काठमाडौँ । नेपाल कृषि प्रधान देश हो । यहाँको अर्थतन्त्रमा धान उत्पादनको महत्त्वपूर्ण भूमिका रहेको छ । तर, हालको जलवायु परिवर्तन, प्राकृतिक विपद् र अन्य कृषि चुनौतीहरूका कारण धान उत्पादनमा विविध उतारचढाव देखिँदै आएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धान उत्पादनमा सकारात्मक सुधार भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको छ । मन्त्रालयकी सहसचिव एवं प्रवक्ता डा. मतिना जोशी वैद्यका अनुशार यस वर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ, जुन गत वर्षको तुलनामा ४.०४ प्रतिशतले वृद्धि भएको हो ।
धान उत्पादनको प्रारम्भिक अनुमान तयार गर्न प्रादेशिक मन्त्रालयहरू, सैटेलाइट इमेज/रिमोट सेन्सिङ प्रविधि र अन्य तथ्याङ्क स्रोतहरू प्रयोग गरिएको छ । चालु आर्थिक वर्षको मनसुन समयभन्दा अगाडि सक्रिय हुनु र वर्षा औसतभन्दा उच्च हुनुले उत्पादन सुधारमा सकारात्मक योगदान दिएको देखिएको छ ।
क्षेत्रफलमा कमी, उत्पादकत्वमा सुधार
धान लगाइएको कुल क्षेत्रफल १४ लाख २० हजार ६३६ हेक्टरमा सीमित रहेको छ, जुन गत वर्षको तुलनामा १.२८ प्रतिशतले कम हो । यद्यपि, प्रति हेक्टर उत्पादकत्व ४.१९ मेट्रिक टनमा पुगेको छ, जुन हालसम्मकै उच्च बिन्दु हो ।
रासायनिक मल र उन्नत बीउको सहज उपलब्धता तथा प्रविधिको प्रयोगले उत्पादन वृद्धि गर्न मुख्य भूमिका खेलेको सहसचिव वैद्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रदेशगत विश्लेषण
प्रारम्भिक तथ्याङ्क अनुसार, कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशले उत्पादनमा सुधार गरेका छन् । मधेश प्रदेशमा उत्पादन १०.७ प्रतिशतले वृद्धि भई १४ लाख ८० हजार ८३० मेट्रिक टन पुगेको छ । र, लुम्बिनी प्रदेशमा पनि ४.९७ प्रतिशतको सुधार देखिएको छ ।
तर, कर्णाली प्रदेशमा धान उत्पादनमा ५.४२ प्रतिशतको गिरावट आएको छ । रुकुम पश्चिममा धान लगाइएको क्षेत्रफल घट्नु, नवलपरासी (पूर्व) मा बालामा समस्या देखिनु र लमजुङमा क्षेत्रफलको परिमार्जनले कर्णाली र गण्डकी प्रदेशमा उत्पादन घटाएको मन्त्रालयले जनाएको छ ।
बर्षे र चैते धानको उत्पादनमा सुधार
धान उत्पादनको प्रारम्भिक तथ्यांकमा बर्षे र चैते दुवै प्रकारका धानमा सुधार भएको देखिन्छ । बर्षे धानको उत्पादन ३.९९ प्रतिशतले वृद्धि भई ५४ लाख ११ हजार ८३ मेट्रिक टन पुगेको छ । चैते धानको उत्पादन पनि ४.५२ प्रतिशतले वृद्धि भई ५ लाख ४४ हजार ३९३ मेट्रिक टन पुगेको छ ।
चैते धानको प्रति हेक्टर उत्पादकत्व बर्षे धानभन्दा सधैँ उच्च रहेको छ। यसले समग्र उत्पादन दरलाई बलियो बनाउन योगदान दिएको देखिन्छ।
स्याटलाइट प्रविधिको प्रयोग
धान उत्पादनको प्रारम्भिक अनुमान तयार गर्न इसिमोडको प्राविधिक सहयोगमा स्याटलाइट इमेज/रिमोट सेन्सिङ प्रविधिको प्रयोग गरिएको छ ।
यस प्रविधिको प्रयोगबाट तराईका २१ जिल्लामा धान लगाइएको क्षेत्रफलको सही जानकारी प्राप्त गरिएको छ । मन्त्रालयका अनुसार यस प्रविधिको प्रयोगले तथ्याङ्क संकलनमा भरपर्दो नतिजा प्रदान गरेको छ ।
उत्पादनमा सुधारका कारण
चालु वर्षको मनसुन गत वर्षको औसतभन्दा तीन दिन अगाडि सक्रिय भएको र औसतभन्दा उच्च वर्षा भएका कारण उत्पादनमा सकारात्मक प्रभाव परेको छ । रासायनिक मलको आपूर्ति गत वर्षभन्दा सहज भएको र उन्नत जातका बीउको आयातले उत्पादकत्वमा सुधार ल्याएको मन्त्रालयको भनाई छ ।
असोज महिनामा आएको बाढीका बाबजुद पनि उन्नत बीउ, मल, र समयमै भएका रोपाइँले समग्र उत्पादन दर सुधार गर्न सहयोग पुगेको देखिन्छ ।
आगामी रणनीति
धान उत्पादनमा सुधार सकारात्मक भए पनि, बागमती र कर्णाली प्रदेशहरूले अझै चुनौतीको सामना गरिरहेका छन् । जलवायु परिवर्तन, क्षेत्रफल कटौती र प्रविधिमा सीमित पहुँच मुख्य चुनौतीका रूपमा रहेका छन् ।
मन्त्रालयले दीर्घकालीन रूपमा धान उत्पादन सुधार गर्न प्रविधिको पहुँच विस्तार, उन्नत बीउको प्रयोग र मल आपूर्तिमा सुधार ल्याउने प्रतिबद्धता जनाएको छ । विज्ञप्तिमा उत्पादन क्षेत्रहरूमा लगानी बढाउन पनि जोड दिइएको छ ।
धान उत्पादनको यो प्रारम्भिक सुधार नेपालका कृषकहरू र समग्र अर्थतन्त्रका लागि सकारात्मक संकेत हो । तर, दीर्घकालीन रूपमा यो सुधारलाई कायम राख्न सरकारले थप योजनाबद्ध र ठोस प्रयास गर्न भने जरुरी छ ।







