काठमाडौँ । चिनियाँ भाषा र संस्कृति सिकाउने उद्देश्यले नुवाकोटको तारकेश्वर गाउँपालिका–४ मा चिनियाँ भाषा स्कुलको शिलान्यास गरिएको छ ।
बुधबार तारकेश्वर गाउँपालिका १ मा संघाइ कल्चर मिडिया प्रालि र इन्टरनेशनल स्काउट भोलेन्टियर्स ग्रुपको संयुक्त आयोजनामा चिनियाँ भाषा स्कुलका शिलान्यास गरिएको हो ।
सो अवसरमा इन्टरनेशनल स्काउट भोलेन्टियर्स ग्रुपका अध्यक्ष अजित खड्काले मित्रताको प्रतीकको रूपमा रहेको विद्यालयमार्फत नेपाली युवा युवतीहरुलाई चिनियाँ भाषा सिकाएर उनीहरूलाई रोजगारी, सांस्कृतिक अन्तरक्रिया र रहनसहन तथा भेषभुषाको जानकारी गराएर भविष्यको अवसरतर्फ अग्रसर गराउने लक्ष्य राखिएको जानकारी दिए ।
उनले यो विद्यालय भाषा सिकाउने संस्था मात्रै नभएर समाज विकास, विश्व विकास र छिमेकी मुलुकको सामाजिक ज्ञान सिक्ने र सिकाउने आधारशीला भएको उल्लेख गरेका छन् ।
कार्यक्रममा सांघाइ हाइसान कल्चर एण्ड मिडिया प्रा.लि.कि प्रतिनिधि हुआङ वेन् छिले चिनियाँ भाषा सिकाउने विद्यालय तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने जनाइन् ।
उनले इन्टरनेशनल स्काउट भोलेन्टियर्स ग्रुपसँग मिलेर आफूहरूले नेपालमा १० वटा शिक्षण संस्था स्थापना गरिसकेको जानकारी दिइन् ।







