काठमाडौँ । कुलिङ पिरियडसम्बन्धी त्रुटिको छानबिन गर्न गठित संसदको छानबिन समितिले आज बिहान ९ बजेका लागि तीनजना उच्च तहका कर्मचारीहरूलाई सिंहदरवारस्थित प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बयानका लागि बोलायो। तर, दिउँसो ४ बजेसम्म पनि उनीहरू समितिबाट नफर्किएपछि सिंहदरवारको वातावरण एकाएक सन्नाटामय बन्यो।
बयानका लागि संघीय संसद सचिवालयका सचिव सुरजकुमार दुरा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सहसचिव मिरा आचार्य र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव सुभास कुमार भट्टराईलाई समितिले बोलाएको थियो। ती कर्मचारीहरू बिहानैदेखि समितिको बैठकमा रहेका र बाह्य सम्पर्कमा आउन नसकेको अवस्थामा सिंहदरवारका अन्य कर्मचारीबीच हलचल सुरु भएको थियो।
सिंहदरवारस्थित एक उच्च अधिकारीका अनुसार, “अख्तियारको अनुसन्धानमा पनि यति घण्टासम्म राखिँदैन, समितिमा त अझै लामो समय लगाइएको देखियो।” केही कर्मचारीहरूले यो प्रक्रिया अनावश्यक रूपमा लम्ब्याइएको भन्दै गुनासो गरेको उनको भनाइ छ।
प्रशासन डटकमले समितिका सभापति जीवन परियारसहित अन्य सदस्यहरूसँग सम्पर्क गर्न खोज्दा अधिकांशको फोन नउठेपछि स्थिति अझ अस्पष्ट भयो। यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा समितिका सदस्य गणेश पराजुलीसँग सम्पर्क हुन सकेको थियो।
पराजुलीले बिहान ९ बजेदेखि सुरु भएको समितिको बैठक अहिलेसम्म पनि जारी रहेको जानकारी दिँदै भने, “सम्बन्धित कर्मचारीहरू समितिको हलमै हुनुहुन्छ, संयुक्त रूपमा काम भइरहेकाले बाहिर सम्पर्क हुन नसकेको हो।”
समितिको छलफल लामो भएपछि नियमित प्रशासनिक कार्य प्रभावित भएको र यसले सम्बन्धित कर्मचारीलाई समेत अनावश्यक तनाव दिने अर्का एक सचिवले बताए।
उनका अनुसार, बयानका लागि आवश्यक समय निर्धारण गरेर प्रभावकारी रूपमा सोधपुछ गर्नु उपयुक्त हुने थियो।
नेपाली कांग्रेसका सांसद जीवन परियारको संयोजकत्वमा रहेको समितिमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सदस्य छन्। समितिले कुलिङ पिरियडसम्बन्धी प्रावधानमा देखिएको त्रुटिबारे छानबिन गर्दै केही दिनयता राजनीतिक तथा प्रशासनिक तहका उच्च पदस्थ व्यक्तिहरूलाई बयानका लागि बोलाउँदै आएको छ।







