काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले बेइमानी र गन्हाएका पार्टीसँग सहकार्य नहुने बताएका छन् ।
मंगलबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा डा. भट्टराईले आफूहरूको मुद्दाहरूमा सहमत हुने जो कसैसँग सहकार्य हुन सक्ने बताएका छन् ।
‘हामी जनताको मुद्दा लिएर सहकार्य गर्छौँ । त्यसका निम्ति यी मुद्दाहरूमा सहमत हुने जो कसैसँग सहकार्य गर्न सक्छौँ । मुख्य रूपमा जो बेइमान छन्, गन्हाएका छन् । तीसँग त हामी सहकार्य गर्दैनौँ’, उनले भने, ‘जो नयाँ, वैकल्पिक, स्वच्छ छविका छन् । त्यस्ता जुनैसँग पनि सहकार्य गर्न सक्छौँ ।’
सहकार्यका लागि वार्ता समिति बनाएर अघि बढेको पूर्वप्रधानमन्त्री भट्टराईले उल्लेख गरे । उनले भने, ‘यो मुद्दामा मिल्ने जो पनि हुन सक्छ । हामीले वार्ता समिति बनाएका छौँ । र वार्ता समितिले विभिन्न विभिन्न पक्षहरूसँग कुराकानी गरिरहेको छ । छिट्टै तपाईँले देख्न सक्नुहुनेछ ।’
भ्रष्टाचारीको लर्कोमा आफूलाई नजोड्न उनले आग्रह गरे । ‘भ्रष्टाचारीहरूको यहाँ जुन लर्को लागेको छ । त्यसमा बाबुराम भट्टराईलाई जोड्न प्रयत्न नगरिदिनुहोला । कसैले पत्याउँदैनन् । त्यो सत्य पनि होइन’, भट्टराईले भने ।







