काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभाको बैठकमा किसानले मलको हाहाकार झेलिरहेकाले यथाशीघ्र उपलब्ध गराउन सांसदहरुले ध्यानाकर्षण गराएका छन् ।
शून्य समयमा आफ्ना धारणा राख्दै सांसदहरुले रोपाइँको समयमा पनि मल उपलब्ध हुन नसक्दा किसान मारमा परेकाले सो विषयमा सम्बोधन हुनुपर्नेमा जोड दिएका हुन् ।
सांसद भिमप्रसाद आचार्यले भने, “दुःख गरेर बाली लगाएकामा मलको अभाव छ । खडेरीको मारमा थिए किसान अहिले मलको अभाव झेलिरहेका छन् । हरेक वर्ष मल अभाव किन हुन्छ ? समयमा यसको व्यवस्थापन किन गरिँदैन ? यसको सम्बोधन हुनुपर्छ ।”।
सांसद रामहरि खतिवडाले देशभर मलको हाहाकार देखिएकाले समस्या हुन नदिन सरकारको ध्यानाकर्षण गराए। उनले लम्पी स्किन रोगले देशभर बस्तुभाउ मरेर आक्रन्त पारेकाले यसमा पनि ध्यान केन्द्रित हुनुपर्ने बताए ।
सांसद रामकुमार राई, सांसद रामशंकर यादव र सांसद रामकृष्ण यादवले मल अभाव हुन नदिन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए ।
यसैगरी सांसद भानुभक्त जोशीले वर्षायाम सुरुभएसँगै देशका विभिन्न सडकहरू अस्तव्यस्त देखिएकाले दुरदराजका सडकको स्तरोन्नतिको माग गरे ।
सांसद महेशकुमार बर्तौलाले नेपाली महिला फुटबल टिम विश्व फिफा वरियतामा १३औँ स्थानमा उक्लेको उदाहरण दिँदै सरकारले खेलकुद क्षेत्रमा उचित र उपयुक्त वातावरण दिएमा उत्कृष्ट योगदान दिन सक्ने बताए । उनले खेलकुद क्षेत्रलाई विशेष ध्यान दिएर विकास गर्नुपर्ने धारणा राखे।
सांसद महेश बस्नेतले बर्सातको समयमा बाढी पहिरोले पुल बगाउने समस्या भएकाले चाँडो यातायात सञ्चालन गर्न बेलिब्रिज उपयुक्त हुने बताउँदै बेलिब्रिज निर्माण गर्न सक्ने इन्जिनियर उत्पादन गर्नुपर्ने बताए ।
सांसद माधव सापकोटाले तातोपानी र केरुङ नाका तत्काल सञ्चालन गर्नुपर्ने नभए चाडपर्वको बेला महंगीको मार खेप्नुपर्ने सम्भावना रहेको उल्लेख गरे।







