काठमाडौँ । क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमा डिजिटल सेवा कर लगाउने योजना फिर्ता लिएको छ।
बीबीसीका अनुसार अब अमेरिका र क्यानडाबीच व्यापारसम्बन्धी वार्ता पुनः सुरु हुने भएको छ।
क्यानडाको वित्त मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएका छन्।
यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले क्यानडाले ठूला अमेरिकी प्रविधि कम्पनीहरूमा कर लगाउने तयारी गरिरहेको भन्दै अमेरिकाले व्यापार वार्ता रोक्ने निर्णय लिएको बताएका थिए ।
यो वर्षको सुरुवातमा दुवै देशबीच व्यापारिक तनाव चर्किएको थियो र एकअर्काका वस्तुहरूमा शुल्क लगाइएको थियो।
क्यानडा सरकारको विज्ञप्तिमा भनिएको छ, ‘धेरै ठूला प्रविधि कम्पनीहरूले क्यानडामा हुने आम्दानीमा कर नतिर्ने भएकोले डिजिटल सेवा करको प्रस्ताव गरिएको थियो । क्यानडाको प्राथमिकता सधैँ अन्तरर्राष्ट्रिय सहमति रहिआएको छ, जसले गर्दा हरेक देशको अलग(अलग कर प्रणाली अन्त्य गर्न सकियोस्।‘
विज्ञप्तिअनुसार, क्यानडाले अमेरिका लगायत अन्य अन्तरर्राष्ट्रिय साझेदारहरूसँग मिलेर साझा डिजिटल कर संरचना बनाउने दिशामा काम गरिरहेको छ।







