सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय सेवा ऐन तत्काल जारी गर्न सरकारले तयारी गरिरहेको बताएका छन् ।
आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मागपत्र बुझाउन आएको गाउँपालिका राष्ट्रिय महासंघका टोलीसँगको छलफलमा उनले छिट्टै स्थानीय सेवा ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
मुख्यमन्त्री शाहले भो, “स्थानीय सेवा ऐन प्रदेश सरकारले तत्काल जारी गर्नेछ, बाँकी मागका विषयमा आवश्यक छलफल गरेर सम्बोधनको पहल गरिने छ ।”
महासंघले मुख्यमन्त्रीलाई चार बुँदे मागपत्र पेस गरेको छ । स्थानीय सेवा ऐन तत्काल जारी गर्नुपर्ने, समपूरक र विशेष अनुदानमा प्राथमिकता दिनुपर्ने, स्थानीय सरकारको क्षमता अभिवृद्धिको गतिविधि सञ्चालन गर्न आवश्यक वातावरण बनाइनुपर्ने, महासंघको प्रदेश कार्यालय तथा कार्यक्रम सञ्चालनका लागि स्रोत उपलब्ध गराउनुपर्नेलगायत माग राखिएका छन् ।
महासंघका तर्फबाट सहसचिव डम्मरबहादुर बिसी, कोषाध्यक्ष जमनसिंह धामीलगायत पदाधिकारी सहभागी थिए ।