काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले विशिष्ट श्रेणीको एक सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको समितिको बैठकले प्राविधिकतर्फ रिक्त सचिव पदका लागि वरिष्ठ सहसचिवहरू दिनानाथ मिश्र, चिरञ्जिवी चटौत र जगदीश्वर कर्माचार्यको नाम सिफारिस गरेको सिंहदरवारस्थित प्रशासन ब्युरोलाई जानकारी प्राप्त भएको छ।
मिश्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत छन् भने चटौत र कर्माचार्य क्रमशः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र जल तथा ऊर्जा आयोगको सचिवालयमा कार्यरत छन्।
सचिव मधु भेटवालको अवकाशपछि उक्त पद रिक्त भएको थियो।
आज साँझ ६:३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएका तीन जनामध्ये एकलाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ।







