काठमाडौँ। तरुण दलको तदर्थ समिति भंगको माग गर्दै केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन बसेकाले चार दिनपछि अनसन तोडेका छन् ।
काँग्रेस उपसभापति पूर्ण बहादुर खड्काले अनसनरत तरुण दलका नेताहरूलाई जुस खुवाएर अनसन तोडाएका हुन् ।
१५ गतेदेखि पार्टीको केन्द्रीय कार्यालय भवनको मूल गेटमा रोजन राई र अम्बिका बाँस्कोटा आमरण अनसन बसेकी थिइन् । विद्धान गुरुङ नेतृत्वको केन्द्रीय समिति भंग गर्नुपर्ने उनीहरूको माग थियो ।
पार्टीको निर्देशक समितिको सक्रियतामा तरुण दलको अधिवेशन मंसिर २६ देखि २८ सम्म गर्ने गरी प्रतिबद्धता जाहेर गरेपछि उनीहरूले अनसन तोडेका हुन् । अधिवेशन गराउनका लागि पार्टीले तरुण दलमा सानो आकारको व्यवस्थापन समिति बनाउने समेत सहमति बनेको छ ।
काँग्रेस महामन्त्री गगन थापाले तरुण दलमा सानो आकारको व्यवस्थापन समिति बनाउने सहमति पत्रलाई पढेर सुनाएका थिए ।
असन्तुष्ट पक्षले वर्तमान समिति भंग गर्नका लागि ६ बुँदे कारण देखाएको थियो । सबै तहको निर्वाचन सकिएको तीन महिना हुँदै गत चैत मसान्तसम्मको अवधिसम्म महाधिवेशन गर्न नसकेको असक्षम रहेको बताइएका थिए ।
अध्यक्ष गुरुङले तरुण दलको भवन आफूखुसी भत्काएको, गणेशमान सिंह प्रतिष्ठान भवन निर्माणका लागि छुट्याइएको बजेटको गलत प्रचार गरेको लगायतका कारण देखाइएको छ ।







