काठमाडौँ । डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची सिमेन्टले दर्ता गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
आफूमाथि अन्याय भएको भन्दै कम्पनीले सर्वोच्च गुहारेको थियो । महसुल विवादका कारण विद्युत् प्राधिकरणले उद्योगमा लाइन (विद्युत्) काटेको थियो । लाइन काटिँदा उद्योग बन्द गर्नुपर्ने अवस्था भएको भन्दै सर्वोच्चमा रिट दायर गरिएको थियो ।
उक्त रिटमा मंगलबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजालसले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले कात्तिक ३० गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
अर्घाखाँची सिमेन्टको ४४ करोड रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी रहेको भन्दै प्राधिकरणले लाइन काटेको थियो । विद्युत् बन्द भएपछि उद्योगको उत्पादन ठप्प छ ।







