कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुई हप्ताभित्र ठूलो परिमाणमा अफिम र नक्कली नोट (खोटा मुद्रा) बरामद गरेको छ । यस अवधिमा ३६ किलोग्राम अफिम बरामद गरेको छ ।
यस्तै, असार ३० गते ३० केजी अफिम र रु. १३ लाख नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसको केही दिनपछि साउन २ गते वीरेन्द्रनगर नगरपालिका-८ सुर्खेत कृष्ण मन्दिर नजिक बस्दै आएका दुई जनालाई पक्राउ गरेको थियो ।
स्थानीय २३ वर्षीय विधान शाही र २२ वर्षीय आदित्य घिमिरेलाई पक्राउ गरी उनीहरू बस्दै आएको घरबाट एक थान सेमिअटोमेटिक चाइनिज पेस्तोल, पेस्तोलमा लाग्ने १२ राउन्ड गोली, औषधिजन्य लागुऔषध एक हजार चारसय २६ ट्याब्लेट, विभिन्न आकारका चार थान खुकुरी, दुई थान चक्कु, एक थान कुलाडी, एक थान कैँची, एक थान नाइनस्टिक, आखेटोपहारलगायतका विभिन्न हातहतियार तथा खरखजना बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढाथापाले अपराध नियन्त्रणका लागि यसलाई महत्त्वपूर्ण सफलताका रूपमा लिइएको बताए । आरोपित शाही र घिमिरेविरुद्ध हातहतियार, लागुऔषध र वन्यजन्तु ओखेटोपहार मुद्दामा अनुसन्धान भइरहेको उनले जानकारी दिए। पक्राउ परेका दुई जनामध्येका शाही २०७८ साल भदौ २७ गते ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भई फरार सूचीमा रहेको समेत प्रहरीले जनाएको छ ।
यसैगरी, गत असार ३० गते वीरेन्द्रनगर नगरपालिका-१० सुर्खेत शान्ति टोल सुर्खेतमा कोठा भाडा लिई बस्दै आएकी कुशे गाउँपालिका ५ जाजरकोटका २२ वर्षीय दिलमाया सिंह ठकुरी, उनका दाजु ३३ वर्षीय रामबहादुर सिंह, भेरीगङ्गा नगरपालिका- १२ सुर्खेत ठकुरी टोल बस्दै आएका कुसे गाउँपालिका-७ गमौडीका ३५ वर्षीय कृष्णबहादुर वली र सोही वडाका ३८ वर्षीय प्रेमबहादुर विकलाई प्रहरीले पक्राउ गर्यो । असार ३० गते नै नरहरिनाथ गाउँपालिका-४ कालीकोट स्थायी घर भई हाल बाँके कोहलपुर नगरपालिका-११ न्यूरोडस्थित जनगर्जन मिडिया प्रालि नामक मिडिया सञ्चालन गर्दै आएका मनबहादुर सहकारीलाई पक्राउ गर्न सफल भयो ।
प्रहरीले उनीहरूबाट रु. १३ लाख नक्कली नोट र करिब रु. ९० लाख बराबरको अफिमसहित क्यानन प्रिन्टर, हाइटेक लेखिएको सिपियु, जिलियन टेक लेखिएको मोनिटर, किबोर्ड, माउस, कार्डडिटर, चिप्स मेमोरी र क्यानन क्यामेरासमेत एक एक थान फेला पारेको थियो ।
पक्राउ परेकामाथि लागुऔषध तथा जाली नोट कारोबार उद्योगमा मुद्दा चलाउने गरी अनुसन्धान प्रक्रिया अगाडि बढेको छ । यस्तै, असार २५ गते रु. आठ लाख बराबरको करिब छ किलो अफिम, केही नगद र डिजिटल तराजुसहित जुनीचाँदे गाउँपालिका- १० जाजरकोट सिर्पाका ४६ वर्षीय जयबहादुर बस्नेतलाई पक्राउ गर्यो । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिई गएको प्रहरी टोलीले उनलाई भेरीगङ्गा नगरपालिका १० सुर्खेत छिन्चु बजारबाट नियन्त्रणमा लिएको थियो ।
प्रहरीले दुई महिनाभित्र विभिन्न अपराधमा संलग्न एक सय चार जनाभन्दा बढीलाई पक्राउ गरिएको जनाएको छ । वीरेन्द्रनगर बजार क्षेत्र र त्यसको आसपासमा हुने लागुऔषध कारोबार तथा प्रयोग, वेश्यावृत्ति तथा जुवातास जस्ता गतिविधिबाट दुई दर्जन बढीलाई पक्राउ गरिएको प्रवक्ता बुढ्थापाले बताए ।







