काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यले कम्युनिस्ट पार्टीहरू एक ठाउँमा आए मात्रै समाज रूपान्तरणको अभियानले सार्थकता पाउने बताएका छन् ।
पार्टीको ४ नम्बर ब्युरो (राप्ती)ले घोराही-१५ रतनपुरद्वारा आयोजित कार्यक्रममा महासचिव वैद्यले क्रान्तिकारी शक्तिहरू एक भएपछि मात्रै समाज रूपान्तरणको अभियान सुदृढ हुने बताए ।
उनले भने, “क्रान्ति अझै अधुरो छ । कम्युनिष्ट आन्दोलनमा विभाजन छ । संघीय जनगणतन्त्रको स्थापना गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जाने अभियान पूरा गर्न सबै कम्युनिष्ट शक्ति एकताबद्ध हुनुपर्छ ।”
कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कँडेलले केही कम्युनिष्ट पार्टीहरू सत्ता स्वार्थमा लिप्त भएको आरोप लगाए ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटब्यूरो सदस्यहरू चन्द्रहरि सुवेदी, क्रान्तिकारी महिला संघकी अध्यक्ष अम्बिका मुडवरीलगायतले आ-आफ्नो धारणा राखेका थिए ।