मोरङ । बुबाको वार्षिक पुण्यतिथिको तयारी भइरहेका बेला सुन्दरहरैँचा नगरपालिका-१०, त्रिवेणी चोकमा शनिबार बिहान आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
स्थानीय सुमन भेटुवालको घरमा बिहान करिब ७ बजे अचानक ग्यास लिक भई आगलागी भएको हो। भेटुवाल परिवार बुबाको पुण्य तिथिको अवसरमा रोटी पकाउने तयारी गरिरहेका बेला ग्यास लिक भएर आगो सल्किएको थियो।
“रोटी पकाउँदै गर्दा अचानक ग्यास लिक भएर आगोको मुस्लो निस्कियो, त्यसपछि सिलिन्डर विस्फोट भयो र आगो फैलिँदै गयो,” पीडित परिवारका सदस्यले बताए।
प्रहरीका अनुसार आगलागीबाट घरसहित घरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्। घटनाको क्रममा घरमा रहेका तीन वटा ग्यास सिलिन्डर विस्फोट भएका थिए। विस्फोटका कारण आगोले थप उग्र रूप लिएको थियो।
घटनापछि सुन्दरहरैँचा र बेलबारी नगरपालिकाका बारुणयन्त्रले तत्काल घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएका थिए। यद्यपि आगलागीले सम्पूर्ण घर र सामग्री पूर्णरूपमा नष्ट गरिसकेको अवस्थामा मात्रै आगो नियन्त्रणमा आएको हो।
घटनामा मानवीय क्षति नभए पनि परिवारले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको छ। आगलागीबाट प्रभावित परिवारलाई तत्काल राहतको आवश्यकता रहेको स्थानीयवासीले बताएका छन्। सुरक्षाका दृष्टिले ग्यास प्रयोगका क्रममा सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।