काठमाडौं । स्वैच्छिक अवकासको आवेदन फिर्ता लिने मनस्थितिमा हुनुहुन्छ ? त्यसो भए तपाईँका लागि खुसीको खबर छ । सरकारले स्वैच्छिक अवकासका लागि आवेदन दिएका कर्मचारीले चाहेमा आवेदन फिर्ता लिन दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले स्वैच्छिक अवकास लिन आवेदन दिएका कर्मचारीले चाहे फिर्ता लिन दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
यस्तै, बैठकले संघीय संसदमा पेश भएको सरकारको आर्थिक वर्ष २०७५/०७६ नीति तथा कार्यक्रमलाई संसद्बाट सर्वसम्मत रूपमा पारित गराउन सहयोग गर्ने सांसदहरूलाई धन्यवाद दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले प्रसिद्ध साहित्यकार गोपालप्रसाद रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले जानकारी दिए ।
बैठकले नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच श्रम समझदारीपत्रलाई नवीकरण गर्ने निर्णय गरेको छ । यस्तै, श्रम नियमावली २०७५ लाई स्वीकृत गर्ने निर्णय भएको पनि उनले जानकारी दिए ।