काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले ११ दिनदेखि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालको कार्यकक्षमा धर्ना दिएको छ ।
अखिल क्रान्तिकारी त्रिवि कार्यवाहक अध्यक्ष शिवराज भट्टका अनुसार शुल्क शोषण विरुद्ध धर्ना दिएको हो ।
अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य, लैङ्गिकता सम्बन्धी अध्ययन कार्यक्रमलाई ९ महिना अघि केन्द्रीय विभागमा गाभिएको थियो । तर शुल्क भने पुरानै शैलीमा उठाएकाले घटाउन माग गर्दै विद्यार्थीले धर्ना दिएका हुन् ।
आन्दोलनरत विद्यार्थी संगठनले शिक्षक कर्मचारी र भौतिक संरचनाको व्यवस्थापन गर्न माग गरेको छ ।
विद्यार्थी धर्नाका कारण उपकुलपति अर्याल कार्यकक्षमा गएका छैनन् ।
त्रिवि पदाधिकारीले आफूहरूलाई वार्तामा नबोलाएको उनले बताए ।
दुई दिनभित्र माग सम्बोधन नभए आमरण अनसन बस्ने चेतावनी क्रान्तिकारीले दिएको छ ।







