काठमाडौँ। राष्ट्रिय धान दिवस ललितपुरको खुमलटारमा रोपाइँ गरी मनाइएको छ ।
कृषिमन्त्री रामनाथ अधिकारीको उपस्थितिमा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रिय स्तरका कलाकार र कर्मचारीहरू पनि सहभागी थिए ।

रोपाइँ स्थलमा मौलिक पहिरनमा सजिएका महिलाहरूको टोलीले पञ्चेबाजा बजाएको थियो । कृषिमन्त्री अधिकारीले मेसिनमार्फत धान रोप्दा अरूले हातैले धान रोपेका थिए ।
रोपाइँ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले हिलोबाट तर्किएर देश नबन्ने बताएका छन् । मानो खाएर मुरी उब्जाउने दिनको रूपमा मनाइने १५ असारमा दही चिउरा खाने चलन पनि छ ।

२९ मंसिर २०६१ मा मन्त्री स्तरीय निर्णय गरी १५ असार २०६२ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । खुमलटारस्थित धान बाली अनुसन्धान केन्द्रको परिसरमा हरेक वर्ष धान रोप्ने चलन छ ।







