्बर ११ मा तामाङ सामुदायिक भवन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको बताइन् । त्यस्तै, १३ वटै वडा कार्यालय भवनहरू बनिसकेको र पालिकाभरका धेरैजसो सरकारी कार्यालयहरूले आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको उनको भनाई छ । थपलियाका अनुसार नगरभित्र बनिरहेका सबै सडक ढल निकासको व्यवस्थासहित निर्माण भइरहेका छन् । कतिसम्म भने, भूमिगत पूर्वाधार निर्माण सम्पन्न नभएसम्म ती सडकहरु कालोपत्र नगर्ने नीति अपनाइएको छ जसले सडक बन्दानबन्दै भत्काएर लथालिंग पार्ने समस्या आउन दिने छैन ।
नगरपालिकाले अहिले आफ्नो वार्षिक बजेटमध्ये करिब ६० प्रतिशत सडक, ढल तथा भवन जस्ता पूर्वाधारमा खर्च गरिरहेको छ । पर्यटन प्रवद्र्धनको लक्ष्यसहित बुढानीलकण्ठ–चिसेनी क्षेत्रमा पैदल सिँढी तथा मैत्रेय गुम्बासम्म जोडिने सडक ढलान कार्य सम्पन्न भएको छ । डाँडागाउँ–टुसालदेखि विष्णुमती–चिसेनी–मुहानपोखरी–सिमालीगाउँ–तौलुङ–नारायणडाँडा हुँदै जगडोलसम्म साइक्लिङ तथा पदमार्ग सर्किट निर्माणको काम निरन्तर जारी रहेको नगरपालिकाले जनाएको छ ।
बजेटका प्राथमिकता: पर्यटन, पूर्वाधार र सुशासन
बूढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ४४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । ‘स्वच्छ, शान्त, समृद्ध, पर्यटकीय नगर बूढानीलकण्ठ’ नारा दिएर नगरपालिकाकी उपप्रमुख अनिता लामाले नगरसभाको छैटौँ अधिवेशनको तेस्रो बैठकमा यो बजेट प्रस्तुत गरेकी थिइन् । बजेटले गुणस्तरीय स्वास्थ्य, शिक्षा, दिगो पूर्वाधार, पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण र सुशासनलाई प्राथमिकता दिएको छ ।
बजेटले सामाजिक, आर्थिक र भौतिक विकासलाई केन्द्रमा राखेर नगरवासीको अपेक्षा सम्बोधन गर्ने लक्ष्य लिएको छ । यसका प्रमुख उद्देश्यहरूमा गुणस्तरीय स्वास्थ्य र शिक्षा सुनिश्चित गर्ने, सूचना प्रविधिको उपयोग विस्तार गर्ने, दिगो पूर्वाधार निर्माण गर्ने, सांस्कृतिक सम्पदा संरक्षण र प्रवद्र्धन गर्ने, कृषि र पशुपालनको व्यवसायीकरण गर्ने, उद्यमशीलता र स्वरोजगारी सिर्जना गर्ने रहेका छन् । त्यस्तै, बजेट प्रणालीमा सुधारमार्फत सार्वजनिक खर्चको प्रभावकारिता वृद्धि गर्ने उद्देश्यमेत राखिएको छ । बजेटले स्वास्थ्य, शिक्षा, पूर्वाधार, वातावरण संरक्षण, पर्यटन, स्वच्छ पानी, सार्वजनिक जग्गा संरक्षण, सुशासन, सांस्कृतिक संरक्षण, उद्यमशीलता, र समावेशी विकासलगायतलाई प्राथमिकतामा राखेको छ ।
सामाजिक विकास अन्तर्गत स्वास्थ्य र शिक्षामा उल्लेख्य जोड दिइएको छ । स्वास्थ्यतर्फ प्रसूति पोषण भत्ता, स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन, खोप र औषधि आपूर्ति, आयुर्वेदिक चिकित्सा र मनोसामाजिक स्वास्थ्य कार्यक्रमका लागि बजेटमा महत्व दिइएको छ । शिक्षातर्फ सामुदायिक विद्यालयको सुदृढीकरण, विद्यालय स्वास्थ्य शिक्षा र छात्रवृत्ति कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।
भौतिक पूर्वाधार विकासमा सडक, ढल र खानेपानी व्यवस्थापनका लागि ३२ करोड ५० लाख र बहुवर्षीय आयोजनाका लागि १२ करोड ५० लाख विनियोजन गरिएको छ । ‘उज्यालो नगर’ कार्यक्रमअन्तर्गत सडक बत्ती जडान, पोल स्थानान्तरण र महसुल भुक्तानीका लागि २ करोड ५० लाख बिनियोजन गरिएको छ । त्यस्तै, ‘सुरक्षित नगर’ कार्यक्रमका लागि सीसीटीभी जडानमा १ करोड र स्वच्छ पिउने पानी प्रत्येक घरमा पुर्याउन ३ करोड विनियोजन गरिएको छ । बसपार्क, खेलमैदान, मन्दिर, सामुदायिक भवन मर्मत, फोहोरमैला व्यवस्थापन संरचना र साइकल मार्ग निर्माणका लागि पनि बजेट व्यवस्था गरिएको छ ।
पर्यटन र उद्यमशीलता प्रवद्र्धनमा बजेटले विशेष ध्यान दिएको छ । पर्यटनतर्फ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग समन्वय, जीप सफारी सम्भाव्यता अध्ययन, सनसेट भ्यू प्वाइन्ट निर्माण र होटल अनुगमनका लागि १ करोड १३ लाख छुट्याइएको छ । उद्यमशीलतातर्फ औद्योगिक ग्राम र इन्क्युबेसन सेन्टर निर्माणका लागि १ करोड तथा उद्यमशीलता विकासका लागि १० लाख विनियोजन गरिएको छ ।
वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनका लागि ४ करोड ४४ लाख विनियोजन गरिएको छ । यसमा नगर सरसफाइ, फोहोरमैला व्यवस्थापन, हरियाली प्रवद्र्धन, जैविक विविधता अध्ययन र जलवायु परिवर्तन सम्बन्धी कार्यक्रम समेटिएका छन् । रोजगारी र श्रम क्षेत्रमा रोजगार सेवा केन्द्र सञ्चालन, व्यावसायिक तालिम, डिजिटल रोजगार मेला र श्रमिक दर्ताका लागि २५ लाख बजेट बिनियोजन गरिएको छ । साथै श्रम डेस्क सशक्तीकरण, परम्परागत सीप संरक्षण र श्रम अनुगमनका लागि ४० लाख छुट्याइएको छ ।
विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बाढी, पहिरो, आगलागी र महामारी नियन्त्रणका लागि कोष स्थापना, सामग्री भण्डारण र तालिमका लागि १ करोड विनियोजन गरिएको छ । सुशासन र प्रशासनतर्फ कर्मचारी पारिश्रमिक, तालिम, डिजिटल सेवा विस्तार, फाइल ट्रयाकिङ, अनलाइन सिफारिस र नगर प्रहरीका लागि सामग्री खरिदसहित ४० करोड १० लाख बिनियोजन गरिएको छ । त्यस्तै, सूचना प्रविधि र सञ्चारका लागि २ करोड ५० लाख र न्यायिक समिति तथा मेलमिलाप केन्द्र सञ्चालनका लागि ५० लाख विनियोजन गरिएको छ ।
वडा कार्यालयहरूका लागि प्रत्येक वडालाई ३ करोडका दरले ३९ करोड विनियोजन गरिएको छ । यसमा पूर्वाधार, खानेपानी, सरसफाइ, सामाजिक र आर्थिक विकासका कार्यक्रम समावेश छन् ।
बजेट बिनियोजन मात्र होइन, त्यसको कार्यान्वयनमा सुधारका लागि ठूला आयोजनालाई प्राथमिकता दिइएको छ । ती आयोजनाको पहिलो चौमासिकमा ठेक्का व्यवस्थापन, अनुगमन सुदृढीकरण, उपभोक्ता समितिको क्षमता विकास, साना आयोजनाको जिम्मेवारी हस्तान्तरण रोक्ने, प्राविधिक प्रयोगशाला स्थापना र परियोजना बैंक कार्यान्वयन जस्ता प्रस्ताव गरिएको छ । नगरपालिकाले चालु खर्चमा मितव्ययिता र प्रशासनिक संरचना छरितो बनाउने नीति पनि अवलम्बन गरेको छ । ‘स्मार्ट सिटी’को अवधारणालाई आत्मसात् गर्दै नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार र पर्यटनमा लगानी वृद्धि गरेको छ ।
पूर्वाधारसँगै भित्रिएको खुसी
नगरपालिकाले भौतिक तथा सामाजिक पूर्वाधार विकासमा गरिरहेका कामले स्थानीय अर्थतन्त्रको पुनरोत्थान लगायतका कुरामा सकारात्मक प्रभाव पार्न थालेको छ । जस्तो, बजारमा व्यापार वृद्धि हुन थालेको छ, किसानको उत्पादन बजारमा सजिलै पुर्याउने सम्भावना सहज बनेको छ । अनि पर्यटन विकास र श्रम बजार बिस्तार हुन थालेको छ । नगरपालिकाभित्र यस्ता गतिविधि प्रष्ट अनुभव गर्न सकिन्छ । यसबाट खुसी देखिएका वडा नम्बर ५ का एक किसान भन्छन्, “पहिले धेरै दु:ख गरी उत्पादन गरेका तरकारी र फलफूल बजारसम्म पुर्याउन दिनभर लाग्थ्यो । अब भरपर्दा सडक र पुल राम्रो बनेकाले सवारी सजिलै गुडाउन सकिन्छ । अहिले उत्पादन बृद्धि भएको छ, त्यसलाई समयमै बजार पुर्याउन सक्दा आय पनि बढेको छ । पालिकाले गरेको विकासले हाम्रो जीवन सहज बनाएको छ ।”
स्थानीय युवाहरूको रोजगारीमा पनि सुधार देखिन थालेको छ । सडक, पुल, पानी र भवन निर्माणमा आवश्यक पर्ने श्रमिक, इन्जिनियर, प्राविधिक र प्रशासनिक कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
नगरभित्रका बासिन्दा पालिकाले कामबाट ल्याएको परिवर्तनका साक्षी हुन् । तिनैमध्ये वडा नम्बर ३ की एक महिलाले भनिन्, “पहिले बजार हिँड्दा दिन बित्थ्यो । अहिले नयाँ सडकले समय बचाउँछ । सामान ढुवानी गर्न पनि सजिलो भयो, छोराछोरीलाई स्कूल जान आउन पनि सहज भएको छ ।”
यसले समग्रमा सामाजिक पहुँच नै सहज बनाएको छ । स्वास्थ्य सेवा, शिक्षा, सञ्चार र बजारको पहुँचले नगरका सबैजसो वडालाई केन्द्रीय शहरसँग जोडिएको महसुस गराएको छ । पालिकाको पूर्वाधार बिकासले यहाँका स्थानीय धेरै नै सन्तुष्ट भएको सहायक इन्जिनियर सरिता थपलिया बताउँछिन् ।
चुनौती र सुधारका प्रयास
पूर्वाधार विकासमा बुढानीलकण्ठ नगरपालिकाले गरिरहेका प्रयास चुनौतीरहित भने छैनन् । अहिले बनेका पूर्वाधारलाई यही अवस्थामा जोगाइराख्ने चुनौती छँदैछ । सँगसँगै ती पूर्वाधारको गुणस्तर कायम गर्नु, निरन्तर निगरानी गर्नु, तिनबाट पर्नसक्ने वातावरणीय प्रभावलाई न्यूनीकरण गर्नु, यसमा संलग्न हुने निर्माण व्यवसायीको व्यवस्थापन गर्नु पनि उत्तिकै चुनौती चुनौती छ । त्यसमाथि भइरहेका काम सम्पन्न गर्ने मुख्य चुनौती पनि छ ।
यी चुनौतीहरुलाई मध्यनजर गरेर नगरपालिकाले स्मार्ट सुपरभिजन प्रणाली स्थापना गरेको छ । त्यसका लागि नियमित अनुगमन समिति र स्थानीय सरोकारवालाको सहभागिता सुनिश्चित गर्दै यी चुनौतीहरूको समाधान पनि खोजिरहेको छ ।
पूर्वाधार निर्माणबाट पर्ने सम्भावित पर्यावरणीय असरलाई ध्यानमा राखेर सडक निर्माणमा सम्भावित पहिरोको जोखिम, नदी संरक्षण र हरियाली क्षेत्रको संरक्षणका उपाय अपनाइएको छ । निर्माण व्यवसायीको व्यवस्थापनका लागि काममा पारदर्शिता कायम गर्न वार्षिक मूल्याङ्कन र सामाजिक उत्तरदायित्व परियोजना लागू गरिएको छ ।
स्वास्थ्य चौकीहरूको स्तरोन्नती, विद्यालय भवन निर्माण/मर्मत तथा डिजिटल सामग्री आपूर्तिले सेवा संरचनामा सकारात्मक प्रभाव पारे पनि दक्ष जनशक्ति तथा गुणस्तरीय सेवालाई सुनिश्चित गर्ने व्यवस्थापन पक्ष भने कमजोर रहेको नगरपालिका स्वयंको मूल्यांकन छ । भौतिक संरचना बिस्तार भए पनि मानवस्रोत अभावले सेवाको प्रभावकारिता बढ्न सकेको छैन ।
सामुदायिक भवन, सभाहल, खुला स्थान र पार्क निर्माणले सामाजिक गतिविधिमा सहयोग पुगेको छ । तर केही संरचना संरक्षणको अभाव तथा अल्पप्रयोगका कारण प्रभावकारी उपयोग हुन नसकेको पाइएको छ । यति हुँदाहुँदै पनि सार्वजनिक खुला पार्कहरूमा खुला जिमका लागि व्यायाम सामग्री जडान गरिएको र ठूला पार्कहरूमा थप सामग्री स्थापना गर्न बजेट छुट्याइएको छ ।
नगरपालिका क्षेत्रमा आवश्यकताअनुसार विभिन्न पुल तथा कल्भर्ट निर्माण सम्पन्न भएको सहायक इन्जिनियर सरिता थपलिया बताउँछिन् । उनका अनुसार करिब २० वटा मन्दिर पुनर्निर्माण तथा परिसर सुधार कार्य सम्पन्न गरिएको छ । बुढानीलकण्ठ मन्दिर, भद्रकाली, रुद्रेश्वर, पञ्चकन्या, बंगलामुखी, चुनदेवी, विन्दवासिनी, सिद्धेश्वर–राम, कुमारी, आकासदेवी, मनकामना लगायतका मन्दिरमा नयाँ निर्माण तथा परिसर व्यवस्थित गर्ने काम सम्पन्न भएका छन् । स्थानीय मठ–मन्दिर तथा पुरातात्विक सम्पदाको संरक्षण, प्रवद्र्धन र विकासका लागि छुट्टै बजेट व्यवस्थापन गरिएको छ ।
खानेपानी भण्डारणका लागि विभिन्न वडाहरुमा ट्यांकी निर्माण भएका छन् । महिला भवन, सामुदायिक भवन, किरियापुत्री भवनसहित विविध संरचना निर्माण भएका छन् । नगरभित्रका पार्क तथा सार्वजनिक खुला क्षेत्र क्रमश: व्यवस्थित भइरहेको र केही स्थानमा निर्माण तथा सुधार कार्य जारी रहेको नगरपालिकाले जनाएको छ ।
निष्कर्ष
बुढानीलकण्ठ नगरपालिकाले गरिरहेको पूर्वाधार विकास सडक, पुल वा खानेपानीका परियोजनामात्र सीमित छैन; बरु नगरवासीको जीवनस्तर उकास्ने निरन्तर अभियानका रुपमा अघि बढेको छ । स्थानीय अर्थतन्त्र, सामाजिक पहुँच र दैनिक जीवनमा यसले पारिरहेको सकारात्मक प्रभावले नगरको रूप, कार्यशैली र गतिशीलता सबै परिवर्तन भएको प्रत्यक्ष अनुभूति गर्न सकिन्छ ।
जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दाको साझा प्रयासले यस्ता पूर्वाधार र सेवामा पहुँच सहज मात्र बनाएको छैन, बरु नगरलाई स्थायी विकासको लक्ष्यतर्फ नै अघि बढाइरहेको छ । सडकमा हिँड्डुल र आवागमन सहज भएको छ । पुल जस्ता संरचनाले विद्यालय र बजारसम्म पुग्ने समय नै बचत गरिदिएको छ । यी र यस्ता कुराले बुढानीलकण्ठका बासिन्दालाई उकालो बाटो वा भीरपाखामा पनि विकासको गति रोकिन्न भन्ने विश्वास दिलाएका छन् ।
भौतिक पूर्वाधार विस्तारसँगै समुदायसँगको सहकार्य, पारदर्शिता र दिगोपनलाई सुनिश्चित गर्दै नगरपालिकाले आफूलाई दिगो र समृद्ध नगरका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ । यहीकारण पनि यो नगरपालिका पहाडी क्षेत्रका अन्य स्थानीय तहका लागि एक उदाहरण बन्नथालेको छ ।
बुढानीलकण्ठमा बनाइएका प्रत्येक नयाँ सडक, पुल, पाइपलाइन र भवन विकासले उकालो उकालो बाटोमा अघि बढिरहेको विकास यात्राको संकेत गर्छन् । “हाम्रो लक्ष्य सिमेन्ट र इँटाको शहर बनाउने होइन, दिगो, समावेशी र सबैको पहुँच भएको समृद्ध बुढानीलकण्ठ बनाउने हो,” प्रमुख प्रशासकीय अधिकृत बर्तौता भन्छन्, “हामीले जति पनि सडक, पार्क, अस्पताल र खेलमैदान बनाएका छौँ, ती सबै नागरिकको जीवनस्तर उकास्ने सिँढी हुन् ।”
पूर्वाधार निर्माणसँगै सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा आएको परिवर्तनले बुढानीलकण्ठको विकास यात्रा अझ सशक्त बनेको देखाउँछ । दिगो योजना, पारदर्शी नीति, प्राविधिक क्षमताको उच्चतम उपयोग र नगरबासीको सक्रिय सहभागीताले यो नगरलाई पहाडी भूभागमा हुने विकासको नमुनाका रुपमा स्थापित गर्दैछ । जसले स्थानीय अर्थतन्त्र, शिक्षा, स्वास्थ्य र रोजगारीमा सकारात्मक प्रभाव पारेको छ ।







