काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । एभरेष्ट एलाइन्स नेपालद्वारा यही जेठ १३ गते पहिलोपटक ‘एभरेष्ट समिटर समिट’ काठमाडौँमा आयोजना हुन लागेको हो । उक्त सम्मेलनमा सगरमाथाको सफल आरोहण गरेका आरोहीले भाग लिनेछन् ।
एभरेष्ट एलाइन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले पहिलोपटक हुन लागेको सम्मेलनमा भाग लिन हालसम्म १६ देशका १७७ आरोहीले नाम दर्ता गराइसकेको जानकारी दिए । उनले भने, “सम्मेलनमा भाग लिनका लागि विभिन्न देशका आरोहीहरूको उत्साहप्रद उपस्थिति देखिएको छ । ” सम्मेलनमा ५०० आरोहीको सहभागिता रहने आयोजकले जनाएको छ ।
सम्मेलनमा भारत र चीनसँगै संयुक्त राज्य अमेरिका, बेलायत, इटली, स्वीजरल्याण्ड, नर्वे, इरान, सिंगापुर, अष्ट्रेलिया, लेबनान, मोरक्को, युएईलगायत मुलुकका आरोहीहरू सहभागिता जनाउनेछन् । उनले भने, “सगरमाथा आरोहणका लागि पैसामात्र नभई आँट, साहस र हिक्मत चाहिन्छ । यो जोकोहीले पुरा गर्न सक्दैनन् ।” सगरमाथा आरोहणको सात दशक लामो इतिहासमा पहिलोपटक हुन लागेको सम्मेलनमा पहिलोपटक एडमन्ड हिलारीसँग सगरमाथा आरोहण गरेका कान्छा शेर्पालाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ ।
सम्मेलनमा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको प्रभावको बारेमा गहन छलफल हुने अध्यक्ष नेपालले बताए । यसका साथसाथै हिमाल आरोहीका समस्या र आरोहणका क्रममा भएको खुशीको आदानप्रदान हुनेछ । सम्मेलनमा प्रकृतिका लागि विश्वव्यापी कोष (डब्लुडब्लुएफ), अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन), समृद्ध पहाडलगायतका विभिन्न संघ संस्थाको सहभागितामा हिमालका समस्याको बारेमा आरोहीसँग समूहगत छलफल गर्ने कार्यक्रम समेत रहेको छ । सम्मेलनले नेपाल भ्रमण गर्न आउने तथा बढी खर्च गर्ने पर्यटकलाई हौसला प्रदान गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने पर्यटन व्यवसायी बताउँछन् ।