काठमाडौँ। अध्यागमन विभागले अबदेखि पदयात्रा अनुमति प्रदान गर्ने सम्पूर्ण प्रक्रिया अनलाइन प्रणालीमार्फत मात्र सञ्चालन गर्ने निर्णय गरेको छ। विभागले यससम्बन्धी सूचना जारी गर्दै सबै दर्ता भएका ट्रेकिङ एजेन्सीहरूलाई नयाँ प्रणालीअनुसार काम गर्न निर्देशन दिएको हो।
विभागका अनुसार, पहिले कार्यालयमा प्रत्यक्ष उपस्थित भई अनुमति लिने प्रथा अब अन्त्य गरिएको छ। पदयात्रा अनुमति पाउने प्रक्रिया पूर्णरूपमा डिजिटल प्लेटफर्ममा रूपान्तरण गरिएको हो, जसले समय, श्रम र प्रशासनिक झन्झट घटाउने विभागको दाबी छ।
सूचनामा भनिएको छ, ‘अनलाइन प्रणालीमार्फत आवेदन पठाउँदा केही एजेन्सीहरूले त्रुटिपूर्ण र अपूर्ण विवरण पठाउने गरेका कारण अनुमति प्रक्रियामा ढिलाइ हुने समस्या देखिएको छ। यसलाई रोक्न विभागले सबै एजेंसीहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।’
“अनलाइनमार्फत पठाइएका आवेदनमा तोकिएको समयमा कार्यालयले प्राप्त नगरेमा अनुमति स्वतः अस्वीकृत गरिनेछ ” विभागले स्पष्ट गरेको छ ।
त्यस्तै, आवेदन पठाएपछि सम्बन्धित एजेन्सीहरूले तुरुन्तै विभागलाई ह्वाट्सएप्स वा भाइवर मार्फत सन्देश पठाई आवेदन प्राप्त भएको जानकारी दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ। विभागले भनेको छ, ‘यसरी सन्देश पठाइएपछि मात्र आवेदनको दर्ता सुनिश्चित हुनेछ’
विभागले थप जनाएको छ, ‘यदि कुनै कारणवश आवेदन अस्वीकृत भएमा एजेन्सीहरूले तुरुन्तै जानकारी प्राप्त गर्न सक्नेछन्।ु यसका साथै, अनलाइन प्रणालीमा विवरण पठाउँदा सबै आवश्यक कागजातहरू पूर्ण रूपमा तयार पारेर मात्र अपलोड गर्न विभागले अनुरोध गरेको छ।
अन्त्यमा, अध्यागमन विभागले ट्रेकिङ अनुमति प्रणालीलाई अनलाइनमार्फत सञ्चालन गर्न थालेपछि यो प्रक्रिया छरितो, पारदर्शी र प्रभावकारी हुने अपेक्षा गरिएको छ। यसले सरकारी सेवामा डिजिटल प्रविधिको प्रयोगलाई थप सुदृढ बनाउने विश्वास विभागले व्यक्त गरेको छ।







